• २७ पुस २०८१, शनिबार

राजतन्त्रको वकालत गर्नेहरू देशद्रोही हुन् : अध्यक्ष ओली

blog

जनसभामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, मङ्सिर १८ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय व्यवस्थाको विरुद्धमा गएर राजतन्त्रको वकालत गर्नेहरू देशद्रोही भएको बताउनुभएको छ । 

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको पाँचौँ दिन सोमबार सुर्खेतमा गरिएको जनसभामा उहाँले सो कुरा बताउनुभएको हो । प्रतिक्रियावादीहरू गणतन्त्र उल्टाउने प्रयास गरे पनि त्यो सपना कहिल्यै पूरा नहुने उहाँले चर्चा गर्नुभयो । 

‘आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’ अध्यक्ष ओलीले भन्नुभयो, “लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको स्पष्ट हुन्छ ।”  


अर्को प्रसङ्गमा अध्यक्ष ओलीले देश समृद्ध बनाउन एमालेको एकल बहुमतको सरकार अपरिहार्य भएको दोहोर्‍याउनुभएको छ । एमाले सरकारमा छँदा गरिबी घटेको, रोजगारी बढेको र युवाहरू बाहिर जानेक्रम घटेको उहाँले दाबी गर्नुभयो । 

उहाँले महाकाली–मेची अभियानका पाँच दिनमा जनतासँग बुझ्दा गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसकेको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिन्छ, अनि मात्रै देश बनाउन, विकास गर्न, सुशासन ल्याउन सकिन्छ ।’