मङ्गल आजु जनकपुर हे, घरघर मङ्गल हे !
वध नगरियासे अएलै बरिअतिया हे सोहावन लागे...
जनकपुर नगरिया भेलै शोर, हे सोहावन लागे ...!!
मिथिलामा हुने बिहेमा गाइने गीत हो यो । सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा यो गीत जनकपुरधाममा सुनिन थालिएको छ । लोकलहरीले जनकपुरधामको माहोल विवाहमय छ । विवाह, स्वागत र मङ्गल गानले अनुगुञ्जित छ जनकपुरधाम । त्यसैले जनकपुरधाम नवबेहुली झैँ सजिसजाउ छ । आधुनिक बिजुलीबत्ती, रङ्गीबिरङ्गी पण्डाल, टेन्टले झकिझकाउ छ । यसरी नै विवाहपञ्चमीको रौनक बढ्दो छ । झिलिमिली जनकपुरधाममा आकर्षक पहिरन सजिएका नारीहरू साक्षात् शक्ति स्वरूपा देखिएका छन् । लजालु नयनहरू कसैको आउने व्यग्रतामा डुबेको छ । शहनाइको सुमधुर धुनले उल्लास छ, उत्साहले छोपेको छ । भनिरहनु पर्दैन्, प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन सीताराम विवाह पञ्चमी जनकपुरधाममा धुमधामका साथ मनाउने चलन छ । रामायणका पात्र राम (अयोध्याका राजकुमार) र सीता (सीता माता)को विवाह उत्सवलाई नै प्रमुखताका साथ झल्काउने यस विवाह पञ्चमी पर्वले राम र सीताका विवाह उत्सवलाई स्मरण गराउँछ । सीतालाई छोरी र बहिनीका रूपमा मान्ने मिथिलावासी यस उत्सवमा बडो उत्साह, श्रद्धा र भक्तिका साथ सहभागी हुन्छन् ।
साताव्यापी महोत्सव
यही मङ्सिर २६ देखि पुस २ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवमा नगरदर्शन, फूलबारी लिला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, विवाह तथा रामकलेवालगायतका विवाहका पद्धति, विधि, रीतिरिवाज, मिथिला संस्कृति तथा धार्मिक परम्परा अनुसार पूजाअर्चना गरी आयोजन गर्ने गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास बताउनुहुन्छ ।
नगर दर्शन
पहिलो दिन नगरदर्शन विधि गरिन्छ । यसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगरदर्शन गराइन्छ । यसका लागि जानकी मन्दिरकै प्राङ्गणमा लगाइएको बजारमा पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, सिन्दुर, टिकलीलगायत पसलहरूको अगाडितर्फबाट राम लक्ष्मणको प्रतीकको रूपमा रहेका दुई किशोरलाई नगरको दर्शन गराइन्छ । नगरका प्रबुद्ध वर्ग, साधुसन्त तथा तीर्थालुहरूको उपस्थितिमा सुमधुर गीतसङ्गीत, झाँकी र मिथिलाको गाली गीत जन्तीलाई सुनाएर ठट्यौलीमा रमाउने गरिन्छ ।
फूलबारी लीला
