• १२ साउन २०८१, शनिबार

जनकपुरधाममा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा बनाइने

blog

रंगभूमि मैदान (बाह्र बिघा) स्थित प्रतिमा बनाइने स्थल । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, मङ्सिर २३ गते । जनकपुरधाममा सीताराम विवाह पञ्चमीको अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सितारामको प्रतिमा निर्माण गरिने भएको छ ।  

प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाह पञ्चमीको अवसर पारेर धार्मिक ऐतिहासिक सरह जनकपुरधामलई विश्वभर चिनाउन ११ प्रकारका अनाज प्रयोग गरी २१ लाख २३ हजार रुपियाँको लागतमा रंगभूमि मैदान (बाह्र बिघा) मा ११ हजार स्क्वायर फिटको राम जनकीको प्रतिमा स्थापित गरिने भएको हो ।

उक्त प्रतिमा निर्माणमा चामल २५ क्विन्टल, गहुँ छ क्विन्टल, सोयावीन, छ क्विन्टल, चना १८, उरद (मास)को दाल १८, चना दाल ४, अरहर ४, समुर दाल ४, मकै ३, मुमफली २ र मुंग दाल १२ क्विन्टल गरी १२ लाख ६८ हजार रुपियाँको ११ प्रकारका अनाज प्रयोग गरिने श्री सीतारामअनाज प्रतिमा निर्माण समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिनुभयो । 

भारतको अयोध्यामा बनाइएको नौ हजार स्क्वायर फिटको राम जानकीको प्रतिमाबाट प्रेरित भएर जनकपुरधाममा पनि त्यो भन्दा ठुलो प्रतिमा बनाउन थालिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह बताउनुभयो । जनकपुरधाममा पर्यटक भित्र्याउन र जनकपुरधामलाई विश्व सामु चिनाउन जनकपुरधाममा विवाह पञ्चमीको अवसरमा प्रतिमा निर्माण गर्नु उत्तम उपाय रहेको साहमो भनाई छ । 

जनकपुरधाममा ११ हजार स्वाइयर फिटको प्रतिमा बनेपछि नयाँ रेकर्ड कायम हुने अपेक्षासहित प्रतिमा निर्माण गर्न थालिएको साहले बताउनुभयो । यसका साथै उहाँले प्रतिमा निर्माणमा प्रयोग भएका अनाजमध्ये ९० प्रतिशत अनाज पुनः काम लाग्ने र १० प्रतिशत अनाज पिसाएर गौशालामा गाईबस्तुलाई खुवाइने बाउनुभयो । प्रमुख साह निर्माण समितिको सल्लाहकार समितिमा समेत हुनुहुन्छ । 

प्रतिमा ऐतिहासिक रंगभूमि मैदान बाह्र बिघाको उत्तरी पूर्वी कुनामा बनाइने भएको छ ।  छ इन्च माटो भरेर समतल बनाई करिब तिन कठ्ठा जमिनमा कार्पेट ओछाएर प्रतिमा बनाइने छ भने उक्त प्रतिमा निर्माणका लागि अयोध्यामा राम सिताको प्रतिमा बनाई विश्व रेकर्ड बनाएका भारत मध्य प्रदेशका कलाकार सतिश गुर्जरको टोलीलाई बोलाइएको निर्माण समितिले जनाएको छ । 

प्रतिमाको थालनी भोली (आइतबार) साँझबाट गरिने छ भने करिब चार दिनमा प्रतिमा पूर्ण रूपमा निर्माण भइसक्ने र मङ्सिर २७ गतेदेखि आम नागरिकले उक्त प्रतिमा हेर्न सक्ने प्रतिमा निर्माण कलाकार सतिश गुर्जरले बताउनुभयो । 

भारतमा बनाइएको प्रतिमाको रेकर्ड तोड्दै उक्त प्रतिले गिनिज बुक अफ वर्ल्ड रेर्कडमा ठाउँ बनाउने विश्वासका साथ यस अघि भारत उत्तर प्रदेशको अयोध्यामा सोही आकारको प्रतिमा बनाएर रेकर्ड बनाएकाका कालाकारलाई नै बोलाएर जनकपुरधाममा प्रतिमा बनाई थप रेकर्ड बनाइने उद्देश्य लिएको समितिले जनाएको छ । 

अनाजमा आवश्यक पर्ने २५ क्विन्टल चामल जानकी मन्दिरका सहायक महन्त रामरोशन दास, १८ क्विन्टल कालो उरदको दाल जनकपुर चिकित्सक एसोसिएसन, निजी अस्पताल सञ्चालक सङ्घ धनुषाका अध्यक्ष डा. एसके सिंह सहितका सङ्घ संस्था र व्यक्तिहरूले व्यवस्थापनको जिम्मा लिएका छन् भने कलाकारहरूले मेहनत खर्च नलिने र निःशुल्क प्रतिमा बनाउन लागेको प्रतिमा निर्माण समितिले जनाएको छ ।