• ९ मंसिर २०८१, आइतबार

प्यालेस्टिनी बालबालिकाको के दोष ?

blog

इजरायल र हमासबिच जारी युद्धमा सात हजारभन्दा बढी निर्दोष र निहत्था प्यालेस्टिनी बालबालिका मारिएका छन् । उनीहरूको बाँच्न पाउने अधिकार खोसिएको छ । युद्धमा दुई हजारभन्दा बढी बालबालिका घाइते र हजारौँ टुहुरा बनेका छन् । इजरायल सरकारले हमासलाई समाप्त पार्ने भन्दै खाद्यान्न आपूर्ति बन्द गरिदिएर गाजा क्षेत्रमा भीषण कारबाही जारी राखेपछि त्यहाँ चरम मानवीय सङ्कट देखा परेको हो । 

संयुक्त राष्ट्रसङ्घका अनुसार गाजामा अहिले दस जनामध्ये नौ जनाले दुई छाक खान पाएका छैनन् । अर्थात् लाखौँ गाजावासी चरम खाद्यान्न सङ्कटमा छन् । बालबालिकाले पेटभरी खान पाएका छैनन् । उनीहरू विद्यालय जानबाटसमेत वञ्चित भएका छन् । इजरायली सेनाको स्थल, जल र हवाई आक्रमणले गाजा क्षेत्र ध्वस्त भएको छ । आमनिहत्था नागरिकको बाँच्न पाउने अधिकार खोसिएको छ । भीषण बमबारी, गोलाबारुद्ध र गोलीले ठुलो सङ्ख्यामा गाजावासी मारिएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट १८ हजार प्यालेस्टिनी मारिएका छन् भने २० हजारभन्दा बढी घाइते भएका छन् । २० लाखभन्दा बढी विस्थापित भएका छन् । 

यतिखेर गाजा क्षेत्र नरकतुल्य बनेको छ । त्यहाँ चरम आतङ्कपूर्ण अवस्था छ । आमनागरिक मृत्यु कुरेर बसिरहेका छन् । कति बेला को कहाँ मारिने हुन् भन्ने चिन्ता र त्रास छ । संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले इजरायल र हमास दुवैले युद्धअपराध गरेको बताएका छन् तर उनीहरूलाई कारबाहीको दायरामा कसले ल्याउने ? अमेरिका खुलेरै इजरायलको रक्षाकवच बनेको छ । इजरायललाई आत्मरक्षाको अधिकार भन्दै अमेरिकाले राष्ट्रसङ्घमा इजरायली कारबाहीविरुद्ध ल्याइएका प्रस्तावमाथि भिटो प्रयोग गरेर विफल तुल्याइदिएको छ । अमेरिकाको आडमा थप आक्रामक बनी इजरायलले प्यालेस्टिनीविरुद्ध क्रूर कारबाही जारी राखेको छ ।

इजरायलले आक्रमणकारी हमास लडाकुविरुद्ध मात्र प्रत्याक्रमण केन्द्रित गर्न नसक्दा गैरसैनिक हताहती अत्यधिक बढेको हो । यो कुरा स्वयम् इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि स्वीकार गर्नुभएको छ । सबै क्षेत्रबाट गैरसैनिक हताहती बढेको भन्दै चिन्ता र चासो व्यक्त गरिए पनि इजरायलले हमासलाई समाप्त नपारेसम्म कारबाही नरोकिने बताएको छ तर अहिलेसम्म इजरायली सेनाले गरेको कारबाहीमा ठुलो सङ्ख्यामा हमास लडाकु मरेका छैनन् । हमासको पक्षमा ठुलो क्षति नभएको र सर्वसाधारण नागरिक नै धेरै मारिएकाले हमास नेतृत्व तत्काल युद्धबाट पछि हट्ने वा आत्मसमर्पण गर्ने पक्षमा देखिएको छैन । इजरायल सरकार र हमास नेतृत्व दुवै युद्धको पक्षमा रहेकाले गाजा क्षेत्रलगायत सम्पूर्ण प्यालेस्टिनी भूमिमा अझ ठुलो रक्तपात हुने खतरा बढेको छ । 

