• ६ जेठ २०८१, आइतबार

नवराजका बुवा धन्यवाद दिन काठमाडौंमा

blog

छोरा नवराज विकको न्यायका लागि पैरवी र सहयोग गर्नेलाई धन्यवाद दिन काठमाडौं आउनुभएका जाजरकोट भेरी नगरपालिका–४ का मुनलाल नेपाली । तस्बिर : लक्ष्मण दर्नाल

लक्ष्मण दर्नाल
काठमाडौं, मङ्सिर २९ गते ।
जाजरकोट भेरी नगरपालिका–४ का मुनलाल नेपाली छोरा नवराज विकको न्यायका लागि पैरवी र सहयोग गर्नेलाई धन्यवाद दिन काठमाडौं आउनुभएको छ ।

जिल्ला अदालत रुकुम पश्चिमले मङ्सिर १९ गते नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्मकैदको सजाय सुनाएपछि न्याय पाएको खुसियालीमा धन्यवाद दिन मुनलाल काठमाडौं आउनुभएको हो ।

उहाँले बिहीबार राष्ट्रिय दलित आयोगमा मुद्दामा बहस गर्ने वकिलहरु, आन्दोलन गरेर न्यायका लागि दबाब सिर्जना गर्ने अधिकारकर्मी र मानवअधिकारर्मीलाई बोलाएर माला र खादा लगाइदिएर सम्मान गर्नुभयो ।

नेपालीले भन्नुभयो, “हाम्रा छोराहरु मारिएपछि काठमाडौंमा आन्दोलन भयो, त्यसपछि देशभरि आन्दोलन भयो । वकिलहरु सबै यतैका हुनुहुन्थ्यो । सबैले सहयोग गर्नुभएको छ । त्यसैले म धन्यवाद दिन काठमाडौं आएको हुँ । छोराहरु त मरे तर न्याय मरेको रैनछ । अदालतको फैसलाबाट हामीले न्याय पाएका छौं ।”

जिल्ला अदालतबाट न्याय पाएको खुसियालीमा काठमाडौंमा कार्यक्रम गर्न दलित अयोगलाई मुनलाल नेपालीले अनुरोध गर्नुभयो, “सबैले सहयोग गर्नुभएको छ । भोली एउटा कार्यक्रमको गर्दिनुस् मैले सबैलाई धन्यावाद दिएर घर फकिन्छु ।”

उहाँको अनुरोधलाई दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सबैको सहकार्यमा शुक्रबार रत्नपार्कमा धन्यवाद सभा आयोजना कार्यक्रम गर्ने बताउनुभयो । मुनलाल नेपाली खुसी हुँदै भन्नुभयो, “वकिलहरुलाई बोलाउनुपर्छ । पत्रकारले पनि सहयोग गर्नुभयो । सबैलाई धन्यवाद दिन मन छ । उहाँहरुको अझै सहयोग माग्नुपर्छ मैले । उच्च अदालत र सर्वोच्च अदातलबाट पनि हामीले न्याय पाउनुपर्छ ।”

भूकम्पले मुनलाल नेपालीको घर पूर्ण भत्किएको छ । त्रिपालमा परिवार राखेर उहाँ धन्यवाद दिन आउनुभएको हो । खानबस्नको समस्यालाई थाति राखेर आउनुभएका नेपालीले भन्नुभयो, “परिवार त्रिपालमा छ । घर भत्काएर बनाउनु छ । त्यही घरमा बस्न मिल्दैन निक्कै समस्या भोगेका छौं कार्यक्रम गरेर म फर्किहाल्ने हो ।”

उहाँसँगै आउनु भएकी मृतक लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारले भन्नुभयो, “भूकम्पले खानबस्न समस्या छ । यसैबेला अदालतबाट न्याय पाएका छौं, भूकम्पको दुःखलाई बिर्साएको छ । कुनै पनि हालतमा ती अपराधीहरु छुट्नुहुँदैन । हामीले न्याय पाउनुपर्छ ।”

२०७७ जेठ १० गते नवराज विक आफ्नी गैरदलित प्रेमिकासँग विवाह गर्न साथीहरु लिएर रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती गाउँमा गएका थिए । सोही दिन किशोरीका गाउँलेले जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुमपश्चिम चौरजहारीका टीकाराम नेपालीको हत्या गरेका थिए ।

तीन वर्ष अघिको उक्त घटनाविरुद्ध जिल्ला अदालत रुकुमपश्चिमले २४ जनालाई जन्मकैदको सजायको फैसला गरकोे थियो । अध्यक्ष विश्वकर्माले भन्नुभयो, “नवराज विकको घटनामा अदालतबाट राम्रो फैसला भएको छ । पीडित परिवारलाई न्याय भएको छ । अब उच्च अदालत र सर्वोच्च अदालतबाट पनि न्याय हुने आशामा छौँ । फैसलाले कानुनी राज्यको अनुभूति गराएको छ ।”