• १२ साउन २०८१, शनिबार

‘नमस्ते मेयर एप’ मा ४३० गुनासा

blog

भावना जोशी 

अत्तरिया (कैलाली), मंसिर १३ गते । धनगढी उपमहानगरले ‘नमस्ते मेयर एप’ सञ्चालनमा ल्याएपछि जनगुनासो आउनेक्रम बढेको छ । उपमहानगरले २०८० वैशाख महिनादेखि नगरवासीका गुनासो लिने र सम्बोधन गर्न सुरु गरेको हो ।

प्राप्त गुनासाका सम्बोधन गर्न यस्तो प्रविधियुक्त एप सञ्चालनमा ल्याइएको उपमहानगरको भनाइ छ । धनगढीको विकासमा जनसहभागिता बढाउन, उपमहानगरले गरेका प्रत्येक काममा नगरवासीको ध्यान केन्द्रित गराउन, कमीकमजोरी सच्याउन तथा ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानलाई सार्थक पार्न अनलाइनबाटै गुनासो दर्ता गराउन सकिने दर्ता फारमको समेत व्यवस्था छ । 

नमस्ते मेयर एप अन्तर्गत विभिन्न १० विषयमा गुनासा दर्ता भएका छन् । ध्वनि प्रदर्शनी अन्तर्गत १, वातावरण २१, शिक्षा १५, शिक्षासँग सम्बन्धित १५, सार्वजनिक यातायात चार, खानेपानीसँग सम्बन्धित ९, सार्वजनिक सम्पत्ति १, विद्युत १३ तथा सबैभन्दा बढी सडकसँग सम्बन्धित ४६ गुनासा दर्ता भएका छन् । 

वैशाखदेखि मङ्सिर १२ गतेसम्म नमस्ते मेयरमार्फत कुल चारसय ३० गुनासा दर्ता भएकोमा एकसय ९६ गुनासाको सम्बोधन भएको बताइएको छ । एकसय ६८ गुनासाहरू समाधानको प्रक्रियामा रहेको उपमहानगरपालिकाले जनाएको छ  । उपमहानगरले प्राप्त गुनासाको विश्लेषण गरी अधिकांश गुनासाको तुरुन्तै समाधान गर्ने काम गर्दैआएको जनाएको छ ।