• १२ साउन २०८१, शनिबार

अस्पताल भवन अलपत्र

blog

सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर १६ गते । सर्लाहीको हरिपुर्वा नगरपालिकामा निर्मित १५ श-याको अस्पताल भवन प्रयोगमा नल्याउँदा अलपत्र परेको छ । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको यो अस्पतालको डेढ वर्षअघि निर्माण सम्पन्न भएको थियो । नगरपालिकाका जनप्रतिनिधिबिचको टकरावका कारण हरिपुर्वा नगरपालिका–२ मा निर्माण भएको सुविधासम्पन्न अस्पताल भवन सञ्चालनमा आउन नसकेको स्थानीयवासीले बताएका छन् ।

निर्माण भएको अस्पताल भवन सञ्चालनमा नआउँदा स्थानीय चिन्तित छन् । हरिपुर्वा नगरपालिका–२ का बेचु साहले आफ्नै ठाउँमा अस्पताल निर्माण भए पनि सामान्य बिरामी पर्दासमेत उपचारका लागि मलङ्गवा, जनकपुर वा काठमाडौँ जानुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । अस्पताल सञ्चालनमा जनप्रतिनिधिले चासो नदिएको साहको भनाइ छ । उहाँ भन्नुहुन्छ , “गाउँमै यति ठुलो अस्पताल भवन बनेको छ तर सञ्चालन गर्न जनप्रतिनिधिले चासो देखाएका छैनन् । आमनागरिक सामान्य बिरामी पर्दा पनि टाढा टाढासम्म धाउनुपर्ने बाध्यता छ ।” 

अस्पताल भवन निर्माणका लागि हरिपुर्वा नगरपालिका–२ का विनोद साहले १० कट्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । निर्माण भएको अस्पताल भवन भने अहिले अलपत्र परेपछि जग्गादाता साह पनि चिन्तित हुनुहुन्छ । 

नगरमा निर्माण भएको अस्पताल सञ्चालन नहुँदा स्थानीयले सास्ती खेपिरहेका साहले बताउनुभयो । “गाउँमा धेरैको अकालमा मृत्यु भएको र महिलालाई प्रसूति गराउन जनकपुर वा काठमाडौँ धाउनुपर्ने बाध्यता देखेर गाउँमै अस्पताल निर्माण होस् भनी जग्गा दिएँ,” साहले भन्नुभयो, “तर राजनीतिक विवादले अस्पताल भवन बन्नै १० वर्ष लाग्यो । बनेपछि पनि सञ्चालन हुन सकेको छैन ।” राजनीतिक खिचातानीका कारण अस्पताल यसरी अलपत्र परेको जग्गादाता साहको भनाइ छ ।

अस्पताल निर्माण भएको हरिपुर्वा–२ का वडाध्यक्ष दिनेशराय यादवले अस्पताल सञ्चालन नहुँदा गाउँका गरिब तथा विपन्न परिवारका मानिस महँगो एम्बुलेन्स भाडा तिरेर अन्यत्र जान बाध्य रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ कोही आकस्मिक बिरामी परेर उपचार गर्न एम्बुलेन्समा जनकपुर जानु पर्दा पाँच हजार, काठमाडौँ जाँदा १६ हजार र मलङ्गवा जाँदा तीन हजार रुपियाँ भाडा लाग्छ ।” वडाध्ययक्ष यादवले डाक्टर राखेर यो अस्पताल सञ्चालन गर्न पाए स्थानीयलाई ठुलो राहत मिल्ने र कोही पनि महँगीमा पर्नु नपर्ने बताउनुभयो । 

हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले अस्पताल सञ्चालनका लागि आफूले गत आर्थिक वर्ष २०७९/८० मै एक करोड रुपियाँ बजेट विनियोजन गरे पनि नगरका जनप्रतिनिधिले सो बजेट चलाउन खोज्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलाई दुव्र्यवहार नै गरेको बताउनुभयो । उहाँले चालु आव २०८०/८१ मा नगर सभा नै नभएर बजेट पारित नभएकाले अस्पताल सञ्चालन गर्न नसकिएको स्वीकार गर्नुभयो । 

नगर प्रमुख साहले नगरपालिकामा बजेट सञ्चालन हुनासाथ अस्पताल भवन प्रयोगमा ल्याउने बताउनुभयो । “बजेट चल्नासाथ डाक्टरको व्यवस्थापन गरी अस्पताल सञ्चालन गर्ने उद्देश्य छ,” नगर प्रमुख साहले भन्नुभयो, “प्रमुख प्रशासकीय अधिकृत नभएर नगर सभा गर्न नपाएकै कारण अस्पताल अलपत्र परेको हो ।”