• १३ असोज २०८१, आइतबार

भैरव रिसाल सम्मानित

blog

काठमाडौँ, पुस ६ गते । शम्भु–निर्मला कला–साहित्य समाजद्वारा आयोजित वरिष्ठ स्रष्टा शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृति दिवसमा स्मृति विम्बमा शम्भुकुमार मिलन (स्मृति ग्रन्थ) को लोकार्पण तथा वरिष्ठ पत्रकार, लेखक तथा इतिहासविद् भैरव रिसाललाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८० प्रदान गरिएको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात कक्षमा आयोजित कार्यक्रममा शम्भु–निर्मला कला–साहित्य समाजका अध्यक्ष प्राडा देवी नेपालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र पूर्वसभामुख दमननाथ ढुङ्गानासहितका वरिष्ठ साहित्यकारहरूले उक्त कृति लोकार्पण गर्नुभयो ।

कार्यक्रममा काइँलाले नेपाली साहित्य र कला क्षेत्रका सम्मानित व्यक्तित्व मिलनले साहित्य, गीत, सङ्गीत, शिक्षा र प्राज्ञिक क्षेत्रमा अतुलनीय योगदान दिएको बताउनुभयो । पूर्वसभामुख ढुङ्गानाले गीत–सङ्गीत क्षेत्रका ठुला साधक मिलनलाई अन्तर्यामी व्यक्तित्वका रूपमा जाने बुझेको बताउनुभयो । समाजका पदाधिकारीले अनामनगरस्थित रिसालकै घरमै पुगेर उहाँलाई २१ हजार एक सय नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।