• २३ वैशाख २०८२, मङ्गलबार

गणतन्त्रमाथि राजावादी र अवसरवादीको आक्रमण : मुख्यमन्त्री पाण्डे

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेपाली काँग्रेस कास्की क्षेत्र नं २ क को क्षेत्रीय सम्मेलनको उद्घाटनमा । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, मङ्सिर १७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गणतन्त्रमाथि राजावादी र अवसरवादीबाट आक्रमण भइरहेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ क को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सो बताउनुभएको हो  ।

नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री पाण्डेले निरंकुश राजतन्त्रको शासन भोग्नेलाई मात्र राजतन्त्र कस्तो थियो भन्ने कुरा थाहा भएको बताउनुभयो । अहिलेको अवस्थामा निशंकुश व्यवस्थाको भोगाइ नभएको केही अवसरवादीहरुले राजतन्त्रको एजेण्डा उठाएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले जनताको छोरा राष्ट्रपति बन्नुहुने नै गणतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै वर्तमान संविधानका बारेमा प्रश्न उठाउनु जरुरी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘संविधानलाई सच्चाउँदै जान सकिएला तर गणतन्त्रको बारेमा सोच्न सकिँदैन । उहाँले थप्नुभयो, नेपाली कांग्रेस हिन्दुवादी पार्टी नै हो तर धर्म निरपेक्षतामा हामीले मात्र बोलेर हुँदैन ।’’

काँग्रेस पार्टी संगठनको बारेमा बोल्नुहुँदै मुख्यमन्त्री पाण्डेले आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै निर्वाचन जित्ने संगठनको रुपमा पाटीलाई अगाडि लैजान निर्देशन समेत दिनुभयो । पार्टीमा सुधार भनेको आफैबाट हुनुपर्ने उहाँले बताउनुभयो । 

सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य गुरु बरालले बलियो काँग्रेस भित्र मात्रै लोकतन्त्र स्थापित भई समृद्ध मुलुक बन्ने भएकाले कांग्रेसलाई बलियो पार्टीका रुपमा अगाडि लैजान सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस नेता देवराज चालिसेले पार्टीले जनता बिच स्थापित हुन पपुलर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीबाट मनग्य अवसर पाएका बाटै गुनासै–गुनासो आउने गरेको बताउँदै आफैबाट हार्दिकताको सुरुवात हुनुपर्नेमा जोड दिनुभयो ।

कास्की सभापति किशोरदत्त बरालले कास्की काँग्रेस महिला संघ र नेविसंघको नियुक्ति विधानसम्मत रहेको उल्लेख गर्दै पार्टीमा गुट र उपगुट नभई पार्टी संगठन बलियो बनाउनतर्फ लाग्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस कास्की क्षेत्र नं २ क को सभापति दिनेश आचार्यको अध्यक्षतामा सम्पन्न सो सम्मेलनमा नगर सभापति सुरेन्द्रमान विजुक्छे, क्षेत्रीय उपसभापति माधव बराल, महासमिति सदस्य नम्रता बराल, नेविसंघका केन्द्रिय सदस्य निर्दोश बिक्रमलगायतले आफ्ना भनाइ राख्नुभएको थियो । सम्मेलनमा पार्टी निकट शुभेच्छुक भातृसंगठन, क्षेत्रीय प्रतिनिधि, कार्यकर्तालगायतको उपस्थिति रहेको थियो ।