• १३ फागुन २०८०, आइतबार

प्रकृतिमाथि पैसा र प्रविधि

blog

प्रकृतिमा मानव समुदाय मात्र छैन, यहाँ मानव जातिको अस्तित्व आउनुपूर्व नै कैयौँ सूक्ष्म एककोषीय जीवको अस्तित्व थियो । साथै अन्य ठुलासाना जीवको पनि आश्रयस्थल । आधुनिक सभ्यताको विकासका क्रममा मानव जातिले बुद्धि र विवेकको भरमा प्रकृति र प्राकृतिक जीवमाथि धावा बोल्न थाल्यो । त्यसपछि अन्य जीवको अस्तित्व सङ्कटमा पर्न थाल्यो । कतिपय जीवजन्तुले भने आफूलाई समय अनुकूल परिवर्तन गर्दै आफ्नो अस्तित्वलाई जोगाइराख्न सफल भए । कतिपय जीवजन्तुलाई मानिसले बाँच्ने आधार बनाए । 

सृष्टिकालदेखि प्रकृतिले मान्छेलाई भोको राखेको थिएन, भेदभाव गरेको थिएन तर मान्छेले भेदभाव र भोकै राख्न बाँकी राखेन । उत्परिवर्तनको सिद्धान्त यहाँ केवल मानव जातिमा मात्र हुन्छ भन्ने कुरामा सीमित राख्न खोजियो तर सुरु सुरुमा बलियोले निर्धोलाई पछा¥यो । जित्नेले आफूलाई शासक बनायो । बलकै भरमा शक्तिशाली बन्ने होडमा मर्न र मार्न पछि परेन । युद्धकै कारण जङ्गली युगबाट निस्किएर नदी किनारमा रोपिएका प्राचीन सभ्यता तहसनहस बनायो । प्राकृतिक युद्धबाट बचेखुचेकाहरू यथार्थभन्दा पर कल्पनाको धर्मकथाले बाँधेको थितिमा उनिँदै जङ्गलबाट पुनः सभ्यताको डिलमा फड्को मारे । प्रकृतिबाटै सम्पूर्ण सृष्टिको रचना भएको कथा हाले । 

पैसा

प्रकृतिमा पूर्ण निर्भर रहेको हिजोको भयभित मान्छे एकाएक कसरी यति शक्तिशाली बन्यो त ? पक्कै पनि मान्छे यति बलशाली बन्नुका पछाडि मानिसका थुप्रै रहस्यमय कल्पना छन् । मान्छेका तिनै अनगिन्ती कल्पनामध्ये सबैभन्दा शक्तिशाली कल्पना थियो– पैसा । आज पैसाले संसार चलाइरहेको छ । पैसाले केवल एउटा भाषा बोल्छ, “आज तिमी मलाई बचाऊ भोलि म तिमीलाई बचाउँछु ।” त्यसो भए आखिर पैसा के हो ? न खान सक्छौँ, न यसले हाम्रो प्यास मेटिन्छ, न पैसा सिलाएर कपडा बुन्न सकिन्छ, न घर बनाएर हावाझरी छेक्न नै सकिन्छ । त्यै पनि यो मूल्यवान् छ किनकि हामीले यसको मूल्य तोकेका छौँ ।

कागज वा धातुलाई निश्चित आकारमा काटेर, रङ घोलेर, थरीथरीका बुट्टा भरेर, अमूक व्यक्तिको हातबाट दस्तखत गराएर कागजको मूल्य तय हुन्छ । त्यसले पैसाको रूप लिन्छ । हामी त्यसलाई पैसा भन्छौँ । यो यति शक्तिशाली छ; जसले महादेवका पनि तीन नेत्र देखाइदिन्छ । बरु हामी ईश्वर मान्दैनौँ, धर्म मान्दैनौँ, राज्य मान्दैनौँ, शासन व्यवस्था नमान्न सक्छौँ तर पैसाबिना जीवन चल्दैन । यही हो हामीले सुनेको र पत्याएको पैसाको कथाको कमाल ।

आज मान्छे पैसाका निम्ति सात समुद्रपार जात, धर्म, वर्ण, चित्र, चरित्र, मूल्यमान्यता, सोचाइ, संस्कार, रहनसहन, भाषा, भेष केही नमिल्नेसँग पनि मज्जाले सहकार्य गर्न सक्छ । दुनियाँ भूमि र भूगोलले भिन्नभिन्न भए पनि पैसाले साझा हुन सक्छ । पैसा भनेपछि सबै मानिस एउटै सासले बाँच्छन् । बरु पैसाको स्वार्थ बाझिए आफ्नासँगै बाझाबाझ गर्न अघि सर्छन् मान्छे । 