दोस्रो दिनको आकर्षण भनेको फूलबारी लीला हो । फूलबारी लिलामा राम जानकीको पहिलो भेट हुन्छ । त्रेता युगमा भगवान् रामको पहिलो भेट भारत, विहारको फूलहरस्थित गिरिजामाई मन्दिर नजिक रहेको फूलबारीमा भएको रामायणमा वर्णित छ । यो विधि जानकी मन्दिरको छेउमै अवस्थित राम जानकी विवाह मण्डपमा रहेको फूलबारीमा प्रत्येक वर्ष गरिँदै आएको छ । श्रीराम जनकपुर आइपुग्दा फूलबारीमा अचानक सीतासँग जम्काभेट भएको प्रसङ्गलाई फूलबारी लिलाका रूपमा चर्चा गरिन्छ । यो विधि पूरा गर्न फूलबारीमा सीता आफ्ना सखीसहेलीसाथ आउने र श्रीराम डुल्दै सो ठाउँ पुग्दा दुवैका आँखा जुध्दा एकअर्काप्रति आकर्षित भएका कुरा रामायणमा उल्लेख छ । सीता प्रतिदिन गिरिजापुजनका लागि फूल टिप्नका लागि बगैँचामा जाने गर्थिन् भन्ने जनमान्यता अझै पनि जीवित नै छ । यसरी रामसीता बगैँचामा भेट हुनु, एकअर्कालाई हेर्नु र मोहित हुनु नै यस दिनको मुख्य आकर्षण हो ।
तेस्रो दिन धनुष यज्ञ हुन्छ । रामायण कथा अनुसार सीताले शिवजीको पिनाक (धनुष)लाई बायाँ हातले उठाएर लिपपोत गरेको देख्दा राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने वचन दिएकाले धनुष यज्ञको आयोजना गरिएको मानिन्छ । सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ । राजा जनकले राखेको शिव धनु जो ठुलाठुला वीरहरूले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजाकोठाको सरसफाइका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसँग मात्रै सीताको स्वयंवर गर्ने वाचा गर्नुभएको थियो । त्यही शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने व्रmममा तीन टुव्रmा भए । अनि सीताको रामसँग विवाह भयो । यसैको स्मृतिमा विवाह पञ्चमी उत्सव मनाइने परम्पराको विकास भएको हो । सीताका बहिनीहरू उर्मिला, माण्डवी र श्रुर्तिकीर्तिको पनि रामका भाइहरू लक्ष्मण, भरत र शत्रुधनसँग विवाह भएको कथा रामायणमा छ ।
तिलकोत्सव
राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि हुन्छ । तिलकोत्सवमा महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा जानकी मन्दिरबाट पाहुर (भार) राम मन्दिरमा ल्याइन्छ । जहाँ जानकी मन्दिरका महन्थ वैष्णव र राम मन्दिरका महन्थ राम गिरीबिच अङ्कमाल (समधी मिलन) हुन्छ । तिलकोत्सवमा सहभागी महिलाहरू बिहेका गीतहरू गाउँछन् भने हास्य परिहासले उल्लासमय माहोल हुन्छ । त्रेतायुगमा मिथिलाका राजा जनक र अयोध्याका भगवान् रामका बुबा राजा दशरथबिच भएको सम्धी मिलनको दिनलाई स्मरण गर्दै विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव मनाइने गरिन्छ ।
मटकोर विधि
