• १३ साउन २०८१, आइतबार

किरा लागेर सुन्तला झर्न थालेपछि कृषक चिन्तित

blog

राधाकृष्ण डुम्रे

वालिङ मङ्सिर १४ गते । स्याङ्जाका सुन्तला किसान सुन्तलामा किरा लागेर झर्न थालेपछि किसान चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे किरा र पतेरो लागेपछि किसान चिन्तित बनेका हुन् । 

सुन्तला बेचेर राम्रो आम्दानी गर्ने बेलामा औँसे किरा र पतेरोले सुन्तला झरेर बगैँचा भरिएको किसानले बताएका छन् । पतुलीबजारका मुक्ति अधिकारीले असिना र खडेरीबाट जोखिएको सुन्तला विक्री गरेर केही आम्दानी गर्ने आशामा रहेका बेला औँसो किराका कारण सुन्तला खस्न थालेपछि चिन्तित बनाएको बताउनुभयो । 

गत वर्ष राम्रो आम्दानी गरेको भए पनि यसपालि सुन्तला कम फलेको भन्दै अधिकारीले झर्न थालेपछि झनै चिन्ता बढेको बताउनुभयो । पतेरोले उत्पादन लिने बेलामा समेत असर गरेको भन्दै यसअघि साउन र भदौमा विषादी प्रयोग गरेर केही जोगाइएको सुन्तला फेरि खस्न थालेको अर्का कृषक हुमकान्त अधिकारीको भनाइ छ । उनीहरूले सुन्तलाको बिमा गर्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका छन् । 

सुन्तलामा लाग्ने रोग तथा किराको नियन्त्रणका लागि खसेका सुन्तला जम्मा गर्न प्लास्टिक वितरण गरिएको सुन्तला सुपरजोन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सुन्तलामा रोग तथा किराहरू फैलिन नदिन कुहिएको सुन्तला बन्द प्लास्टिकमा जम्मा गर्नुपर्ने हुन्छ । 

औँसा किराले झरेका सुन्तलालाई प्लाष्टिकमा जम्मा गर्ने र नष्ट गर्ने यो प्रक्रियाले किराको चक्र ब्रेक गर्न सकिने भएकाले कृषकलाई प्लाष्टिक वितरण गरिएको सुन्तला सुपरजोनका कार्यालय प्रमुख माधव लम्सालले बताउनुभयो । 

सुन्तला खस्ने समस्याको रूपमा औँसा किराको प्रकोप रहेको भन्दै यसको चक्र ब्रेक गर्न प्लाष्टिकमा झरेका सुन्तला सङ्कलन गरेर नष्ट गर्ने गरिएको लम्सालले बताउनुभयो । चाइनिज फ्रुट प्लाई अर्थात् औँसा किराको चक्र ब्रेक गर्न झरेका सुन्तला प्लाष्टिकमा जम्मा गर्ने र नष्ट गर्नेगरेको उहाँले बताउनुभयो ।

झरेका सुन्तला भुँइमा नष्ट गरियो भने फेरि जमिनमा किराले फुल पार्ने र अर्को सिजनका सुन्तलालाई असर गर्ने प्रमुख लम्सालले बताउनुभयो । औषधि सबैले छरेको भए समस्या नआउने थियो भन्दै सुन्तला कृषक मीनप्रसाद कोइरालाले भन्नुभयो, “अनुदानमा पाएको औषधि पनि नछर्दा कृषकहरू मकार्मा पर्ने अवस्था आयो ।”

जिल्लाभित्र २१ सय हेक्टरमा सुन्तलाको खेती हुँदैआएको छ । स्याङ्जामा गत वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदा १ अर्ब ३८ करोडको कारोबार भएको थियो । यस वर्ष सुन्तला पातलो फलेकाले उत्पादन घट्ने प्रारम्भिक अनुमान गरिएको छ । 

जिल्लामा पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकासहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधिखोला र हरिनास सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् ।