मीना कंडेल
कावासोती, मङसिर ८ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सवै विद्यालयका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन थालिएको छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरी १२ वटा माध्यमिक विद्यालयमा फरक–फरक सीपमूलक तालिम सञ्चालन गरेको हो ।
पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सिलाइकटाइ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बर, ब्यूटीसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका शिक्षा अधिकृत माधवराज गौतमले बताउनुभयो । “कक्षा १२ उत्तीर्ण गर्दा विद्यार्थीले केही न केही व्यावसायिक सीप सिकेर निस्किउन् भन्ने नीतिका साथ नयाँ कार्यक्रम लागू गरिएको हो” उहाँले भन्नुभयो ।
पढ्दै कमाउँदै कार्यक्रमले विद्यालयमा विद्यार्थी टिकाउ दर बढेको नेपाल शान्ति मावि हुप्सेकोट –३ बेलाहानीका प्रधानाध्यापक सूर्य भण्डारीले बताउनुभयो । “हाम्रो विद्यालयका कक्षा ९ का ४० र कक्षा ११ का ३० विद्यार्थी प्लम्बिङ तालिममा सहभागी भएका छन” उहाँले भन्नुभयो, “यही तालिमले गर्दा बीचमा पढाइ छाड्ने संख्या यो वर्ष छैन ।” आर्थिक रूपले विपन्न समुदायका विद्यार्थीलाई यस्तो तालिमले धेरै सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
यस्तै, विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गतको सिलाइ कटाइ तालिममा सूर्यज्योति मावि कक्षा ९ मा अध्ययनरत ४३ विद्यार्थी सहभागी भइ पढाइसँगसँगै सीप पनि सिकिरहेका छन् । कक्षाका छात्र–छात्रा सबै जना सिलाइकटाई तालिममा सहभागी हुनेगरेका छन् ।
क्याट्रिना तामाङले पनि विद्यालयमा नै दैनिक सिलाइकटाइ तालिम लिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा पढाइ मात्र हुनेगरेको थियो तर यो वर्षदेखि सिलाइकटाइ तालिम पनि सुरु भएको छ, हामीलाई धेरै प्रभावकारी भइरहेको छ ।” आफुले सिकेको सीपबाट घरमा नै बसेर पनि आम्दानी गर्न सकिने भएकाले राम्रो भएको तामाङले बताउनुभयो ।
चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका संस्थागत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । हुप्सेकोट गाउँपालिकाको शिक्षामा मात्रै २० करोड नौ लाख ५४ हजार विनियोजन गरेको छ ।
विद्यार्थीलाई एकसय ८० घण्टे सीपमूलक तालिम र प्राविधिक तालिमकै लागि पालिकाले १२ विद्यालयलाई ६२ हजार पाँचसयका दरले सात लाख ५० हजार बजेट विनियोजन गरेको छ । यो वर्ष चारसय ५० विद्यार्थीले तालिम लिइरहेका छन् ।