अहिले विकास पत्रकारिता र मिडिया साक्षरताका बारेमा मिडियाकर्मी मात्र नभएर मिडिया उपभोक्ताका बिचमा बहस हुन थालेको छ । हिजोआज विकासका नाममा चिल्ला सडक बनाउने, गाउँ गाउँमा डोजर चलाउने, वन विनाश गर्ने, कङ्क्रिटयुक्त संरचनाहरू निर्माण गर्ने कार्यमा वृद्धि भइरहेको छ । चाहिनेभन्दा बढी मात्रामा यातायातका साधन, कलकाखानाबाट उत्पादन हुने धुँवा कार्बनडाइअक्साइड र कार्बनमोनोअक्साइड मानवजातिले स्वासमार्फत फोक्सोमा प्रवेश गराएर मन्द विष सेवन गर्ने कार्यमा बढोत्तरी भइरहेको छ । त्यसो त वैज्ञानिक अविष्कारको होडबाजी नै विकास हो भन्ने मानसिकताका कारण एटम बम, आणविक भट्टी र अत्याधुनिक हतियार बनाउने होडबाजी संसारका विकसित र शक्तिशाली भनिएका देशले गरिरहेका छन् ।
अहिले विश्वका तेस्रो दर्जाका (अल्पविकसित तथा विकासोन्मुख) मुलुकहरू विकसित भनिएका मुलुकका लागि समस्याको विषय बन्दै गएका छन् । अल्पविकसित तथा गरिब भनिएका मुलुकले वन, जङ्गल, जडीबुटी, जल, हिमालय, विश्वबाटै लोप हुँदै गएका जनावर, किरा आदि नजोगाइदिने हो भने विकसित मुलुकका मानिसहरू एक वर्ष त के एक महिना पनि धर्तीमा टिक्न सक्दैनन् । यसैले पर्यावरणीय चक्र धानिरहेको छ ।
त्यसैले विकास भनेको भौतिक वस्तु मात्र होइन । यो त स्वच्छ हावा, पानी र वातावरण हो । धर्तीका सबै जीवको जिउन पाउने अधिकार हो । विकासका नाममा क्लोरोफ्लोरोकार्बन, कार्बनडाइअक्साइडलगायत घातक तथा विषाक्त ग्यास र विकीरणहरू उत्पादन गरेर सेता हिमाल पगाल्न, जीवहरूको नाश गर्न कसैलाई पनि छुट छैन । अबको विकास पत्रकारिताले यस्ता एजेन्डा उठान गर्नु पर्छ, जसले मानवजातिको मात्र नभई सबै जीवहरूको रक्षा र भलो गर्न सकियोस् ।
यस पृथ्वीमा पानीको भागभन्दा माटोको भाग न्यून छ । तर पनि धर्तीमा रहेका प्राणी र बोटबिरुवाका लागि पानीको हाहाकार मच्चिन थालेको छ । अफ्रिका मात्र होइन कतिपय युरोपेली, अमेरिकी र एसियाली मुलुकमा पानीको चरम अभाव बर्सेनि सिर्जना हुँदै छ । नेपालको सहरी क्षेत्रमा पिउने पानीको समस्या ज्वलन्त छ भने देशका विभिन्न ग्रामीण भेगमा खानेपानी, सिँचाइका लागि पर्याप्त पानीको अभाव नै छ । पानीका मुहान बिस्तारै सुक्दै जान थालेका छन् भने जमिनमुनिको पानीको भण्डारण कम भएको अनुसन्धानले देखाएका छन् ।
आजको विकास पत्रकारिताले मन्त्री तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले पुल तथा सार्वजनिक भवन शिलान्यास, बाटो उद्घाटन, मन्दिर निर्माणको समाचार लेख्ने मात्र होइन, यी भौतिक सामग्री निर्माणका लागि सरकारले विनियोजन गरेको बजेट सही सदुपयोग भयो कि भएन ? भ्रष्टाचार भयो कि ? समयमै सपन्न भयो कि भएन ? वातावरणमैत्री भयो कि भएन आदि विषयमा गहिरिएर सोच्न, सोध्न, अनुसन्धान गर्न र खोजी गर्न सक्नु पर्छ । यति मात्र होइन विकास पत्रकारिताले सरकारले निर्माण गरेका नीति, कानुन, ऐन, नियमहरू पनि जनमैत्री छन् कि छैनन्, ती विकासका बाधक छन् कि सेवक छन् भनेर छुट्याउन जरुरी छ । विकास पत्रकारिताले सरकारले हरेक क्षेत्रमा छुट्याएको बजेट कति सदुपयोग भयो र बजेट सिध्याउने नाममा कति बजेट आँखामा छारो हाल्ने गरी भए भनेर विवेक, चेतना र आलोचनाको तेस्रो दृष्टिले हेरेर खोजी नीति गर्दै खबरदारी गर्न सक्नु पर्छ । अबको विकास पत्रकारिता सुशासन र समृद्धिसँग जोडिनै पर्छ । जसरी विकास आफैँमा गहन र फराकिलो छ, विकास पत्रकारिता पनि त्यस्तै छ ।
