• १२ साउन २०८१, शनिबार

छ वर्षपछि ढिला गरी राहुघाट–तातोपानी सडक खण्डको काम सुरु

blog

राहुघाट–तातोपानी खण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सडक कालोपत्रका लागि बेस राख्दै । तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर १५ गते । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अलपत्र परेको राहुघाट–तातोपानी खण्डको सडक निर्माणको काम छ वर्षपछि ढिला गरी सुरु गरेको छ ।

योजनाको पहिलो प्याकेज १९ किलोमिटर दूरीको उक्त खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रे गर्न शर्मा युनाइटेड जेभीसँग २०७४ जेठमा ठेक्का सम्झौता भएको थियो । मुख्य ठेकेदारले पेटी ठेक्का दिने,भौगोलिक कठिनाइ, प्राकृतिक विपत्ति र कोरोना महामारीका कारण यो खण्डको निर्माण बिचमै अलपत्र परेको थियो ।  

लामो समयसम्म योजना अलपत्र पारेपछि ठेक्का तोड्ने र कालोसूचीमा राख्ने सम्मको चेतावनीपछि ठेकेदार कार्यस्थलमा फर्किएर काम थालेको कालिगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले जानकारी दिनुभयो । यो खण्डमा पहिरोग्रस्त स्थल र कडा पहरा फुटाउनुपर्ने भागमा बाहेक सडक विस्तार,नाली,पर्खाल निर्माण र सब बेस बिछ्याउने काम सकिएकाले कालोपत्रेको तयारी गरिएको उहाँले बताउनुभयो । 

 भौगोलिक रूपमा अफठ्यारो स्थानहरू चमेरे, बैसरी र महभिर बाहेकको सडक कालोपत्रे गर्नका लागि तयारी गरिएको शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सब बेसको काम सम्पन्न भएर करिब ६ किलोमिटरमा बेस राखिसकेका छौँ । मौसमले साथ दियो भने ६ देखि ८ किलोमिटर दूरीसम्मको सडक यस पालीनै कालोपत्रे गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ ।’’  

यो खण्डमा विभिन्न स्थानमा गरेर  ४ किलोमिटर जति पहिरो स्थल भएकाले ग्राभेल गर्ने र महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट  हटाइको छ । बाँकी साढे दुई किलोमिटर साढे एक वर्ष अगाडि नै कालोपत्रे गरिसकिएको छ । 

सहायक ठेकेदार ओमकारेश्वरले राहुघाट पुलदेखि कुनौटोसम्मको सडक अलपत्र पारेको र पटक पटक काम सम्पन्न गर्न ताकेता गरिएको शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले बताउनुभयो । 

यसपालि जसरी पनि निर्माण सम्पन्न गर्ने योजनाका साथ कार्यस्थलमा आएका छौँ, शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले भन्नुभयो, ‘‘योजना सम्पन्न नगरी हामीलाई सुखै छैन । जसरी पनि योजना सम्पन्न गरेर उम्किने हो । दसैँ तिहार र छडका कारण कामको गति सुस्त भए पनि अब निर्माणले गति लिन्छ । मजदुर र उपकरण परिचालन गरेर काम थालेका छौँ । चैत–वैशाखभित्र योजना सम्पन्न गर्दछौँ ।’’ 

ओमकारेश्वरलाई पेटी ठेक्का दिएको राहुघाटदेखि कुनौटेसम्मको ८ किलोमिटर दूरीको खण्डलाई पनि छिटो सक्न पटक पटक ताकेता गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अब हामीसँग पर्खिने समय छैन । ओमकारेश्वरलाई अन्तिम चेतावनी दिएका छौँ । एक हप्ताभित्रमा काम सुरु नगरे पेटी ठेक्का तोडेर आफैँ काम थाल्छौँ ।’’ काम सम्पन्न गरेको स्थान म्याग्दीको रघुगङ्गा गाउँपालिका ३ बैसरी र सिरुवारी क्षेत्रमा ठुलो पहिरो खसेर दुःख दिएकाले यस क्षेत्रको दिगो रोकथामका लागि आयोजनाले सोच्नुपर्ने उहाँको भनाइ छ ।