भावना जोशी
अत्तरिया, पुस १८ गते । प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा उपाध्यक्ष र सदस्य नियुक्त गरिएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष र दुई जना सदस्यलाई पद रिक्त भएको पाँच महिनापछि नियुक्त गरेको हो ।
मन्त्रिपरिषद् बैठकले डा. जीवन रानालाई उपाध्यक्षमा नियुक्त गरेको छ । राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग प्रमुख हुनुहुन्छ । कैलालीको धनगढी उपमहानगरपालिका –८ की रानाले विद्यावारिधि गर्नु भएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गर्नु भएको छ । यस्तै, बिहीबारको प्रदेश मन्त्रिपरिषद् बैठकले सदस्यमा डा. हिरा चन्द र शेरबहादुर भण्डारीलाई नियुक्त गरेको छ । भण्डारी काँग्रेस डडेल्धुराका सचिव हुन् भने चन्द एमाले सुदूरपश्चिममा पूर्वप्रदेश कमिटी सदस्य हुन् ।
उपाध्यक्ष रानालाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । सदस्य डा. चन्द र भण्डारीलाई उपाध्यक्ष रानाले सपथ ग्रहण गराउनु भएको थियो ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले योजना आयोगको गठनादेशमा केही संशोधन गर्नुपर्ने भएकाले नियुक्तिमा केही महिना ढीलो भएको बताउनुभयो । नयाँ सरकार गठन भएपछि साउन महिनादेखि सरकारले छलफल गर्न सकेको थिएन । अव प्रदेशको योजना तर्जुमा लगायतका विषएमा छलफल अगाडि बढ्ने उहाँले बताउनुभयो ।
शाहले भन्नुभयो, “सुदूरपश्चिमको जनताको चाहनाअनुसारका योजना निर्माण लगायतमा प्रदेश सरकारलाई सहयोग गर्ने कुरामा विश्वस्त रहेको छु” । नवनियुक्त उपाध्यक्ष रानाले आफू प्रदेश सरकारसँगै सुन्दर सुदूरपश्चिम बनाउने काममा हातेमालो गर्ने बताउनुभयो ।
सपथ ग्रहण कार्यक्रममा प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो । सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसँगै पाँच महिनादेखि उक्त पद रिक्त रहेको थियो ।