यस्तो खतरा देखेर नै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र अमेरिका विरोधमा हुँदाहुँदै पनि गाजा क्षेत्रमा मानवीय उद्धारका लागि बडापत्रको धारा ९९ लागु गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालमा पहिलो पटक धारा ९९ लागु गर्नुभएको हो । धारा ९९ राष्ट्रसङ्घको सबैभन्दा महìवपूर्ण प्रावधान मानिन्छ । राष्ट्रसङ्घको इतिहासमा यो धारा अहिलेसम्म केवल नौ पटक मात्र प्रयोग भएको छ । पछिल्लो पटक सन् १९८९ मा लेबनानको बेरुतमा सैन्य द्वन्द्व चलिरहेका बेला यो धारा लागु गरिएको थियो । गुटेर्रेसले राष्ट्रसङ्घका सदस्य मुलुकलाई ध्यान केन्द्रित गर्न पनि धारा ९९ लागु गर्नुभएको हो । उहाँले यो धारा लागु गर्दै भन्नुभएको छ, “गाजामा रहेका हरेक व्यक्ति गम्भीर सङ्कटबाट गुज्रिइरहेका छन् । अब गाजामा कुनै पनि ठाउँ सुरक्षित छैन ।”

संयुक्त राष्ट्रसङ्घको बडापत्रले महासचिवलाई सीमित अधिकार दिएको छ; जसमध्ये धारा ९९ पनि एक हो । यो धाराले महासचिवलाई ‘अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा असर पु¥याउन सक्ने कुनै पनि विषयलाई सुरक्षा परिषद्को ध्यान केन्द्रित’ गर्न सक्ने अधिकार दिएको छ ।

इजरायल भने महासचिव गुटेर्रेसको यो कदमप्रति रुष्ट बनेको छ । उसले यो कदम स्वीकार नगर्ने भन्दै महासचिवको राजीनामा मागेको छ । हमासलाई समाप्त नपारेसम्म विश्व समुदाय जसले जे भने पनि इजरायल मान्ने पक्षमा छैन । इजरायल पनि पछि नहट्ने र हमास पनि नझुक्ने यस्तो हठले परिस्थितिलाई झन् झन् जटिल र कठिन बनाएको छ । यस्तो बेला इजरायलको मुख्य सहयोगी अमेरिकाले जारी युद्ध रोक्न निर्णायक भूमिका निर्वाह गर्नु पर्छ । १२ सय इजरायली मारिएको प्रतिशोधमा १८ हजार निहत्था प्यालेस्टिनी मार्नु कुनै हिसाबले पनि उचित होइन ।

इजरायलमाथि आक्रमण हमास लडाकुले गरेका हुन्, निहत्था गाजावासीले गरेका होइनन् । यसमा सजायको भागिदार हमास नेतृत्व र हमास लडाकुलाई मात्र बनाउनुपर्नेमा त्यसो भएन । यस मामिलामा इजरायल सरकार नराम्ररी चुकेको छ । यसले इजरायलविरोधी जनमत अरू बढाएको छ ।   

हमासलाई इजरायल, अमेरिका र युरोपेली सङ्घले आतङ्कवादी समूह भन्छन् । सन् २००६ मा फताहलाई हराएर गाजा क्षेत्रमा हमासले प्रशासन चलाउँदै आएको छ । हमास नेतृत्व इजरायली सुरक्षाका लागि मुख्य बाधक बन्दै आएको छ । सन् १९४७ मा संयुक्त राष्ट्रसङ्घले सङ्कल्प १८१ लाई कार्यरूप दिएपछि सन् १९४८ को मे १४ मा इजरायल राष्ट्रको स्थापना भएको हो । यो कदमलाई प्यालेस्टिन र अरबले स्वीकार गरेनन् । फलस्वरूप सन् १९४९ मा अरब र इजरायलबिच युद्ध भयो । युद्ध इजरायलले जित्यो । सात लाख ५० हजार प्यालेस्टिनी विस्थापित भए । सन् १९५६ मा दोस्रो अरब र इजरायल युद्ध भयो । यो युद्धमा इजरायलले इजिप्टको सिनाइ प्रान्त कब्जा ग¥यो । 

