• १२ साउन २०८१, शनिबार

यू–१९ एसिया कप : नेपालको खराव सुरुवात

blog

तस्बिर : नेपाल क्रिकेट सङ्घ (क्यान) ।

काठमाडौँ, मङ्सिर २२ गते । नेपालले एसिसी यू–१९ एसिया कप क्रिकेटमा खराव सुरुवात गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा शुक्रबार भएको समूहको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भयो । 

जितका लागि नेपालले दिएको एक सय ५३ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पाकिस्तानका लागि अजन अविसले अविजित ५६ रन बनाउनुभयो । कप्तान साद वेगले ५० रन बनाउनुभयो । मोहमद जेसानले अविजित २० र साहजिव खानले १५ रन बनाउनुभयो । बलिङमा नेपालका गुलसन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिनुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५२ रन बनाएको थियो । नेपालका लागि उत्तम मगरले ७६ बलको सामना गर्दै तीन चौका र दुई छक्काको मद्दतमा ५१ रन बनाउनुभयो । दिपेश कँडेलले ५९ बलको सामना गर्दै ३१ रन बनाउनुभयो ।

अर्जुन कुमाल २१ रनमै आउट हुनुभयो । सिनियर टिममा समेत उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएका गुलसन झा चार बल खेल्दै एक रनमै आउट हुनुभयो । पाकिस्तानका बलरसामु नेपाली ब्याटिङ नचल्दा मध्यम स्कोर बनाएको थियो । 


नेपाललाई सस्तैमा समेट्न पाकिस्तानका मोहम्मह रिजवान एक्लैले ६ विकट लिनुभयो । अमिर हसनले दुई तथा उविद शाह र अलि अस्फादले एक एक विकेट लिनुभयो । एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। यस समूहमा निकै बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् ।

शुक्रबार नै भएको समूहको अर्को खेलमा भारतले अफगानिस्तानलाई सात विकेटले हरायो । जितका लागि अफगानिस्तानले दिएको एक सय ७४ रनको लक्ष्य भारतले ३७.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् ।

एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ । नेपालले दोस्रो खेल मङ्सिर २४ गते अफगानिस्तानसँग र समूहको अन्तिम खेल २६ गते भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।