‘कालको ओखती छैन, हुकुमको जवाफ छैन,’ ‘जसको हातमा तरबार उसैको हातमा दरबार’ । यस्ता अनेकौँ राणाकालीन आहान अहिले पनि जनजिब्रोमा छन् । कथित माथिल्लो जातिको पुरुषले कथित ‘पानी नचल्ने’ जातकी महिलालाई ल्याए उसको जात पनि पत्नीकै सरह बनाउने चलन राणाकालीन न्याय व्यवस्थाको एउटा विद्रूप विम्ब थियो, हो ।
विश्व कुइकेलकृत नवीनतम आख्यान ‘गोपीचा’ को मुख्य पात्र गोपीले विजातीय सम्बन्ध बनाएका कारण दोहोरो सजाय भोगेको छ, जातिच्युत अनि कैद पनि । ऊ गोपी जन्मजात च्यामे होइन । दलित कन्या सुनमैचा (सुनकेशरी) सँग प्रेमविवाह गरेको अपराधमा उसलाई बाहुनबाट च्युत मात्र गरिएन ६ वर्ष कैद सजायसमेत ठेकियो ।
गोपीले गणेशमान सिंहको भद्रगोल ‘जेल ब्रेक’ मा सघाउनुको अन्तर्य राणाहरूलाई हटाउन सके मात्र जातीय विभेदको अन्त्य हुने आशा वा जात फर्किने विश्वास नै देखिन्छ । नेता भगाउन पर्खालमा प्वाल बनाएबापत जेलभित्र अत्यधिक यातना पाएर ऊ मारिनुपरेको मार्मिक प्रसङ्ग आख्यानमा छ । झन्डै नौ दशकअघिको मान्न सकिने प्रस्तुत आख्यान राणाकालमा सुरु भएको छ र राणाकालमै सकिएको छ । प्रायः घटना काठमाडौँको नरदेवी, यट्खा, कुश्लेचौर, खुसिबुँ, पशुपतितिरका छन् । भित्री सहरको विष्णुमती फाँट (खुसिबुँ) मा नौ जना बाहुन परिवारको माइलो छोरो गोपी एक डुलुवा हो । विष्णुमतीमा माछा मार्ने, पौडी खेल्ने दिनचर्यामै रमाउँछ ।
१८ वर्षे गोपी शर्मा बाहुनविरोधी बेखामानको सङ्गतमा परेर थः बहीः जात्रामा राँगाको मासु र अय्ला खान्छ । जोगीको सङ्गतमा परेर उसले शिवबुटी पनि खाएको छ । ऊ कति अटेरी छ भने पण्डित पिताले जजमानी सिक् भन्दा मान्दैन । आमाले बिहे गर् भन्दा पनि मान्दैन । बरु बेखामानले भनेको रमाइलो गर् भनेको मान्छ ।
किशोरी सुनमैचासँगको आकर्षणले गोपीलाई पागलप्रेमी बनाएको छ । नाटकीय रूपमा सुनमैचालाई सिन्दुरपोते गरेपछि गोपी घर निकाला हुन्छ । राणाशाहीबाट विसं १९९४ मा ६ वर्षको जेल सजाय पाउँछ । अभक्ष्य वस्तु खाएको, शूद्रसँग विवाह गरेको अभियोगमा उसको कपाल मुडिन्छ, जनै झिकिन्छ, जात काडिन्छ, अंश हरण हुन्छ । बिस वर्षको उमेरमा जेल परेको गोपीचालाई छुट्ने बेलासम्म न आफ्नो परिवारले भेट्यो, न घटुवा भएको परिवारले नै स्विका¥यो । वास्तवमा ऊ न बाहुन भयो, न त च्यामे । जेल ब्रेक प्रकरणपछि प्रेमकैदीकै रूपमा उसको अवसान हुन्छ । यस अर्थमा ‘गोपीचा’ दुःखान्त आख्यान हो ।
इतिहासका थुप्रै लोमहर्षक प्रसङ्ग छन्, ‘गोपीचा’ मा । तर यो सम्पूर्ण रूपमा इतिहास भने होइन । बरु यसलाई इतिहासबोधमा उभिएको सामाजिक आख्यान भन्नु उचित हुन्छ । किनभने इतिहास कुनै कल्पनालोक होइन । प्रशस्त तथ्य र पक्का प्रमाणबिना इतिहासको फूर्ति लगाउन पनि मिल्दैन । इतिहास अकाट्य र प्रामाणिक हुन्छ भने मिथक तर्क र निजी विश्वासमा आधारित हुन्छ ।
वास्तवमा ‘गोपीचा’ ले बीसौँ शताब्दीको आखिरी कालखण्डको जात व्यवस्थाको सामाजिक रूपरेखा झल्काउँछ । गोपी शर्माको जात घटुवा, जेलयात्रा र जेलभित्र चर्पी–नाला सफाइको काम दिनुमा तत्कालीन जात व्यवस्था नै जिम्मेवार छ ।
