• १२ साउन २०८१, शनिबार

‘सम्झनामा राधेश्याम’ र ‘हलेसी’ लोकार्पण

blog

काठमाडौँ, मङ्सिर २३ गते । कीर्तिशेष स्रष्टा तथा नेपाल सरकारका पूर्वसचिव राधेश्याम भट्टराईको स्मृति र श्रद्धामा प्रकाशित ‘सम्झनामा राधेश्याम’ र ‘हलेसी’ कृतिको आज राजधानीमा आयोजित विशेष कार्यक्रममालोकार्पण गरिएको छ । 

बानेश्वर बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी दिवस र पूर्वमुख्यसचिव डा. विमल कोइरालाले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो । सो अवसरमा साहित्यकार दिवसले कवि कहिल्यै भूतपूर्व हुन नसक्ने जिकिर गर्दै राधेश्याम भट्टराई पूर्वसचिव भए पनि पूर्वकवि नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मान्छे पदबाट पूर्व हुन्छ भने सिर्जनशील व्यक्ति पूर्व नभएर अपूर्व भएर बाँचिरहेका हुन्छन् । उहाँको कृति बाहिर आउनुको मूल कारण उहाँ सचिव भएर नभई स्रष्टा भएर आएको हो । सचिवहरू भूतपूर्व भएको देखेको तर कवि कहिले भूतपूर्व नभएको र स्रष्टा सधैँ नै अमर रहनेउहाँको भनाइ छ ।

उहाँले लेखकले पुस्तकभित्र लोकलय र झ्याउरेलाई टिपेर त्यसलाई आफ्नो मैलिकतामा अभिव्यक्त गर्न सक्ने क्षमताको विकास गरेकोमा खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रममा पूर्वमुख्य सचिव विमल कोइरालाले लेखक राधेश्याम भट्टराई र आफू सँगसँगै जस्तै सचिव भएको स्मरण गर्नुभयो । उहाँले दुवैको पेसा रुखो भएको जहाँ संवेग र भावनाको कतै मूल्य नहुने बताउनुभयो । पुस्तकभित्र ५० जनाभन्दा बढी लेखकका बारेमा लेख्नुभएको हुनाले पनि उहाँले कहिले आफ्नो बारेमा नलेखेको जिकिर गर्नुभयो । ‘हलेसी’ कृति आफूले पढ्नुभन्दा अघि त्यस ठाउँमा आफू चार पटक पुगेको कोइरालाको भनाइ छ । त्यहाँ गएर आएपछि आफूले ‘हलेसी’ पढेको र बुझेको उहाँले बताउनुभयो । अहिलेको पुस्ताले लेखकको जीवनबाट धेरै प्रेरणालिन सक्ने उहाँको भनाइ छ । 

कार्यक्रममा स्वर्गीय भट्टराईका दुवै कृतिमाथि साहित्यकार प्रा. बद्रीविशाल भट्टराईले समीक्षा गर्नुभयो । उहाँले हलेसी त्रिभाषामा प्रकाशित भएकाले यसको अलगै महìव रहेको चर्चा गर्नुभयो । झ्याउरे लयमा तयार उक्त कृतिले हलेसीको महिमा उँचो बनाएको बताउनुभयो । यस्तै स्मृतिमा राधेश्यामले उहाँको बहुआयामिक पक्ष उजागर गरेको भन्दै प्रशंसा गर्नुभयो ।

प्राडा केदार न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कवि प्रह्लाद पोखरेल, शरदकुमार भट्टराई, महेश प्रसाई, पूर्वसचिव गोपी मैनाली, कवि लव गाउँले, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, शिक्षा भट्टराई, स्मारिका भट्टराई, मनिष भट्टराईलगायतले बोल्नुभएको थियो ।