• २१ असार २०८१, शुक्रबार

संस्कृति संरक्षणमा जुट्दै थारु समुदाय

blog

समुदायको नाच र बाजा संरक्षणका लागि मादल बजाउने तालिम लिँंदै थारु युवकयुवती । तस्विर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, मङ्सिर १४ गते । पश्चिम नेपालको बाँके र बर्दियाका थारु समुदायमा प्रचलित विभिन्न नाच र गीत सङ्गीतलगायतका कला संस्कृति लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरु सक्रिय भएका छन् । 

इन्टरनेटको बढ्दो प्रयोग, डिजे र अधुनिक गीत तथा सङ्गीतका कारण थारु समुदायका विभिन्न नाच, बाजा र सङ्गित लोप हुन थालेकोले संरक्षण अभियान सुरु गरिएको जोतपुर बरघर समिति राजापुर ३ बर्दियाका बरघर रघुराम थारुले बताउनुभयो । उहाँले अहिलेका अधिकांश युवाले थारु भाषाका बाजाहरु मादल, डफ, कश्टार र मदिरा बजाउन नजान्ने हुँदा थारु समुदायका विभिन्न नाचहरु हराउन थालेपछि बाजा र नृत्य संरक्षण अभियान सुरु गरिएको बताउनुभयो ।

सो क्रममा जोतपुरका ४० जना युवकयुवतीलाई समुदायको सबैभन्दा महत्वपूर्ण बाजा मादल बजाउने तालिम दिन थालिएको बरघर थारुले बताउनुभयो । थारु समुदायका अगुवा तथा युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले थारु समुदायका बाजाहरु लोप हुन थालेपछि समुदायका प्रमुख नाचहरु हुरदंग, मघौटा, झुम्रा, झुम्री र सखिया नाच नै कम हुन थालेकोले बाजा संरक्षण अभियान सुरु गरिएको बताउनुभयो । 

उहाँले बरघर रघुराम थारु प्रशिक्षक रहनुभएको मादल बजाउने सो तालिममा सहभागिलाई मादल बजाउन सिकाउनुका साथै नाचको पनि प्रशिक्षण दिइने जनाउनुभयो । तालिममा सहभागी जनकराम चौधरीले मादल बजाउन नआएकोले आफ्नो परम्परागत नृत्य नै बिर्सिएकोले मादल बजाउने तालिममा सहभागि भएको बताउनुभयो । सोही प्रकारले अर्का सहभागी रामदुलारी चौधरीले मोबाइल र सिनेमा तथा डिजे को प्रयोगले आफ्नो कला संस्कृति र नृत्यनै हराउन थालेकोले संरक्षणका लागि तालिम लिइरहेको बताउनुभयो । 

तालिमको सहजिकरण गरिरहनुभएका युनिक नेपालका कार्यक्रम अधिकृत डेमनडौराले तालिमका लागि युुनिक नेपालले निशुल्क हल, चिया नाश्ताको प्रबन्ध गरि दिएको बताउनुभयो । यस्तै, बाँकेमा पनि थारु बाजा लोप हुँदै गएकोले मादल, डफ लगायतका बाजा बजाउने तालिम दिने तयारी सुरु गरिएको कोहलपुर मैटहवाका अगुवा दीपेन्द्र चौधरीले बताउनुभयो । उहाँले सहरको रमझम, आधुनिक गीत सङ्गीतको प्रभाव र डिजेको प्रयोगले गर्दा समुदायको कला, संस्कृति र नाचगान लोप हुन थालेकोमा चिन्ता बढ्दै गएको बताउनुभयो ।