पाँचौँ दिन मटकोर कार्यक्रम हुन्छ । मिथिलाको रीतिरिवाज अनुसार यस विधिमा मटकोरका लागि महिलाहरूले जनकपुरधामकै पवित्र सरोवर गङ्गासागरबाट साँझपख गीत गाउँदै माटो खनेर ल्याउने गर्दछन् । सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ । यसै गरी मटकोर विधिमा राम सीताको विवाह हुँदा महोत्तरीको मटिहानीका लक्ष्मीसागर तलाउबाट पनि माटो खनेर ल्याउने गरिएको बताइन्छ । त्रेतायुगमा सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न गङ्गासागरबाट पवित्र माटो खनेर ल्याइएको थियो । विधिविधान अनुसार बेहुली पक्षबाट मटकोर गरी दुलही सीतालाई पहेँलो रङको सारी, चोलोलगायत नयाँ लुगा लगाई सागरमा नुहाउने पनि गरिन्छ । जानकी मन्दिरबाट बाजागाजा तथा झाँकीसहित माटो ल्याउने क्रममा नगर परिक्रमा गर्ने प्रचलन छ । यसमा श्रद्धालु महिलाले विवाहसम्बन्धी गीत लोकलयमा गाउने गर्दछन् । मटकोर भएपछि बदाम, पुरी र खिर वितरण गर्ने चलन छ ।
स्वयंवर
जनकपुरधामको बारहविग्घा रङ्गभूमि मैदानमा स्वयंवर विधि हुन्छ । यसमा बिहेका जन्ती बाजागाजा र झाँकीसहित दुलहा रामको प्रतिमालाई विशेष सिंहासनमा राखी त्यहाँ पु¥याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट राजा जनकको भूमिका तथा जानकी मन्दिरको नेतृत्वमा दुलही जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही मैदानमा पु¥याइन्छ । यसरी दुलहा रामको डोला र दुलही जानकीको विशेष सुसज्जित डोला क्रमशः पाँच पटक परिक्रमा एवं आरती पुजन गरी स्वयंवर हुन्छ । स्वयंवर समारोह सकेर दुलहादुलहीको डोला एवं झाँकी सहितको हजारौँको सङ्ख्यामा रहेको जन्तीले नगर परिक्रमा गरी वैदिक विवाहस्थल जानकी मन्दिर पुग्छन् र विवाह संस्कार, विधिको आरम्भ हुन्छ । यस अवसरमा जानकी मन्दिर, राम मन्दिर, अग्निकुण्ड, बिहारकुण्डलगायत दर्जनौँ मठ मन्दिरबाट निस्कने डोला शोभायात्रामा देशका विभिन्न ठाउँ, सीमावर्ती भारतीय गाउँका श्रद्धालुहरू तथा तेस्रो मुलुकका पर्यटक पनि सहभागी हुन्छन् ।
रामकलेवा
भारतको अयोध्याबाट जन्तीको रूपमा आएका साधु सन्तहरूलाई भोजन गराउँदै बिदाइ गरिन्छ । जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गाली गलौज गरी ख्यालठट्टा गर्ने चलन छ । मन्दिरका पूजारीहरू तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छन् । यसरी श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।
विदेशमा रामायण
रामायण नेपाल, श्रीलङ्का, थाइल्यान्ड, कम्बोडिया, मलेसिया र इन्डोनेसियामा पनि प्रचलित छ । त्यसैले, यी देशहरूसँग धार्मिक, सांस्कृतिक कूटनीतिमार्फत रामायण सम्मेलनहरू गरी सम्बन्ध कसिलो बनाउनुपर्नेमा संस्कृतिविद् डा.