• १३ साउन २०८१, आइतबार

भोजपुर सदरमुकाममा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण

blog

गोकुल भुजेल

भोजपुर, मङ्सिर ६ गते । भोजपुर नगरपालिका–७ कोदारमा जिल्लाकै बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण सम्पन्न भएको छ । रङ्गशालाका लागी आवश्यक संरचनाहरु ग्राउन्ड फिलिङ, प्यारापिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय भवन, क्यान्टिन भवन, शौचालय निर्माण सम्पन्नसँगै रङ्गशालाको निर्माण कार्य सम्पन्न भएको हो । 

रङ्गशाला निर्माणका लागी शहरी विकास कार्यालय धनकुटामार्फत रायमाझी मार्सेली जेभीले करिब १४ करोड पाँच लाख २६ रुपियाँ लागतमा २०८० जेठ १८ गते निमार्ण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार काम सम्पन्न भएसँगै ठेकेदार पक्षले जिल्ला समन्वय समिति भोजपुरलाई रङ्गशालाको चाबी हस्तान्तरण गरेको छ । करिब २७ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशालाको दक्षिणतर्फ ८० मिटरको चौडाइ, उत्तरतर्फ ५५ मिटरको चौडाइ, पूर्वतर्फ एक सय दुई मिटरको लम्बाइ र पश्चिमतर्फ एक सय पाँच मिटरको लम्बाइ छ । 

रङ्गशालाको चाबी लिएसँगै रङ्गशालालाई दीर्घकालीन सञ्चालन तथा संरक्षण गर्न रणनीतिक कार्ययोजना बनाउन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका सभापति कमल थुलुङले बताउनुभयो । रङ्गशाला निर्माणसँगै भोजपुरले खेल क्षेत्रमा उत्कृष्ट प्रदर्शन तथा खेलाडी उत्पादनमा टेवा पुग्ने  प्रमुख थुलुङ जानकारी दिनुभयो ।

यता, भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले रङ्गशालाको पूर्णतासगैँ भोजपुरको खेल क्षेत्रमा एउटा आयाम थपिएको बताउनुभयो । उहाले भन्नुभयो,“जिल्लामा खेल क्षेत्रको विकासका  लागि भोजपुर रङ्गशाला कोसेढुङ्गा सावित हुनेछ । जिल्लामा भएका खेलाडीहरुको प्रोत्साहन तथा उत्साहका लागि नगरले साना तथा ठुला खेल मैदान निर्माण गरेको छ तर बार्षीक रुपमा नगरले सञ्चालन गर्दै आएको आमन्त्रित मेयर गोल्डकप प्रतियोगिता सञ्चालन गर्न लगायत अन्य ठुला खेलकुद प्रतियोगिता सञ्चालन गर्न थप सहज हुने  मेयर आलेले बताउनुभयो ।”

यता, भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जयबहादुर तामाङले रङ्गशाला निर्माणसँगै खेलकुद क्षेत्रको विकास, वडास्तरमा आर्थिक तथा भौतिक संरचनाको विकास हुने बताउनुभयो । त्यस्तै जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविी सुवालले पूर्वी पहाडी जिल्लामै उत्कृष्ट अर्थात् ११ साइजको खेलमैदान (रंगशाला) निर्माण भएसँगै खेलाडी तथा आयोजकहरुलाई खेलकुदका कार्यक्रम सञ्चालन गर्न सहज हुने बताउनुभयो । साथै उहाँले रङ्गशालालाई दीर्घकालीन रुपमा सञ्चालन, संरक्षण र संवर्धन गर्न सरोकारवालाहरुले विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । 

भोजपुरले ब्याटमिन्टनमा एकै परिवारका नङशला देवी, रत्नजित र सरादेवी तामाङसहित विकास श्रेष्ठ, विवेक श्रेष्ठ र नवीन श्रेष्ठ, म्याराथुनमा मिरा राई, कराँतेका मोहनकुमार राई, भलिबलका जोसन श्रेष्ठ, दुर्जकुमार राई, उसुका सर्मिला राईलगायत थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भएका छन् । खेल क्षेत्रमा गर्विलाे इतिहास बोकेको भोजपुरले विगत लामो समयदेखि गुणस्तरीय कबर्डहल, रङ्गशाला तथा खेलमैदान नहुँदा जिल्लाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु पलायन हुनुपर्ने अवस्था थियो । भोजपुर रङ्गशाला निर्माण भएसँगै आगामी दिनमा यस्ता समस्या नहुने खेलाडी तथा खेलकुदप्रेमीको अपेक्षा छ ।