अर्कोतिर आज हाम्रो मेहनत पैसामा टिकेको छ । सबैलाई पैसा चाहिएको छ । पैसा कमाउने दुनियाँको एउटै सोख छ । एउटै रोग, भोक, धेय र मूल मोह पैसा बनेको छ । विश्वभरका मान्छेसँग मिल्ने एउटै लक्ष्य प्राप्ति भनेको पैसा हो । पैसाको पर्खालमा भौतिक भव्यता अडेको छ । यो युगको सबैभन्दा प्रतिष्ठित योग्यता नै पैसा बन्न पुगेको छ । पढेकाहरू पछाडि छन् तर पैसासित मन मिलेको छ । पूर्वीय सभ्यताका अनुयायी हामी साराको शिष्टाचार पैसाबाट पैदा भइरहेछ । पश्चिमी समाज पैसाका लागि सारा चिजमा प्रविधि पस्केर बसेको छ । हर चिज बिक्रीमा राखेको छ । अर्थ, मर्म, परिवेश, सङ्केत सबै नबुझी मान्छे प्रविधि र पैसाको पछि दौडेको छ । 

पैसाकै कारण पछिल्लो युगको संसारमा प्राकृतिक भोकमरीबाट बिरलै कसैको ज्यान जान थालेको छ । दुःखको कुरा आज संसारमा पैसाका कारणले खान नपाएरभन्दा बढी खाएर वा खान नजानेर मान्छे मरिरहेका छन् । यसको मतलब भोकले मान्छे मर्नै छाडे भन्ने होइन तर त्यो भोकमरी प्रकृतिप्रदत्त नभई, राजनीतिप्रदत्त हुँदै गएको छ । अर्कोतिर पैसाकै आडमा सिर्जना हुँदै गएका वैज्ञानिक आविष्कारबाट चुनौतीको चाङ हाम्रा सामु चुलिँदै छन् । समुद्रको गहिराइदेखि अन्तरिक्षसम्मको यात्रा विज्ञान र प्रविधिको नवीनतम् प्रयोगमा पैसा हुनेकै रामराज्य चलिरहेको छ ।

प्रविधि

अहिले समय बदलिएको छ । हामी समाजमा विद्युतीय अवतार सँगैसँगै प्रविधिको नयाँ कथा हाल्दै छौँ । मानव सृजित ईश्वरको कथा । विज्ञान मान्छेलाई पैसाको बैसाखी टेकेर ईश्वर बनाउने परिकल्पना गर्दै छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको संसार, भर्चुअल संसारको कल्पनामा मान्छे चुर्लम्म डुबेको छ । मान्छेविहीन समाजको कल्पना गर्दै छ । प्रविधिको कुरा गर्नुपर्दा अब हामी र हाम्रा सन्ततिको भविष्यको कथा हो प्रविधि । प्रविधिकै सहारामा हामी मानव सभ्यताको डिजिटल युगमा प्रवेश गरेका छौँ । हाम्रो पहिचान अब गुगल र फेसबुकले पहिल्याउने छ । हाम्रा पुर्खा र हाम्रो थातथलो, जात, थर, धर्म, गोत्र अनि पहिचानका लागि एआई आज हाम्रो भरपर्दो र विश्वासिलो सारथि बन्दै गएको छ ।

यो सुदूर भविष्यको कुरा होइन । शताब्दीको कुरा पनि होइन । हाम्रो एक–दुई दशकपछिकै भविष्य हो । हिजो जुन परिवर्तनका निम्ति हजारौँ वर्षको लामो कालखण्ड पार गर्नुपथ्र्यो भने आज क्षणभरमै साकार हुँदै छ । कृत्रिम विद्वताकै कारण समाजमा कम्प्युटरको प्रयोगले उन्नाइस सय वर्षको प्रगति नब्बे वर्षमै सम्भव भयो । नब्बे वर्षको प्रगति दस वर्षमै देखियो । अब त दस वर्षको प्रगति दुई वर्षमै देखिने छ । जुन मानवीय विद्वतामाथि नै हाबी हुँदै जाने प्रगति हुने छ ।

लाग्छ, सबैतिर कृत्रिम विद्वताले भरिएका रोबोटको हालीमुहाली चल्ने छ । संसारभरिबाटै कामकाजी जनशक्तिले ठुलो सङ्ख्यामा रोजगार गुमाउने छन् । त्यतिबेला श्रम बजारले कस्तो जनशक्ति माग्ला, हामीलाई थाहा छैन । रोबोट कि मान्छे, पैसा कि प्रविधि ? यसको सबैभन्दा ठुलो प्रभाव पर्ने छ हाम्रो श्रम बजारमा । लाखौँ रोबोट मजदुर उद्योग कलकारखानामा तैनाथ हुने छन् । न भोक न थकाइ न त कुनै महामारीको त्रास न त सेवा सुविधा नै चाहिने ।

