काठमाडौँ, मङ्सिर २ गते । जर्मनी र नेदरल्यान्ड्स सन् २०२६ को फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत सोमबार राति भएको खेलमा जर्मनीले स्लोभाकियालाई ६–० गोलले हरायो ।
जितसँगै समूह ‘ए’ मा ६ खेलबाट १५ अङ्क बनाएको जर्मनी शीर्षस्थानमा रह्यो । एकपक्षीय खेलमा घरेलु टोली जर्मनीलाई जिताउन लिरोय सानले दुई तथा निक वोल्टेमेड, सर्ज गिनाब्री, रिडल बाकु र असान ओएड्रागोले एक एक गोल गर्नुभयो ।
यसैगरी युरोपेली छनोटअन्तर्गत समूह ‘जी’ को खेलमा नेदरल्यान्ड्सले लिथुआनियालाई ४–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।
घरेलु टेली नेदरल्यान्ड्सको जितमा तिज्जानी रेइन्डर्स, कोडी गाक्पो, जाभी सिमेन्स र डोनेल मालेनले गोल गर्नुभयो । जितसँगै आठ खेलबाट २० अङ्क बनाएको नेदरल्यान्ड्स समूहको शीर्षस्थानमा रह्यो ।
जर्मनी र नेदरल्यान्ड्स छानिएसँगै युरोपबाट विश्वकप यात्रा तय गर्ने सात टोलीको टुङ्गो लागेको छ । यसअघि युरोपबाट इङ्ल्यान्ड, फ्रान्स, क्रोएसिया, नर्वे र पोर्चुगल छनोट भएका छन् ।
यस्तै अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, आइभोरी कोस्ट, केप भर्डे र सेनेगल छनोट भएका छन् । एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान, कतार, साउदी अरेबिया र इरानले विश्वकपको ढोका खोलिसकेका छन् ।
यस्तै दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्ड छनोट भएका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजक देशको हैसियतमा सोझै विश्वकप खेल्दैछन् ।
सन् २०२६ को जुन ११ देखि १९ तारिखसम्म तीन देशका विभिन्न शहरमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक ४८ देशले प्रतिस्पर्धा गर्दैछन् । एजेन्सी