रमेश पौडेल
पोखरा, पुस २ गते । पोखरामा मङ्गलबारदेखि सुरु हुने नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको तयारी पूरा भएको छ । पुस ३ र ४ गते पोखरामा हुने सो सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने भएको छ ।
उहाँ मंगलबार बिहान १० बजे पोखरा आउनुहुने कार्यतालिका रहेको छ भने सम्मेलनको औपचारिक कार्यक्रम ११ः३० बजेबाट सुरु हुने कांग्रेस गण्डकी प्रदेशका सूचना, सञ्चार तथा प्रचारप्रसार विभागले जनाएको छ ।
सम्मेलनमा पार्टी सभापति देउवालगायत अन्य शीर्ष नेताले समेत सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रदेशका ११ वटा जिल्लाका करिब पाँच सय प्रतिनिधि सहभागी हुने सम्मेलनमा प्रतिनिधिहरू पोखरा आउने क्रम सुरु भएको प्रवक्ता मधु बास्तोलाले जानकारी दिनुभयो ।
सहभागी प्रतिनिधिहरूलाई पोखराको लेकसाइडका विभिन्न होटलमा आवासको व्यवस्था मिलाइएको आवास व्यवस्थापन समितिका संयोजक अजित क्षेत्रीले बताउनुभयो । पुस ३ गते सम्मेलनको उद्घाटन सत्र पोखराको सभागृहमा हुनेछ भने ४ गते बन्द सत्र पोखरा पार्टी प्यालेस, बास्तोलाथरमा हुनेछ ।
सम्मेलनमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अवधारणा पत्र पेस गर्नुहुनेछ भने महामन्त्री किरणबाबुु श्रेष्ठले सङ्गठन प्रतिवेदन र अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । साथमा कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको आर्थिक प्रतिवेदन पनि प्रस्तुत हुनेछ ।
उक्त प्रतिवेदनहरू भोलि बिहान बस्ने नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले अनुमोदन गरेपछि औपचारिक रूपमा सम्मेलनमा लगिने महामन्त्री लामिछानेले जानकारी दिनुभयो । सम्मेलनले पार्टीलाई विधान बमोजिम सञ्चालन गर्न र जनतासँग जोडिने गरी नयाँ कार्यक्रम तय गर्न सहज हुने भन्दै पार्टीलाई सशक्त र गतिशील बनाउन बल पुग्ने सभापति शर्माले बताउनुभयो ।