यसरी समाजमा अप्रत्यासित रूपमा भित्रिएको प्राविधिक रूपान्तरणले कतै नयाँ पुस्तालाई अल्छी बनाउने त छैन ? झन् बेकामे बनाउने खतरा छ पो छ कि ! आज एक कक्षा पढ्ने नानीबाबुलाई दस–पन्ध्र वर्षपछिको श्रम बजारमा हेलिन कस्तो सिप र शिक्षा चाहिने हो, यकिन छैन । त्यसो भए कस्तो होला प्रकृतिमाथि पैसा र प्रविधिको शासन ? पढाइका नाममा सफ्टवेयर सिकाउँ, त्यो पनि असान्दर्भिक भइसक्ला । रोजगारीका लागि शल्यचिकित्सक बनाउँ, रोबोटले नै शल्यक्रिया गरिसक्न के बेर लगाउला ? नर्सिङ रोबोटले नै बिरामीको स्याहारसुसार गर्लान् । बैङ्कमा हिसाब किताब गर्ने अडिटर बनाउँ डिजिटल मनी अर्थात् कृप्टो करेन्सीमा हिसाब गरिदेला ।

आज हामी यस्ता निरीह अभिभावक भएका छौँ । जसले पैसा र प्रविधिको पछाडि दौडाउने मोहले गाउँबस्तीको प्राकृतिक जीवन उजाड पारेर धेरै धनराशि खर्चेर सन्ततिलाई विदेशतिर लखेटेका छौँ । डिजिटल पुस्ताका रूपमा हुर्किंदै गरेका आफ्ना छोराछोरीलाई के पढाउने ? थाहा छैन । के सिकाउने ? त्यो पनि थाहा छैन । उनीहरू कस्तो प्रकारको दुनियाँमा बाँच्न गइरहेका छन् ? त्यो अत्तोपत्तो छैन । उनीहरूमा दिनानुदिन बढ्दो डिजिटल एडिक्सनप्रति हामी बेखबर जस्तै छौँ । अहिलेलाई यति मात्र भन्न सकिन्छ । हाम्रा छोराछोरीको भविष्य सहज छैन । हरेक दिन नयाँ कुरा सिक्नुपर्ने छ । नयाँ नयाँ क्षेत्रमा स्थापित हुनुपर्ने छ । 

हामी के खोज्दै छौँ, के किन्दै छौँ, कहाँ जाँदै छौँ ? यी सबै गुगल र फेसबुकको कृत्रिम विद्वताबाट लुकेको छैन । हाम्रो व्यक्तिगत स्वतन्त्रता, छनोट अधिकार र रुचिलाई प्राविधिक विकासले काबुमा लिँदो छ । कृत्रिम विद्वताको व्यापक प्रयोगले हाम्रो व्यक्तिगत स्वतन्त्रता धरापमा छ । हाम्रा सबै भित्री बाहिरी सूचना टिकटक, इन्स्टाग्राम, ट्विटर, गुगल र फेसबुकको हातमा छ । एक्काइसौँ शताब्दीको यो चुनौती सामना गर्ने ताकत एउटा देशको हातमा मात्र छैन । एउटाले कृत्रिम विद्वतामा रोक लगाउला । जैविक रूपान्तरणलाई मान्यता नदेला तर जब प्रतिस्पर्र्धी देश त्यसमा खुरन्धार लाग्छ, उसलाई पनि नपछ्याई सुखै छैन ।

आजको मानव जाति फेरि कतै आफ्नो अस्तित्व बचाइराख्नका लागि डार्बिनको ‘स्ट्रगल फर एक्जिस्टेन्स’ को सिद्धान्तलाई प्रयोग गर्नुपर्ने अवस्थामा आइपुगेको त छैन ? सबैले बुझ्नुपर्ने कुरा यो छ, सही नियतले गरेका सबै आविष्कार सधैँ सही काममा प्रयोग हुँदैनन् । भइदिएको भए आणविक शक्ति संसारकै निम्ति त्रास बन्ने थिएन । आज हजारौँ वर्षको कालखण्डमा पछारिँदै, पाइला चाल्दै मान्छेले हासिल गरेको विकास र उपलब्धि, पैसा र प्रविधिका कारण कतै अवसानतिर गइरहेको त छैन ? यो अवसानले मानव जातिलाई इतिहासकै चुनौतीपूर्ण दोसाँधमा उभ्याएको देखिन्छ । जहाँबाट अगाडि हेर्दा हामी भविष्य आकलन गर्न सक्दैनौँ । त्यहाँ वैज्ञानिक चमत्कारको घना तुँवालो छ । जसले हामीलाई कता लैजान्छ थाहा छैन ।

   

Author

पुष्पराज भट्टराई