काठमाडौं, पुस १८ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुुहुँदै उहाँले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले शेरा दरबार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न चाहेको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनी रूपले व्यक्तिको नाममा हाल्ने कार्यमा जो कोही संलग्न भए पनि कानुनको दायरामा ल्याउनुपर्ने जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले ललिता निवासको सयौं रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएजस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याएको खण्डमा सरकारलाई सहयोग मात्र नभइ धन्यवाद दिने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘अहिले यही सेरा दरबारको चर्चा सुनेपछि मैले अस्ति झापाको कार्यक्रममा बोलेको पनि थिएँ । दोषीलाई कारबाही गरियोस्, सरकारलाई सहयोग गर्न तयार छौं । मैले अरू भन्नु केही पनि छैन । मैले खालि सरकारलाई के भन्छु भने कानुन विपरित काम भएको छ भने जसरी ललिता निवासको सयौं रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइयो । त्यसैगरी शेरा दरबारको पनि भयो भने म सरकारलाई सहयोग मात्र होइन धन्यावाद पनि भन्नेछु ।’’
नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको भन्दै सरकारका नाममा ल्याउन सिआइबीले सरकारलाई पत्राचार गरेको थियो । त्यस्तै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई समेत सिआइबीले पत्र लेखिसकेको छ । बिहीबार समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल भइरहेको छ ।