• २१ वैशाख २०८१, शुक्रबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. द इन्टरनेसनल बुकर प्राइज, २०२३ बाट सम्मानित हुने स्रष्टा को हुन् ?

जिओर्जी गोस्पोडिनोभ (बुल्गेरिया) (उपन्यास : टाइमसेल्टर)

पुस्तकलाई एन्जेला रोडेलले अङ्ग्रेजीमा अनुवाद गरेका हुन् । 

बेलायतको म्यान ग्रुपले प्रदान गर्ने यस पुरस्कारको राशि ५० हजार पाउन्ड स्टर्लिङ रहेको छ । 

सन् २००४ जुनमा स्थापित यो पुरस्कार सन् २००५ देखि प्रदान गर्न थालिएको हो । 


२. नेल्सन मन्डेला पुरस्कार, २०२३ कसलाई प्रदान गरियो ?

क्यारोल सेवेल 


३. काठमाडाैँ महानगरपालिकाले कहिलेदेखि सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध गर्ने निर्णय गरेको छ ?

विसं २०८० मङ्सिर २७

महानगरपालिकाले मङ्सिर २७ गतेदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । 

शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय,तालिम तथा जनस्वास्थ्यसम्बन्धी संस्था, सार्वजनिक सवारीसाधन, वृद्धाश्रम, विमानस्थल, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, सार्वजनिक प्रतीक्षालयलगायत स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरिएको छ ।

सार्वजनिक स्थलमा सेवन गरे सय रुपियाँ जरिबाना गरिने छ । 

अटेर गरे पाँच हजारदेखि एक लाख रुपियाँसम्म जरिबाना गर्ने व्यवस्था छ । 


४. जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्सतर्फ कहिले जानुभएको हो ?

विसं २०८० मङ्सिर १३

जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पारेको प्रभावको एजेन्डा लिएर नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ लाग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड मङ्सिर १५ र १६ मा वल्र्ड क्लाइमेट एक्सन समिट अन्तर्गत ‘हाइलेभल सेग्मेन्ट’ मा सहभागी हुनुभएको हो ।

प्रधानमन्त्रीद्वारा सन् २०२३ डिसेम्बर २ मा सम्मेलनलाई सम्बोधन गरिएको हो । 


५. काठमाडौँको बबरमहलस्थित जेब्रा क्रसमा बटुवाले नै बटन थिचेर रातो बत्ती बाल्ने र बाटो काट्ने ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम कहिलेदेखि सञ्चालनमा आएको हो ?

विसं २०८० मङ्सिर ११

जेब्राक्रसको छेउमा रहेको पोलमा बटन राखेर ‘पोलिकन क्रसिङ लाइट’ जडान गरिएको हो । लाइट थिच्दा 

सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसिङपट्टि हरियो बत्ती बल्छ । एक पटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र उक्त समय सकिएको दुई मिनेटसम्म पुनः बटन थिच्दा बत्ती नबल्ने सिस्टम सेट गरिएको छ । 

ट्राफ्रिक व्यवस्थालाई व्यवस्थित बनाउने क्रममा आवश्यकता अनुसार यो समयमा केही फेरबदल पनि हुन सक्छ ।

महनगरले बबरमहलबाहेक ३५ स्थानमा यस प्रकारका लाइट जडानको तयारी गरेको छ । 

यस्तो लाइट यसअघि कालीमाटी चोक, सुन्धारा, भृकुटीमण्डप, सर्वोच्च अदालत र त्रिचन्द्र क्याम्पस अगाडि जडान गरिएको थियो तर मर्मत सम्भार नगर्दा र निरन्तरता नदिँदा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन् । 


६. सरकारले तेस्रो लगानी सम्मेलनको आयोजना कहिले गर्ने भएको छ ?

विसं २०८१ वैशाख ९–१० 

सम्मेलनमा धेरै जनालाई सहभागी गराउनेभन्दा सम्भावित लगानीकर्तालाई समेट्ने योजना रहेको छ ।

सरकारले दुईपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको जनाइएको छ । 


७. विश्व एड्स दिवस कहिले मनाइन्छ ? 

डिसेम्बर १

३६ औँ एड्स दिवस (२०२३) को नारा ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ’ रहेको छ ।

दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । 

नेपालमा सन् २०१० देखि २०२२ सम्ममा नयाँ एचआइभी सङ्क्रमण दर करिब ७७ प्रतिशतले घटेको तथा एड्सबाट हुने मृत्यु ८० प्रतिशतले घटेको देखिएको छ ।

९५–९५–९५ अभियान एचआइभी एड्ससँग सम्बन्धित रहेको छ । 


८. युरोपेली सङ्घ (इयु) ले नेपाललाई कहिलेदखि सुरक्षा सूची (कालो सूची) मा राखेको हो ?

सन् २०१३ डिसेम्बर ५

इयुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विसं २०८० मङ्सिर १३ मा कालोसूचीमा निरन्तरता दिनुको कारणसहितको पत्र पठाएको छ । यससँगै पछिल्लो एक दशकदेखि युरोप उडान गर्न नपाएको नेपाली जहाजको युरोप यात्रा अनिश्चित नै रहेको छ । 

इयुले नेपालमा २०८० भदौ २५ देखि २९ सम्म स्थलगत अवलोकन तथा मूल्याङ्कन गरेको छ । सोही प्रतिवेदन कात्तिक २८ गते ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनका आधारमा नेपालले यस वर्ष पनि कालोसूचीमा निरन्तरता पाएको हो । 

इयुले कालोसूचीबाट हट्न सरकारको प्रतिबद्धता तथा नेपालको हवाई सुरक्षामा प्राप्त उपलब्धिलाई निरन्तरता दिई भविष्यमा अझ बढी परिणाममुखी बनाउन राजनीतिक नेतृत्व एवं सरकारको रचनात्मक भूमिका अपरिहार्य रहेकोसमेत प्रतिवेदनमा औँल्याएको छ । 

९. राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि निर्वाचन कहिले हुने भएको छ ?

