• १२ साउन २०८१, शनिबार

माछापालनमा आत्मनिर्भर बन्दै कृषक

blog

देवचुली–१३ मा गरिएको व्यावसायिक माछा पालन पोखरी । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, मङसिर २१ गते । पूर्वी नवलपरासी माछापालनमा आत्मनिर्भर बन्दैगएको छ । माछाका लागि वातावरण अनुकूल र कमाइ पनि राम्रो हुने देखेपछि नवलपुरका युवाहरू अन्य पेसा छाडेर माछापालनमा लागेका छन् । 

नेपाल मत्स्य केन्द्रले जिल्लालाई माछापालनका लागि उत्कृष्ट प्रमाणित गरेपछि अहिले पाँचसय बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक माछापालन भइरहेको छ । माछापालन गर्ने क्षेत्र समेत बर्सेनि बढ्दो रूपमा रहेको छ ।

जिल्लाको कावासोती, देवचुली, मध्यविन्दु त्रिवेणि लगायतका २९ सय ८७ रोपनीमा व्यावसायिक रूपमा माछा पालन गरिँदैआएको छ । गत वर्षभन्दा अहिले १४२ रोपनी क्षेत्रफलमा वृद्धि भएको छ । यसबाट आर्थिक वर्ष २०७९–८० मा ९८१ मेट्रिकटन माछा उत्पादन भएको नवलपुरका मत्यविकास अधिकृत सन्दीप लामिछानेले जानकारी दिनुभयो । 

नवलपुरमा गत आर्थिक वर्ष २०७८–७९ मा ९३३ मेट्रिकटन माछा उत्पादन भएको थियो । अहिले ४२ मेट्रिकटन माछा उत्पादनमा वृद्धि भएको अधिकृत लामिछानेले बताउनुभयो । 

जिल्लामा माछापालन व्यवसायबाट एक हजार किसानहरू लाभान्वित भएका छन् । नवलपुरमा व्यावसायिक रूपमा माछा पालन गर्ने र यो पेसा अँगाल्ने किसानका लागि यो व्यवसाय भरपर्दो बन्न सफल भएको नवलपुर मत्स्य व्यावसायिक कृषक समूहका अध्यक्ष इन्द्रमणि भुसालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विगत १८ वर्षदेखि माछा पालन फर्म दर्तागरी एक बिघामा व्यावसायिक माछा पालन गर्दैआएको छु । वार्षिक रूपमा दश लाख आम्दानी हुने गरेको छ ।” यहाँका किसानले अहिले यो पेसालाई आम्दानीको मुख्य स्रोत बनाउन सफल हुनुमा आफ्नो पौरख र परिश्रमलाई मुख्य कर्म ठानेको भुसालले बताउनुभयो ।

नवलपुरको विशेषतः कावासोती, देवचुली र मध्याविन्दुको दुईसय हेक्टर क्षेत्रफलमा व्यावसायिक कृषि उत्पादन केन्द्र माछा ब्लक  कार्यक्रम अन्तर्गत नयाँ पोखरी निमार्ण गरी माछा पालन गरिएको छ । यस्तै, जिल्लाको कूमारवर्ती, कोल्हुवा, अग्यौली, रजहर, पिठौली, प्रगतिनगर, धौवादी, देबचुली आसपासका क्षेत्रमा व्यावसायिक रूपमा माछापालन गरिँदैआएको छ ।

वैदेशिक रोजगारीका लागि जानुभएका देवचुली–१३ का हेमराज घिमिरेले सोचेजस्तो नभएपछि स्वदेश फर्की माछापालनमा लागेको बताउनुभयो । १० वर्षदेखि चार बिघा क्षेत्रफलमा व्यावसायिक माछापालन गर्नुभएका उहाँले वार्षिक १५ लाख रुपियाँको हाराहारीमा कमाइ हुनेगरेको बताउनुभयो । यो व्यवसायबाट राम्रो आम्दानी भएकाले स्वदेशमा नै खुसी भएको बताउनुभयो । 

माछापालनबाट राम्रो प्रगति गरेको देखेपछि गैँडाकोट, मध्यविन्दु र देवचुली नगरपालिकाका  महिला  अझ बढी यसतर्फ आकर्षित भएका छन् । देवचुली नगरपालिका-१३ की निर्मला दाहाल पनि माछापालनबाट खर्च कटाएर वार्षिक  १० लाख रुपियाँ आम्दानी गर्न सफल भएको बताउनुभयो । 

तीन वर्ष अघिसम्म माछापालन गर्ने कृषकले माछा विक्रीका लागि बजारको राम्रो व्यवस्था, प्राविधिक तालिम नहुँदा समस्या भए पनि अहिले सबै पाइएको बताएका छन् । अहिले हरेक दृष्टिले गण्डकी प्रदेशमै अग्रणी जिल्लाका रूपमा रहेको नवलपुरमा कृषकलाई दिने ज्ञान र अनुदानले किसानलाई थप टेवा भएको माछापालक कृषकको भनाइ छ । अहिले पनि कृषकले ५० प्रतिशत अनुदान पाउन थालेपछि माछामालनतर्फ आकर्षित भएका छन् । 

व्यावसायिक माछापालनको पोखरी निर्माणका लागि प्रतिरोपनी २५ हजारका दरले मत्यविकास केन्द्रबाट अनुदान आउनेगरेको उहाँले बताउनुभयो । वार्षिक २० करोडभन्दा बढीको माछा विक्री हुनेगरेको नवलपुरबाट नारायणगढ, काठमाडौँ, बुटवल मुख्य बजार रहेको कृषकको भनाइ छ ।