राजेन्दप्रसाद विमल जोड दिनुहुन्छ । थाइल्यान्डका राजा, राजकुमारी लवकुशको वंशज ठान्छन् । मिथिलाका लालदासका रामायण, चन्दा झाका रामायण तथा भानुभक्तको रामायणहरू उपर चर्चा गर्न सकिन्छ । यसले नयाँ पुस्तामा चरित्र निर्माण, देशहरूबिच सम्बन्ध स्थापनामा टेवा पुग्ने उहाँ बताउनुहुन्छ । मैथिली सभ्यता र संस्कृतिले समृद्ध नगर जनकपुरधाममा सीतारामको वैवाहिक महोत्सवले अलौकिक आनन्दको अनुभूति हुन्छ । यो युगमा पनि राम सीताको विवाह उत्तिकै महत्वपूर्ण छ, जति पहिले थियो । यो पावन उत्सर्गको भक्तिमार्गमा विशेष महत्व छ, रामसीता अटुट छन् र रहन्छन् । अनि सीता रामका कथाहरू सदियौँ सम्म चलिरहने जानकी मन्दिरका उत्तराधिकारी महन्थ सुनाउनुहुन्छ ।
पहिले र अहिलेको विवाह पञ्चमी
यसलाई दुई अवधिमा विभाजित गरेर हेर्न सकिन्छ । पहिलो जतिबेला विवाहपञ्चमीको आरम्भ भयो । यसै गरी दोस्रो झन्डै डेढ दुर्ई दशक अगाडिको अवधिलाई लिन सकिन्छ । पहिलो चरणको कुरा गर्ने हो भने यहाँ भएका गाछीहरूमा हुने गरिएको आयोजनालाई लिन सकिन्छ । संस्कृतिविद्
डा. विमलका अनुसार ती गाछीहरूमा तीन जाति, समुदाय र वर्गका सांस्कृतिक झल्को पाइन्छ । ती गाछीहरू हुन् ः तिरहुतियागाछी, पहाडिया गाछी, जानकी बाग र हनुमान बाग ।
तिरहुतियागाछी
यहाँ नेपाल तथा भारतका मिथिला क्षेत्रका मानिसको जमघट हुन्थ्यो । सांस्कृतिक उत्सव, कार्यक्रम हुन्थ्यो । यहाँ भारतको लुधियानाको न्यानो कपडाको पसल, जडीबुटीको स्टल, खाद्यसामग्री, मसालाको बजार, भाँडा–वर्तनको ठुलो पसल, जीरा । तेजपात किन्थे, छालाका जुत्तासहित अन्य धेरै सामान बिक्री हुन्थ्यो, रमझम हुन्थ्यो भन्नुहुन्छ, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमर । अहिले यहाँ गाछी त छैन तर जग्गाचाहिँ बाँकी नै छ, जहाँ यात्रीहरू खुला अकाश मुनि रात काट्छन् । विद्यापति गीत, सोहर, समदाउनले अनुगुञ्जित हुन्थ्यो, जनकपुर ।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयको पछाडि यो गाछी थियो । यहाँ पहाडदेखि आएकाहरू नाचगान, खेलतमासा गर्थे जहाँ पहाडी समुदायको बाक्लो उपस्थिति हुन्थ्यो । यसमा नै युवकयुवतीले आफ्नो जोडी रोज्थे, विवाह हुन्थ्यो । भटमास, सुन्तला पाइन्थ्यो । जडीबुटी ल्याइन्थ्यो ।
जानकी र हनुमान बाग
यहाँ पहाडका राई, लिम्बु, मगरलगायतका आदिवासी, जनजाति, दलित र सीमान्तकृत समुदायको घुँइचो लाग्ने गथ्र्याे । यहाँ ती समुदायले आफ्ना भाकाका गीतहरू गाउने, नाच्ने गर्दथे । युवकयुवती मायाप्रितिका कुरा गर्ने अनि विवाहसमेत गर्दथे ।