विसं २०८० माघ ११

निर्वाचन आयोगको परामर्श अनुसार २०८० मङ्सिर १३ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।

निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक गरी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिने छ । 

पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन हुनुपर्ने भएकाले सरकारले माघ १५ भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान अनुरूप सो मिति तय गरेको हो ।


१०. नेपालको संविधानमा व्यवस्था भएबमोजिम नागरिकताका प्रकार कति छन् ?

चार (वंशज, अङ्गीकृत, गैरआवासीय र सम्मानार्थ)


११. बर्कसायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२४ को भ्रमणका लागि सुरक्षित गन्तव्य सूचीको पहिलो नम्बरमा रहेको राष्ट्र कुन हो ?

क्यानडा 

वर्कसायरले सार्वजनिक गरेको सूचीमा यसअघि पहिलो स्थानमा नेदरल्यान्ड्स थियो ।

प्रतिवेदन अनुसार सुरक्षित गन्तव्यहरू

पहिलो ः क्यानडा, दोस्रो ः स्विट्जरल्यान्ड, तेस्रो ः नर्वे, चौथो ः आयरल्यान्ड, पाचौँ ः नेदरल्यान्ड्स, 

छैटौँ ः बेलायत, सातौँ ः पोर्चुगल, आठौँ ः डेनमार्क, नवौँ ः आइसल्यान्ड, दसौँ ः अस्ट्रेलिया, ११ औँ ः न्युजिल्यान्ड, १२ औँ ः जापान, १३ औँ ः फ्रान्स, १४ औँ ः स्पेन, 

१५ औँ ः ब्राजिल

विश्व पर्यटन सङ्गठनका अनुसार गत वर्ष विश्वभर नौ करोड ६० लाखभन्दा बढीले यात्रा गरेका छन् । 


१२. ‘सबैका लागि शिक्षा’ विषयक विश्व सम्मेलन कहिले र कहाँ भएको थियो ?

सन् १९९०, थाइल्यान्डको जोम्टिन 


१३. नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि भएको हो ?

विसं २०७६ जेठ ६

‘डिजिटल पूर्वाधार समृद्धिको आधार ः हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइबर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको हो ।

अप्टिकल फाइबरमार्फत उच्च गतिको व्यान्डविथ प्रवाह गर्न सकिने छ ।


१४. विसं २०८० मङ्सिरमा सम्पन्न प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

मधेश प्रदेश (उपविजेता : त्रिभुवन आर्मी)

सञ्चालन मिति : विसं २०८० मङ्सिर ७–१६ 

स्थान : पोखरा

आयोजक : मदन भण्डारी स्पोर्ट्स एकेडेमी 

सहभागी टोली : ११ (सात प्रदेश, नेपाल आर्मी, नेपाल पुलिस, एपिएफ र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ।) 

पुरस्कार राशि : प्रथम – पाँच लाख रुपियाँ, द्वितीय – दुई लाख ५० हजार रुपियाँ 


१५. अस्ट्रेलियाले आफ्नो बैङ्क नोटमा बेलायतको नयाँ राजाको तस्बिर नछाप्ने घोषणा कहिले गरेको हो ? 

सन् २०२३ फेब्रुअरी २

अस्ट्रेलियाको केन्द्रीय बैङ्कको यस निर्णयसँगै हालै राजसिंहासनमा रहेका बेलायतका राजा चाल्र्स तृतीयको फोटो नोटमा नछापिने भएको हो । 

चाल्र्स तृतीय संवैधानिक राजतन्त्रात्मक लोकतान्त्रिक मुलुक अस्ट्रेलियाका पनि राष्ट्राध्यक्ष हुन् । सन् १९९९ मा भएको जनमत सङ्ग्रहमा गणतन्त्र झिनो मतले पराजित भएको थियो ।


१६. नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ?

त्रिभुवन राजपथ 


१७. जोन बिट्स क्लार्क अवार्ड, २०२३ कसलाई प्रदान गरियो ?

ग्याब्रियल जुकम्यान 

यो पुरस्कार ४० वर्षभन्दा कम उमेर समूहका युवा वैज्ञानिक तथा अर्थशास्त्रीलाई प्रदान गरिन्छ ।

यसलाई बेबी नोबेल पुरस्कार भनेर पनि चिनिन्छ । 

अमेरिकन इकोनोमिक्स एसोसिएसनद्वारा प्रदान गरिन्छ । 

सन् २०२२ मा ओलेग इत्सखोकी (युनिभर्सिटी अफ क्यालिफोर्निया) लाई प्रदान गरिएको थियो । 


१८. आणविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

सन् २०२१ जनवरी २२

संयुक्त राष्ट्रसङ्घद्वारा यो सन्धि सन् २०१७ मा अनुमोदन गरिएको हो ।

यस सन्धिमा १२० भन्दा बढी मुलुकले समर्थन जनाएका छन् ।

नेपालका तर्फबाट सन् २०१७ मा आणविक हतियारलाई प्रतिबन्ध लगाउने सन्धिउपर समर्थन जनाउँदै हस्ताक्षर भएको छ ।


१९. नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को सदस्य कहिले बनेको हो ?

सन् १९७५ 

विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को स्थापना सन् १९७५ जनवरी २ मा भएको हो ।

यसको प्रधान कार्यालय स्पेनको मेड्रिडमा रहेको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी