• ३ जेठ २०८३, आइतबार

कांग्रेसको आन्तरिक कलह यथावत्

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, जेठ ३ गते । प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा संस्थापन र इतर पक्षबिच आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको छ । पुसका लागि तय भएको १५ औँ महाधिवेशनको तयारी स्वरूप क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य जारी रहँदा संस्थापन पक्षसँग इतर पक्ष सशङ्कित र आक्रामक देखिएको हो । 

सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहित शीर्ष नेताहरू संस्थापन इतरका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला पक्षसँग संवादमा जुटिरहँदा पनि विश्वास कायम हुन सकेको छैन । आफूनिकट समूहको कर्णाली प्रदेशस्तरीय भेलामा नेता खड्काले ‘पार्टी विभाजनको डिलमा’ रहेको दाबी गर्नुभयो । उहाँले पार्टीलाई एकताबद्ध गर्ने जिम्मेवारी नेतृत्वको रहेको बताउनुभयो । 

तर कांग्रेस महामन्त्री गुरुराज घिमिरेले पार्टीको विधान अनुसार विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई स्वीकार गरेर १५ औँ महाधिवेशनमा जुट्नुपर्ने बताउनुभयो । उहाँले पार्टी विभाजनको कुनै कारण नभएको र विधिसम्मत आएको नेतृत्वले संवादमार्फत सबैलाई समेट्ने प्रस्ट पार्नुभयो । उहाँले १९ जना केन्द्रीय सदस्य मनोनयन गर्दा र अन्य समितिमा पनि सबैको प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस नेतृत्वले सबैलाई समेट्नका लागि संवाद गरिरहेको छ । पार्टी कब्जा भयो भन्ने कुरा गलत छ । सबैलाई समेट्न पहल भइरहेको छ । विधि अनुसार अघि बढिरहँदा त्यसलाई स्वीकार गरेर सबै एकीकृत भएर १५ औँ महाधिवेशनको तयारीमा जुुट्नु पर्छ ।”

सभापतिले संवाद गर्नु पर्छ

पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र पूर्वसहमहामन्त्री एवं केन्द्रीय सदस्य जीवन परियारले संवादमार्फत अगाडि बढ्नुपर्ने र १५ औँ महाधिवेशनमा जुट्नुपर्ने बताउनुभयो । नेतृ उपाध्यायले सभापति थापाले सबैसँग संवाद गरेर मिलाएर लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आरोप प्रत्यारोपभन्दा पनि सभापतिले संवाद थाल्नु पर्छ र साझा धारणा बनाउनु पर्छ । घोचपेचभन्दा पनि १५ औँ महाधिवेशनमा निःसर्त जुट्नु पर्छ । तल्लो तहबाटै काम थाल्दा आफ्नो पोजिसन बन्छ । यो झगडा गर्ने समय होइन ।”

नेता परियारले पार्टीलाई एकताबद्ध बनाउनका लागि सभापति थापाले संवाद अगाडि बढाएको र यस कार्यलाई अझै तीव्र बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो साझा लक्ष्य १५ औँ महाधिवेशनलाई सफल बनाउनु हो । हामीले संवाद गरेर आफ्नो दायित्वप्रति जिम्मेवार भएर अगाडि बढ्नु पर्छ ।”