यो त भयो पुराना किस्सा । अब चाहिँ न पहाडिया गाछी छ, न त हनुमान र जानकी बाग नै छ । केबल बाँकी छ भने उराठलाग्दो बारहविगहा, ठिटलाग्दो तिरहुतिया गाछी । जग्गा मात्र छन्, रुखबिरुवा छैनन् । यसबिचको डेढदुई दशकको अवधि हेर्ने हो भने विवाहपञ्चमीका अवसरमा नेपाल र भारतका प्रमुख व्यक्तिको आगमनले पनि यसको महìव बढाएको प्रतीत हुन्छ । नेपालका राष्ट्रपति तथा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जस्ता साधुसन्तलगायतका हस्तीहरूको आगमनले अवसरलाई महìवपूर्ण बनाएको छ । यो व्रmम पनि भङ्ग भएको स्वीकार्दै उत्तराधिकारी महन्थ रामरोशन दास भन्नुहुन्छ, “मानिस व्यस्त छन् । पहिला जस्ता फुर्सिदिला छैनन् । बढी समय व्यतीत गर्न चाहँदैनन् । डिजिटल मिडियाको युग छ, सामाजिक सञ्जाल तथा मिडियाहरूको प्रयोग गरेर सेलिब्रेटीहरू, दिग्गज साधुसन्तहरूलाई निम्ता गर्नुपर्ने हो ।” पुराना शोच र शैलीले काम चल्नेबाला छैन । भारतका मेलामा हुने गरेको आधुनिक शौचालय निर्माण कार्य सिकेर अनुकरण गर्नुपर्ने, टेन्ट हाउसमै फाइभस्टार होटेल सरहको सेवा सुविधा दिनुपर्ने, तीनै तहका सरकारको नेतृत्वमा मेला प्राधिकरण गठन गरिनुपर्ने जसले मेलालाई व्यवस्थित मात्रै गर्दैन, सरकारका लागि आम्दानीका स्रोत पनि बढाउने छ । उसले मेला अवधिमा पसले, होटेलहरूसँग कर, मेला अवधिका लागि सरसफाइ कर्मचारी तथा स्वयंसेवकहरू भर्ना गर्न पाउँछन् भन्ने उहाँको धारणा छ ।
जनकपुरधामको ऐतिहासिकता
विवाह पञ्चमीको सुरुआत कहिलेदेखि भयो भने त्यसको यकिन प्रमाण भेट्टाउन गाह्रो छ । तर आधुनिक जनकपुरधामको निर्माणसँगै रामनवमी तथा विवाह पञ्चमी जस्ता मेला, उत्सवहरूको सुरुवात भएको ठम्याउन कठिन नहोला सायद । भनिन्छ, सत्रौँ शताब्दीको अन्त्यसम्म मिथिला वा जनकपुर गुमनाम नै थियो। ‘द हिस्ट्री अफ जनकपुरधाम’ किताबमा मानवशास्त्री रिचर्ड बरघर्टले यस बिचको समयलाई जनकपुर हराएको समय अर्थात् जनकपुरको ‘अन्धकार युग’ भनेर उल्लेख गरेका छन् । सन् १९७० भन्दा करिब तीन सय वर्षअगाडिको जनकपुरको इतिहासबारे उहाँले चर्चा गर्नुभएको छ । सोह्रौँ–सत्रौँ शताब्दीतिर गङ्गा किनारमा रामको पूजा र भक्ति चारैतिर फैलिएको थियो । त्यही बेला रामानन्दीसाधुहरू त्रेतायुगको मिथिला सहर कहाँ छ भनेर खोज्दै हिँडेका थिए ।
भारतको बद्रीनाथबाट चतुर्भुज गिरी नामका साधु मिथिला खोज्दै अहिलेको जनकपुर आइपुग्नुभयो । सपनामा उहाँले भगवान् रामलाई देख्नुभयो । रामले भन्नुभयो, “तिमी जुन रूखमुनि सुतेका छौ, त्यही ठाउँमा पुरानो जनकपुर छ, जुन विदेहहरूको राजधानी थियो ।” यतिबेलै अर्का साधु सुरकिशोर दास पनि उत्तरी मिथिला आइपग्नुभयो । चतुर्भुज दसनामी सम्प्रदायका हुनुहुन्थ्यो भने सुरकिशोर रामानन्दी सम्प्रदायका । उहाँ पश्चिम भारतको लोहागढ शिखरमा बस्नुहुन्थ्यो । जनकपुरको खोजीमा हिँडेका उहाँ एकदिन नीमको रुखमा आराम गरिरहेका बेला सीताको मूर्ति त्यहीँ ठाउँमा देख्नुभयो । सीताको जुन जन्मभूमिको खोजीमा निस्केका उहाँ यहीँ ठाउँ नै सीताको जनकपुर हो भने सम्झिनुभयो ।
