• १३ साउन २०८१, आइतबार

कोदो खरिद गरी सङ्कलन सुरु

blog

अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडमा बिक्रीका लागि ल्याइएको कोदो । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, पुस ६ गते ।
कोदोको पिठो ब्रान्डिङ गरी बिक्री गर्दै आएको मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको एक सहकारी संस्थाले स्थानीय कृषकहरुबाट उत्पादित कोदो खरिद गरी सङ्कलन गर्न सुरु गरेको छ ।

व्यावसायिक रुपमा कोदो सङ्कलन, पिसानी र बिक्री गर्दै आएको मकवानपुरगढी गाउँपालिका वडा न. ४ कालीखोलास्थित अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडले पालिका क्षेत्रमा उत्पादित कोदो खरिद गरी सङ्कलन गर्न सुरु गरेको हो ।
गाउँपालिकाबाट निर्धारण गरिएको मूल्यमा सहकारी संस्थाले कोदो खरिद सुरु गरेको छ ।

सहकारीका अध्यक्ष दिलबहादुर योन्जनले पालिकाले निर्धारण गरेको मूल्यमा अनुदान रकमसमेत थप गरी प्रति केजी ६० रुपियाँमा कोदो खरिद गरिएको जानकारी दिनुभयो । कोदो सङ्कलनको पहिलो दिन ११ जना कृषकबाट एक हजार पाँच सय केजीभन्दा बढी खरिद गरिएको थियो ।

सहकारी संस्थालाई पहिलो दिन बिक्री गर्ने किसानमध्ये मकवानपुरगढी ४ का कृषक सुकुमबहादुर घलानले पाँच सय केजी कोदो बिक्री गर्नुभएको सहकारीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले कोदो बिक्रीका लागि आउनुभएका ८६ वर्षीय कृषक वीरबहादुर योन्जनलाई कोदोको मूल्य बराबरको चेक हस्तान्तरण गरी कोदो खरिद कार्यको सुरुवात गर्नुभएको थियो ।

उक्त सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा गत वर्षदेखि कालीखोला ब्रान्डको कोदो पिठो प्याकिङ गरी बिक्री गर्दै आएको छ ।