इतिहासका पृष्ठ पल्टाउँदा गणेशमान सिंह, धर्मरत्न यमी, सिद्धिचरण श्रेष्ठ, पुरुषोत्तमशमशेर जबरा, राजेश गौतम आदिले एकाध अनुच्छेदमा गोपी च्यामेको चर्चा गरेका छन् । इतिहास वा आत्मकथाका पुस्तकको झिनो प्रसङ्ग समातेर सग्लो आख्यानको तानाबाना बुन्नु चानचुने चुनौती होइन । यो विस्मृतिको गर्तमा पुरिएको अनि इतिहासमा छुटेको पात्रलाई आख्यानकलामार्फत अमर बनाउने विशुद्ध सिर्जनशील चेष्टा हो ।
आख्यानका दृष्टिले ‘गोपीचा’ चरित्रप्रधान छ । आख्यानका सम्पूर्ण घटनाक्रम गोपीको चरित्रचित्रण, मनोभाव, सङ्घर्ष आदिमा केन्द्रित छन् । विभिन्न घटना र पात्रलाई द्विककाल (टाइम एन्ड स्पेस) मा बुनिएको छ । सम्पूर्ण उपन्यास पढ्दा सत्य घटना जस्तै लाग्छ । यसमा इतिहास मात्र छैन, प्रेम र मानवीय सम्बन्धको रङ पनि छ ।
‘गोपीचा’ को शक्ति मात्र होइन, सीमा पनि उल्लेखनीय छ । गोपीले अकस्मात् सिन्दुर पोते गरेपछि वा जेल परेपछि सुनमैचाको मानसिक अवस्था के भयो भन्ने बारेमा आख्यानले केही पनि बताउँदैन । गोपीको जेलजीवन चिहाउन सक्नेले सुनमैचाको खुला जीवनबारे सामान्य खैखबर पनि दिन नसक्नुलाई औपन्यासिक विडम्बना नै मान्नु पर्छ । ‘गोपीचा’ मा गोपीबाहेक अरू स्थायी चरित्र छैनन् । अरू पात्र भूमिकाविहीन छन् या कमजोर छन् । एउटा पात्रलाई मात्र पछ्याउँदा अन्यान्य पात्र बिलखबन्दमा परेका छन् । ती पात्रहरू गोपी इतिहासमा छुटे जस्तै निर्ममतापूर्वक छुटेका छन् वा छुटाइएका छन् । कम्तीमा सुनमैचालाई एकाध अध्यायमा समेट्न सकेको भए आख्यान अझै भव्य हुन सक्थ्यो । यसलाई अर्को आख्यान लेख्ने जमर्कोका रूपमा लेखकलाई शङ्काको लाभ दिन नसकिने पनि होइन ।
आख्यानमा साधारणतया नहुने परिशिष्टसमेत राखिएको छ ‘गोपीचा’ मा । यसले अल्छी हुँदै गएका पाठकलाई झनै अल्छी बनाउने सम्भावना हुन्छ । पृष्ठ १८ मा गायत्री मन्त्र नै गडबड छ । लेखकको पक्ष लिने हो भने गोपीको जात काडिएकाले बिगारिएको भन्न पनि सकिएला ।
आख्यानका एकाध समस्यालाई बिर्सने हो भने ‘गोपीचा’ पढ्दा एकखालको सुखद पठन अनुभव हुन्छ । भाषिक मिठास र शिल्प सौन्दर्यले पाठकलाई सुरुदेखि हुरुक्कै पार्छ । ओरालो सकिएर हँसिया आकारमा घुमेको बाटो भेटियो... यस्ता खालको मनोहारी वाक्य थुप्रै छन् । आख्यानको प्रवाह सलल्ल बगेको छ । अन्तिम पानामा नपुगेसम्म पाठक रोकिने अवस्था आउँदैन ।
प्रस्तुत आख्यानमा ९० वर्षअघिको काठमाडौँली परिवेशको चित्रण दुरुस्त लाग्छ । लोक कथानक, परिवेश, लहजा, खानपान, रहनसहनका कारण आख्यान रोचक र रुचिकर बन्न पुगेको छ । पुरानो काठमाडौँको सांस्कृतिक वैभव त यसले देखाउँछ नै, नेवारी भाषाको ज्ञान पनि थोरबहुत हुने छ । यसमा तत्कालीन कालखण्डको राजनीतिक, सामाजिक र कानुनी संरचनाको सटिक आख्यानीकरण भएको छ ।
विश्व कुइकेलले गोपी च्यामे (पोडे) जस्तो भुइँमान्छेलाई नायकत्व दिएर इतिहासले भुल्नै लागेको एउटा पात्रमाथि लेखकीय न्याय गरेका छन् । यो उनको आख्यानकारिताको विशिष्ट प्राप्ति हो । ‘सुगन्धपुर’ कथासङ्ग्रहमार्फत अगाडि बढेको उनको आख्यानयात्रा सफलतातिर मोडिएको छ । समग्रमा ‘गोपीचा’ एउटा पठनीय कृतिमा दरिएको छ ।