• २० असोज २०८१, आइतबार

रिडीमा भजन महोत्सव हुने

blog

रेखीराम राना

तानसेन, मङ्सिर २८ गते । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा भजन महोत्सव हुने भएको छ । भजनको संरक्षण गर्न रिडीमा भजन महोत्सव हुन लागेको हो । रुरु धार्मिक सेवा सञ्चार प्रालिले यही पुस १ गते भजन महोत्सव तथा शिखासूत्र भजन प्रतियोगिता गर्न लागेको जनाएको छ । विवाहपञ्चमीको अवसरमा महोत्सव तथा प्रतियोगिता गर्न लागिएको प्रालिका सञ्चालक चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो । 

लोप हुन लागेका लोक भजनहरूको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले सनातन हिन्दु धर्म, संस्कार र संकृतिका रूपमा रहेको लोक भजन संरक्षणका महोत्सव गर्न लागेको बताउनुभयो । 

युवापुस्ता विदेश पलायन हुने र पाका पुस्ताबाट भजन हस्तान्तरण नहुँदा भजन लोप हुँदै गएको आयोजकको भनाई छ । भजन महोत्सवमा विभिन्न जिल्लाबाट सहभागी हुने प्रालिका सञ्चालक विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । महोत्सवमा अन्य धार्मिक यज्ञ तथा प्रतियोगिता हुने उहाँले बताउनुभयो ।