• ६ जेठ २०८१, आइतबार

सिन्धुलीका दुई पालिका ‘बालमैत्री पालिका’ घोषणा हुँदै

blog

सिन्धुली बसपार्क । फाइल तस्बिर

बाबुराम देवकोटा

सिन्धुलीमाढी, मङ्सिर २८ गते । सिन्धुली जिल्लाका दुई वटा पालिकालाई ‘बालमैत्री पालिका’ घोषणा गर्ने तयारी सुरु गरिएको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिकालाई बालमैत्री पालिका घोषणाको तयारी गरिएको हो । 

पालिकालाई बालमैत्री पालिका घोषणा गर्न तीनपाटन गाउँपालिका ५ र १० लाई बालमैत्री वडा घोषणा गरिसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष धनबहादुर पुलामीका अनुसार अब वडा नं. ११ लाई पुस २९ गते बालमैत्री वडा घोषणाको तयारी गरिएको छ । 

यस्तै, पालिकालाई नै बालमैत्री पालिका घोषणा गर्न वडाबाट सुरु गरिएको हो । उक्त पालिकाका ११ वटै वडालाई क्रमशः बालमैत्री वडा घोषणा गरेपछि पालिकालाई नै घोषणा गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिकाको-५, ६ र ९ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाका १४ वटा वडामध्ये पहिलो चरणमा नगरभित्रका तीन वटा वडाहरूलाई बालमैत्री वडा घोषणा गर्ने तयारी नगरपालिकाले जनाएको छ ।

सुरुमा वडा नं. ५, ६ र ९ लाई बालमैत्री वडा घोषणा गर्ने योजना रहेको र त्यसको सिकाइको आधारमा अन्य वडाहरूलाई क्रमशः घोषणा गर्दै जाने योजना रहेको नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । नगरपालिकाले बालमैत्री स्थानीय शासन सम्बन्धी पालिकास्तरीय केही नीतिहरू पारित गरी सकेको उहाँले बताउनुभयो । उहाँका अनुसार केही नीतिको मस्यौदा तयारीमा रहेको छ । आगामी फागुन १५ सम्म वडा नं. ६ लाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्यका साथ बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।