• १२ साउन २०८१, शनिबार

समुदायमा आधारित उत्पादनको मोडेल अपनाइन्छ : मुख्यमन्त्री जम्कट्टेल

blog

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको भवनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, मङ्सिर १३ गते ।
 बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा समुदायमा आधारित उत्पादनको मोडेल अपनाउने बताउनुभएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले सरकारी भवनबाट सेवा सुरुवात गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश सरकारको कृषि क्षेत्रको लगानी व्यक्ति केन्द्रित भएकाले त्यसले कुनै परिणाम दिन नसकेको भन्दै अब समुदायमा आधारित उत्पादनको मोडेलमा अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

“अब एक दुई सयमा होइन, लाख किसानमा जान पर्छ, प्रदेशका ८५ पालिकालाई एक महिनाभित्र पकेट क्षेत्र घोषण गर्दैछौं,” उहाँले भन्नुभयो । प्रदेश सरकार, स्थानीय निकाय, निजी क्षेत्र, सहकारी र किसानको सहभागितामा समुदायमा आधारित कृषि उत्पादन गर्ने जिकिर गर्दै मुख्यमन्त्रीले लगानीको मोडेल र उत्पादन भएको बस्तुको बजारीकरणको जिम्मा समेत प्रदेश सरकारले लिनेगरी काम अगाडि बढाइएको जानकारी दिनुभयो । कृषि क्षेत्रमा नेपालमै पहिलो पटक फरक तरीकारले प्रदेश सरकार जान लागेको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रदेशको उच्च शिक्षाका लागि सार्वजनिक विश्वविद्यालय निर्माण गर्न लागेको जानकारी दिर्नुहुँदै उहाँले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको बताउनुभयो । उहाँले कृषि र प्राविधिक क्षेत्रमा प्रदेश सरकारले विश्वविद्यालय बनाएर अगाडि बढ्ने जिकिर गर्नुभयो । प्रदेश सरकार फरक ढङ्गले अगाडि बढेको बताउनुहुँदै उहाँले अनावश्यक खर्च कटौती, उत्पादनको क्षेत्रमा लगानी र परिणाम आउने क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो ।


त्यस्तै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा (तामाङ) ले रोजगारी सिर्जना गर्न उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उत्पादनमा बागमती प्रदेश कमजोर रहेको बताउँदै लगानीकर्तालाई उत्साह थप्नेगरी उद्योग स्थापना गर्न शान्तिसुरक्षासहितको व्यवस्था मिलाउनुपर्नेमा जोडदिनुभयो । विगतमा प्रदेश सरकारले उद्योग, व्यापार र व्यवसायलाई प्राथमिकतामा राख्न नसकेको स्वीकार गर्दै मन्त्री लामाले अब उच्च प्राथमिकतामा राखेर आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले सेवा प्रवाह चुस्तदुरुस्त गरिने बताउँदै उद्योग र वाणिज्य क्षेत्रलाई वृद्धि विस्तार गरिने जानकारी दिनुभयो । “जनताले महसुस गर्ने खालको काम गर्न सकिरहेको अवस्था छैन, जनतालाई अब हामीले काम गरेर देखाउनुपर्छ,” उहाँले भन्नुभयो । भूमि, सामान्य प्रशासनको नीति बनाउन बाँकी रहेको जिकिर गर्नुहुँदै उहाँले मन्त्रालयको टिममा रहेर काम गर्न कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।