हिजोका दिनमा देशको पत्रकारिता क्षेत्रमा दक्ष जनशक्तिको अभाव थियो । पत्रकारिताबारे ज्ञानको कमी थियो । त्यतिबेला पत्रकारिता अध्ययनका लागि क्याम्पस, शिक्षालय तथा तालिम केन्द्रहरू छ्यापछ्याप्ती खुलेका थिएनन् । त्यही भएर पनि विकास पत्रकारिताको उत्तिसारो विकास हुन सकेन । सञ्चारकर्मीमा ज्ञानको कमीले गर्दा पनि यसको दायरा फराकिलो हुन सकेन । तर आज न्यु मिडिया र सोसल मिडियाले गर्दा हरेक नागरिक पत्रकार बनिरहेका छन् । उनीहरू विकासका नाममा भएका र हुने गरेका हरेक गतिविधि स्वयम् अध्यन, अनुसन्धान र अनुगमन गरी सञ्चार माध्यमलाई समाचार सामग्रीहरू उत्पादन मात्र गरिरहेका छैनन्, आफैँ पनि ती विषयमा आलेख, समाचार तथा विचारहरू लेखेर पोस्ट गर्ने र सञ्चार माध्यमलाई उपलब्ध गराउने गरिरहेका छन् । यसले पनि नेपालको विकास पत्रकारितामा टेवा पु¥याएको मान्न सकिन्छ ।
अबको विकास पत्रकारिताले सडक बन्यो मात्र होइन, उक्त सडक बनाउँदा कति रुख कटान भए ? बिजुलीका तार टाँगिए मात्र होइन, त्यसले कति घरलाई लाभान्वित ग¥यो ? सरकारले कति खर्बको बजेट भाषण ग¥यो मात्र होइन, बजेटमा लोपोन्मुख, अल्पसङ्ख्यक, जनजाति, महिला, बालबालिका, टुहुरा, अपाङ्गता, विधुवा, वृद्ध र कुन भौगोलिक क्षेत्रलाई के–कस्तो अवसर, व्यवस्था र सुविधा दिने नीति तथा कार्यक्रम ल्यायो यो मसिनो ढङ्गले केलाउनु जरुरी छ ।
विकासको चर्चा हुने वित्तिकै भौतिक संरचनासँग जोडेर हेर्ने गरिन्छ । पत्रकारितामा भौतिक संरचनासँग जोडिएका विकासको समाचार, लेख रचना, टिप्पणी, विश्लेषण गर्नासाथ विकास पत्रकारिता भनेर अथ्र्याइन्छ । सरसर्ती हेर्दा यही नै हो जस्तो भान हुन्छ तर सबै चिज यत्तिमै सीमित छैन । हिजोको व्याख्या विश्लेषण र आजको विश्लेषण, परिभाषामा भिन्नता छ । विकासलाई सतही रूपमा मात्र बुझ्ने कि त्यसलाई गहिरिएर बुझ्ने भन्नेमा फरक छ । सहरीया शिक्षित, पढेलेखेका व्यक्तिले बुझ्ने विकास, नीति निर्माताले बुझ्ने विकास र गाउँको सामान्य किसानले बुझ्ने विकासमा फरक छ । विकासको अर्थ मान्छे र समाजलाई खुसी पार्ने हुनु पर्छ । मान्छे दुःखी भएर विकासको अर्थ रहँदैन । मानवीय विकास, लैङ्गिक विकास, वातावरण व्यवस्थापन, निजी क्षेत्रको विकास तथा क्षेत्रीय समन्वयले गरिबी निवारणमा पु¥याउन सक्ने योगदानबारे पनि नियमित समाचार र निगरानी अहिलेको आवश्यकता हो ।
नेपाली पत्रकारिता विभिन्न कालखण्डमा भिन्न परिस्थितिको सामना गर्दै अहिलेको अवस्थामा पुगेको छ । २००७ सालपहिले पत्रकारिताको विकास नै हुन सकेको थिएनभन्दा हुन्छ । विसं १९५८ वैशाख २४ गतेबाट गोरखापत्रको प्रकाशन सुरु भए पनि नेपाली पत्रकारितामा विकासका मुद्दा झिनोबाहेक प्राथमिकतामा परेनन् । २००७ सालपछि नेपालमा पत्रकारिता क्षेत्रको विकास हुने वातावरण देखिए पनि २०१७ साल पुस १ गते राजा महेन्द्रले कु गरे । त्यसपछि नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने काम भयो । २०४६ पूर्वको नेपाली पत्रकारिता प्रजातन्त्र प्राप्तिको मिसनमा लाग्यो । २०४६ देखि २०६२/०६३ सम्म तुलनात्मक रूपमा नेपाली पत्रकारिता व्यवसायिक बन्दै गएको भए पनि द्वन्द्व र राजाको प्रत्यक्ष शासनको मारमा प¥यो । अहिले भने परिस्थिति बदलिएको छ । देशले जनताका प्रतिनिधिले बनाएको संविधान पाएको छ । सङ्घीयतामा आधारिता शासकीय स्वरूपको अभ्यास भइरहेको छ । संविधानले अधितम अधिकारको सुनिश्चितता गरेको छ । सबै किसिमका राजनीतिक अधिकार प्राप्ति भइसकेको अवस्थामा अब देशलाई विकासको बाटोमा डो¥याउनु छ । त्यसैले समृद्धिका लागि विकास पत्रकारिता अबको मिसन बनाइनु पर्छ ।