स्रोतहरूलाई उधृत गर्दै अध्येता एवं विश्लेषक रोशन जनकपुरीका अनुसार, छैठौँ शताब्दीमा भारतवर्षमा गुप्तवंशको शासन (हर्षबद्र्धनकाल)को एकीकृत साम्राज्य पतन भएपछि त्यस मातहतका कैयौँ स्थानीय शासकहरूले आफूलाई स्वतन्त्र घोषित गरेका मध्येका अरुणाश्वलाई मिथिलाका शासक भनेका छन् । त्यतिबेला मिथिला गुप्तवंशी शासनको तीर भुक्ति (भुक्ति–प्रदेश)को एउटा शासकीय उपप्रदेश थियो । सन् ६७० तिर वाङ ह्वेन त्से नामक एक जना चिनियाँ राजनीतिक प्रतिनिधि त्यतिबेला यस क्षेत्रमा भ्रमण गरेका थिए । अरूणाश्वको सेनाले वाङ ह्वेन त्सेको सेनामाथि आक्रमण ग¥यो । नेपाल मण्डल र कामरूपको सेनाको मद्दतले वाङले अरुणाश्वमाथि जवाफी अाक्रमण गरे र उनलाई पक्रेर आफूसँगै लगे । उनको उतै मृत्यु भयो ।
‘मिथिलाके इतिहास’का रचयिता डा. राधाकृष्ण चौधरीका अनुसार चीनमा अरुणाश्वको शव गाडिएको ठाउँमा राखिएको शिलालेखमा उनलाई मिथिलाको राजाको रूपमा उल्लेख गरिएको छ । अध्येता जनकपुरीका अनुसार सबभन्दा महìवपूर्ण के छ भने चौधौँ शताब्दीमा विद्यापतिको भूपरिक्रमण जनकपुरका प्रसिद्ध पोखरीहरू गङ्गा सागर, विषहरि पोखरी (बिसहरा पोखरी), अरगजा आदि पोखरीहरूको उल्लेख गरिएको छ । यस अतिरिक्त जनकपुरभन्दा पाँचकोषमा धनुषा (धनुषाधाम) र परशुराम कुण्डसमेतको उल्लेख गरिएको छ । विद्यापतिको यस भूपरिक्रमणको सन्दर्भले जनकको राजधानी हो–होइन भन्ने वहस सिर्जना गरे पनि त्यतिबेला जनकपुरको अस्तित्व थियो र यो जनकको राजधानी (महाग्राम)को रूपमा प्रसिद्ध थियो भन्ने तथ्य त स्थापित हुन्छ नै ।
विद्यापतिको यस साक्ष्यले के सङ्केत दिन्छ भने जनकपुरको अस्तित्व जनक र सीताको मिथिलाको रूपमा विद्यापतिभन्दा धेरैअघि नै थियो । यस दृष्टिले जनकपुरलाई हामी कम्तीमा सय दुई सय वर्षपछाडि लगेर बाह्रौ शताब्दीसम्म त स्थापित गर्न नै सक्छौँ । यद्यपि एघारौँ शताब्दीमा सिमरौनगढमा स्थापित कर्णाटवंशी शासनकालका दस्ताबेजमा हालसम्म जनकपुरबारे चर्चा पाइएको छैन । यसबाट के स्थापित हुन्छ भने कि यसअघि जनकपुर कुनै अन्य नामबाट परिचित थियो कि त कर्णाटवंशी शासनकालमै जनकपुर जनकवंशको नगरीको रूपमा प्रसिद्ध हुन थाल्यो र यहाँ मेला लाग्न सुरु भयो ।
