• १२ साउन २०८१, शनिबार

सवारी दुर्घटनामा २४ जनाले ज्यान गुमाए

blog

दुर्घटना कम गर्न ट्राफिक प्रहरीले सञ्चालन गरेको सचेतना कार्यक्रम । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर २१ गते । विगतको तुलामा सडक दुर्घटनामा वृद्धि हुँदैगएको बाँके जिल्लामा गत साढे चार महिनामा सवारी दुर्घटनामा २४ जनाले ज्यान गुमाएका छन् । ६० जना घाइते भएका छन् । 

जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १० गतेसम्मको साढे चार महिनाको अवधिमा बाँकेमा ५७ वटा सवारी दुर्घटना भएकोमा २४ जनाको मृत्यु भएको छ ।  

घाइतेमध्ये ४२ जना गम्भीर घाइते भएकाले उनीहरूमध्ये केहीको अझै पनि उपचार भइरहेको जनाइएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले मादक पदार्थ सेवन, लापरबाही र तीव्र गतिका कारण सवारी दुर्घटना बढ्दैगएको जनाउँदै अनाहकमा निर्दोषको ज्यान जानेगरेको बताउनुभयो । 

उहाँले दुर्घटनाका यी तीन कारणमध्ये सबैभन्दा बढी दुर्घटना मादक पदार्थ सेवनका कारण भएको अनुसन्धानबाट खुलेको बताउनुभयो । प्रमुख सुवेदीले थप्नुभयो, ‘चालू आर्थिक वर्षमा भएका दुर्घटनाको तथ्याङ्क र गतवर्ष यही समयावधिमा भएको दुर्घटनाको तथ्याङ्क केलाउँदा सङ्ख्यात्मक हिसाबले केही घटेको छ, तथापि ५७ वटा दुर्घटनामा ८१ वटा सवारीसाधनबाट २४ जनाले ज्यान गुमाउनुभएको छ ।’ 

जिल्ला ट्राफिक कार्यालयका अनुसार दुर्घटनामा ठुला सवारी साधनभन्दा पनि मोटरसाइकल र अटोरिक्सा बढी परेका छन् । मुख्य राजमार्ग क्षेत्रभन्दा पनि ग्रामीण र भित्री सडकमा दुर्घटना बढी भएको पाइएको छ । 

भित्री सडकमा मोटरसाइकल र अटोरिक्सा बढी चल्ने भएकाले ठुला सवारी साधनभन्दा पनि साना सवारी साधनले दुर्घटनाको सङ्ख्या बढाएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो । 

उहाँले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले १२ महिना नै निरन्तर विभिन्न सचेतनाका कार्यक्रम गर्दैआएको जनाउँदै तर पनि दुर्घटना बढ्दै गएको चिन्ता व्यक्त गर्नुभयो । 

जिल्ला ट्राफिक कार्यालयका अनुसार बाँकेमा चालू आर्थिक वर्षको हालसम्म ६४१ वटा सचेतिकरणसम्वन्धी कार्यक्रम गरिएको छ । सो क्रममा विद्यार्थी, चालक, सहचालकदेखि सडक प्रयोग गर्ने आम नागरिकलाई समेत ट्राफिक नियमबारे सचेत बनाउने कार्यक्रम सञ्चालन गरिएको छ ।

दुर्घटना घटाउने काम कुनै एक निकायले मात्र गरेर नहुने जनाउँदै त्यसका लागि सरोकार राख्ने सबै निकायको उत्तिकै भूमिका हुनु जरुरी रहेको ट्राफिक प्रहरीको भनाइ छ ।