सन् १९६७ मा इजरायलमाथि इजिप्ट, जोर्डन र सिरियाले आक्रमण गरे । छ दिन युद्ध भयो । इजरायलले सिरियाको गोलान हाइट नियन्त्रणमा लियो । सन् १९७९ मा क्याम्प डेभिड सम्झौता भयो तर कार्यान्वयन भएन । सन् १९८७ मा प्यालेस्टिनीले ठुलो विद्रोह गरे । इजरायलका प्रधानमन्त्री इत्ज्याक रविन र प्यालेस्टिनी नेता यासेर अराफातबिच सन् १९९३ मा ओस्लो सम्झौता भयो । यो सम्झौता अनुसार पश्चिमी किनारा र गाजा क्षेत्रमा प्यालेस्टिनीको स्वशासन कायम हुने सहमति भयो । यसमा फताह समूह सहमत भएन र विद्रोह ग¥यो । सन् २००६ को चुनावमा गाजा क्षेत्रमा फताहले हा¥यो र हमासले जित्यो । गाजा क्षेत्रबाट इजरायलले सेना फिर्ता ग¥यो । सेना फिर्ता गरेपछि पनि परिस्थिति सहज भएन । इजरायल र हमासबिच सम्बन्ध राम्रो भएन । इजरायल र हमासबिच पटक पटक युद्ध भयो । युद्धमा पराजित भए पनि हमासले बेला बेलामा इजरायलमाथि आक्रमण गरी इजरायली सुरक्षामाथि चुनौती दिन छाडेन ।

गत अक्टोबर ७ मा इजरायलको इतिहासमै नभएको ठुलो आतङ्कवादी आक्रमण भयो । हमास लडाकुले गाजा क्षेत्रबाट पाँच हजारभन्दा बढी रकेट प्रहार गर्दै इजरायलको सुरक्षा घेरा नाघेर प्यारासुटमार्फत इजरायल प्रवेश गरी अन्धाधुन्ध आक्रमण गरे । इजरायली सुरक्षा व्यवस्थालाई अस्तव्यस्त बनाई हमास लडाकुले १२ सय जनाको हत्या गर्नुका साथै २४० जनालाई बन्धक बनाएर आक्रमण गरेपछि आक्रोशित इजरायल सरकारले गाजा क्षेत्रमा खाद्यान्न, औषधी, पानी, विद्युत् बन्द गर्दै प्रत्याक्रमण सुरु गरेको हो ।

इजरायल र प्यालेस्टिनी हमासबिच यस पटक इतिहासमै नभएको क्रूर र अमानवीय युद्ध भएको छ । दुवै पक्षले युद्धको नियम र सीमा पालना गरेनन् । युद्धमा निहत्था महिला, बालबालिका, वृद्धवृद्धा, बिरामी, चिकित्सक, पत्रकार, विदेशी नागरिक र सर्वसाधारण मानिसको बीभत्स हत्या भएको छ । गाजाको एक अस्पतालमा हवाई आक्रमण हुँदा बिरामी, चिकित्सक र सर्वसाधारण गरी पाँच सय जना मारिए । 

युद्धरत दुवै पक्षबिच युद्धविराम गराउन पटक पटक प्रयास भए । पछिल्लो पटक कतारको मध्यस्थतामा सात दिनका लागि युद्धविराम भयो र इजरायल र हमास दुवैले केही बन्धक मुक्त गरे तर युद्धविरामले निरन्तरता पाएन । फेरि युद्ध चर्कियो । 

भmुक्याएर आक्रमण गरी इजरायलभित्र क्षति पु¥याए पनि शक्तिशाली इजरायलसँग कमजोर हमासले युद्ध जित्न सक्दैन । तैपनि इरान, सिरिया, लेवनानलगायतबाट सहयोग जुटाएर हमासले इजरायलविरुद्ध बेलाबेलामा आक्रमण गरी इजरायली सुरक्षामाथि चुनौती दिँदै आएका छ ।