यो जनकको नगरी मिथिलाको प्रसिद्धि नै थियो कि रामानन्दी सम्प्रदायको प्रसारसँगै साधुहरू मिथिलाको खोजीमा जनकपुर आउन थालेको देखिन्छ । यसै क्रममा सबैभन्दा पहिले राममन्दिरका आदि महन्थ चतुर्भुज देखा पर्छन्, जसलाई विजयुर गढीका सेनवंशी राजा इन्द्रविधाता सेनले सन् १७१७ मा रामजानकी मन्दिरको निम्ति दानपत्र लेखेर दिनुभएको थियो । दानपत्रमा सवत् ११२४ लेखिएको छ र यसबारे नेपालका इतिहासकारबिच केही विवाद पनि देखिन्छ तर तुलनात्मक अध्ययन गर्दा यो फसली संवत् भएको देखिन्छ । फसली संवत् र इस्वी संवत्मा ५९३ वर्षको फरक हुन्छ । यस हिसाबले इन्द्रविधाता सेनको दानपत्र १७१७ ठहरिन्छ र यो समीचीन पनि देखिन्छ । किनभने जानकी मन्दिरको आदिसन्त सुरकिशोर दासको प्रशिष्य (चौथो पुस्ता) राम दासलाई मानिक सेनले सन् १७२७ मा दानपत्र दिएको पाइन्छ ।
यी दुई दस्ताबेजले चतुर्भुज गिरी र सुरकिशोर दासमध्ये को पहिले आए भन्ने प्रश्नको समाधान त गर्दैन, तर त्यतिबेला गिरीको राममन्दिर नै प्रसिद्ध रहेको जनाउँछ । इन्द्रविधाता सेनले राममन्दिर (तत्कालीन रामजानकी मन्दिर)लाई दानपत्र गर्ने बेला सम्भवतः त्यहाँ सामान्य मठ पनि निर्माण गर्नुभएको थियो किनभने शाहवंशी दस्ताबेजमा सन् १७८२ ई.मा राजा रणबहादुर शाहका जर्नेल अमरसिंह थापाले राममन्दिरको पुनर्निर्माण गराएको उल्लेख छ, अध्येता जनकपुरी तर्क दिनुहुन्छ ।
सन् १८१४–१६ नेपाल ब्रिटिस भारतबिचको युद्धपछि सन् १८२० मा यस युद्धबारेको एउटा रिपोर्टमा रामजानकी मन्दिर ११५ यार्डमा फैलिएको वर्गाकार पर्खालहरूमा गुम्बद भएको चारतले मन्दिरको रूपमा उल्लेख गरिएको छ । जनकपुरको ऐतिहासिकता खोतल्दै जाँदा त्रिपिटक एवं उपनिषदसम्बद्ध मिथकसम्म पुग्न सकिन्छ । विदेह गणराज्यको राजधानी मिथिला एवं त्यहाँका जनक भनिने प्रजापालकका गाथा किम्बदन्तीमा समेत भेटाइन्छ तर मिथिलाको राजधानी कुनै सैनिक ‘गढ’ नभएर सौन्दर्यको ‘पुर’ थियो भन्ने विवरण चित्रण लोकप्रिय बनाउने श्रेय आम भाषामा काव्य रचना गर्ने विलक्षण कवि गोस्वामी तुलसीदासलाई दिइनु पर्दछ ।
सिम्रौनगढका कर्नाट शासकको पालामा स्वामी रामानुजु प्रवर्धित वैष्णव परम्पराले मिथिला क्षेत्रमा व्यापकता पाएको हुनु पर्छ । कर्नाट राज्य विखण्डित भएपछि पनि देवस्थान महन्थ प्रचलनले गर्दा धर्मस्थलको प्रभाव घट्न पाएन । कालान्तरमा मकवानपुरका सेन राजाहरूले समेत वैष्णव संस्कृतिलाई संरक्षण दिए । गोर्खालीहरूको वर्चस्व स्थापित भएपछि नाथ सम्प्रदायका योगीको प्रभाव विस्तार त भयो, तर स्वामी रामानन्दबाट नयाँ ऊर्जा पाएको वैष्णव पथ कमजोर हुन पाएन । देवशमशेरलाई धपाएर श्री ३ को श्रीपेच हत्याएका चन्द्रशमशेरको पालासम्म जनकपुरका सन्त निकै प्रभावशाली भइसकेका थिए । जानकी मन्दिर स्थापित गर्ने श्रेय सत्रौँ शताब्दीका सन्त सुरकिशोर दासलाई दिइने गरिन्छ, त्यसमा टिकमगढकी महारानी वृषभानु कुवँरानीले सन् १९११ तिर नौ लाख रुपियाँ लगानी गरेकी हुन् ।