• ९ मंसिर २०८१, आइतबार

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

blog

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी । फाइल तस्बिर

काठमाडौँ, पुस २ गते । आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।  

यस वर्ष ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मूल नारासहित यो दिवस मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको आर्थिक र सामाजिक विकासमा आप्रवासी नेपालीको योगदानको प्रशंसा गर्नुभयो । “हाल विश्वव्यापीकरणलगायत विषयले आप्रवासन समाजको अभिन्न अङ्ग बन्न पुगेको छ । यस दिवसका अवसरमा सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “अत्यन्त कठिन परिस्थितिमा पनि आप्रवासनमा रहेर नेपालको आर्थिक र सामाजिक विकासमा पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु ।”

मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्रममा निधन भएका आप्रवासी श्रमिकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सन् १९९० देखि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसरमा हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउँदै आइएको हो । मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले दिवसको शुभकामना दिँदै सुरक्षित तथा मर्यादित श्रमको सुनिश्चितताका लागि सरोकारवाला सबैको समन्वय आवश्यक रहेको बताउनुभयो । 

सबैको एकीकृत प्रयासबाट सकारात्मक नतिजा आउने उहाँको भनाइ थियो । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले पछिल्ला वर्षमा द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनको प्रभावलगायत कारणले विश्वभरि आप्रवासन बढ्दै गएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाँदा सरकारले निर्धारण गरेको प्रक्रियाको पूर्णपालना गर्न आग्रह गर्नुभयो । दिवसका अवसरमा आप्रवासी श्रमिकले आफ्नो अधिकार सुनिश्चितताका साथै आवश्यक सम्पूर्ण सेवा सुविधा प्राप्त गर्ने शुभेच्छा प्रकट गरेका छन् । रासस