सन् १९४८ मा इजरायल स्थापना हुनुअघि यहुदी राज्यविहीन थिए भने त्यसयता आफ्नै भूमिमा प्यालेस्टिनी राज्यविहीन बनेका छन् । राज्यविहीन हुँदाको पीडा भोगिसकेका यहुदीले अहिले प्यालेस्टिनीलाई राज्यविहीन नबनाउनुपर्ने हो तर विडम्बना यहुदीले विगतको पीडा बिर्सेर प्यालेस्टिनीमाथि दमन गरिरहेका छन् । गाजा क्षेत्र, पूर्वी जेरुसेलम र पश्चिमी किनारालगायतको प्यालेस्टिनी भूमि इजरायल अधीनस्थ छ । अधिकारकै विषयमा विगत सय वर्षदेखि दुवै पक्षबिच द्वन्द्व जारी छ । द्वन्द्व समाधान गर्न अहिलेसम्म भएका प्रयास सार्थक हुन सकेका छैनन् ।

अमेरिका र बेलायतको सहयोगमा इजरायल मध्यपूर्वकै शक्तिशाली राष्ट्र बनेको हो तर प्यालेस्टिनीसँगको अन्त्यहीन विवादले इजरायल सुरक्षित छैन । हरेक पटक युद्ध जिते पनि इजरायल सुरक्षित हुन सकेन । मध्यपूर्वका अधिकांश मुस्लिम देश इजरायलको विरोधमा छन् । प्यालेस्टिनीमाथि बारम्बार भइरहेको इजरायली दमनप्रति उनीहरू रुष्ट छन् । इजरायलका अतिवादी यहुदी प्यालेस्टिनीलाई स्वतन्त्र राज्य दिन तयार छैनन् भने अतिवादी प्यालेस्टिनी विद्रोही समूह इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिँदैनन् । विवादको मुख्य जड यही हो । यो विवाद मिलाउन अहिलेसम्मका सयौँ अन्तर्राष्ट्रिय प्रयास विफल भएका छन्, जसले गर्दा मध्यपूर्वको यो विवाद सधैँ बल्झिरहेको छ । 

इजरायलमा सबैभन्दा लामो समय शासन गर्नुभएका प्रधानमन्त्री नेतान्याहु प्यालेस्टिनीलाई अधिकार दिने पक्षमा हुनुहुन्न । उहाँ अहिले छैटौँ पटक प्रधानमन्त्री बन्नुभएको छ । ७४ वर्षीय नेतान्याहु पछिल्लो दशकदेखि इजरायली राजनीतिमा उहाँकै मात्र दबदबा छ । उहाँ अमेरिकाको विश्वासपात्र हुनुहुन्छ । उहाँ दमन गरेरै प्यालेस्टिनीलाई तह लगाउने पक्षमा हुनुहुन्छ । 

इजरायल जन्मेसँगै राज्य गुमाउँदै शरणार्थी बनेका प्यालेस्टिनीले त्यसयता लगातार स्वतन्त्रताका लागि सङ्घर्ष गर्दै आएका छन् । इजरायलसँगको चरम विवाद र सङ्घर्षका क्रममा हजारौँ प्यालेस्टिनीले ज्यान गुमाएका छन्, हजारौँ घाइते भएका छन् भने अर्बौं डलरको भौतिक संरचना ध्वस्त भएका छन् । युद्धबाट सबैभन्दा बढी प्यालेस्टिनी बालबालिका पीडित भएका छन् । युद्धमा मारिएका, घाइते भएका, घरबार गुमाएका र टुहुरा भएका उनीहरूको पीडा दर्दनाक छ ।  

त्यसैले इजरायल र हमासबिच जारी यो क्रूर र अमानवीय युद्ध तत्काल अन्त्य गरी वार्ताद्वारा समस्याको दिगो समाधान खोज्नुको विकल्प छैन । इजरायले हमास समाप्त पार्ने नाममा निहत्था प्यालेस्टिनी आमनागरिक मार्नु कुनै हिसाबले पनि तर्कसङ्गत हुँदैन । यो युद्ध लम्बिँदै गए यसले परिस्थिति झन् जटिल बनाउँदै क्षेत्रीय युद्ध निम्त्याउनसक्ने भएकाले पनि युद्ध तत्काल रोक्नु पर्छ । आमनागरिकको बाँच्न पाउने अधिकार कुनै हालतमा खोसिनु हुँदैन ।  

  

Author

रामप्रसाद आचार्य