• २१ असार २०८१, शुक्रबार

शान्ति, अहिंसा र सदाचारका लागि सामूहिक मौन ब्रत

blog

आगेजुङ गुम्बामा आयोजित मौन व्रतमा सहभागी बौद्व धर्मका अनुयायीहरु । तस्बिर : राधा लुइँटेल

राधा लुइँटेल

फिदिम, मङ्सिर ५ गते । अशान्ति र हिंसाविरुद्ध सन्देश दिन तथा शान्ति सदाचार र प्राणीजगतको रक्षार्थ प्रार्थना गर्दै नेपाल–भारतका विभिन्न स्थानबाट आएका बौद्व धर्मावलम्बीले पाँचथरको फालेलुङ गाउँपालिका –१ मा अवस्थित आगेजुङ गुम्बामा मौन व्रत सुरु गरेका छन् ।

व्रतका लागि पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु र लुम्बिनी हुँदै भारतको पश्चिम बङ्गाल, सिक्किम र दार्जिलिङसम्मका लामा गुरु, भिक्षु र बौद्धमार्गी मङ्सिर ३ गते आगेजुङ गुम्बा आइपुगेका छन् ।

उनीहरुले व्रतको औपचारिक सुरुवात मङ्सिर ४ गते गरेका हुन् । तीन दिनसम्म निरन्तर मौन व्रत लिएर व्यक्तिगत र परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामनासँगै चराचर जगतका प्राणीको उद्धार र रक्षाका लागि प्रार्थना गरिरहेको आगुजुङ गुम्बा सञ्चालक समितिका अध्यक्ष लामा तेन्जिङले जानकारी दिनुभयो ।

यसरी निराहार व्रत बस्दा मानव जातिले दैनिक कार्य गर्दा जान अन्जान हत्या भएका जीवात्मासँग क्षमा माग्न साथै उनीहरुको आत्मा मोक्षका लागि प्रार्थना पनि गरिने तेन्जिङको भनाइ छ । 

गुम्बामा प्रत्येक वर्षको कात्तिक शुक्ल पूर्णिमाको छेक पारेर मौन व्रत बस्दै बौद्ध धर्म संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । यसरी बसिने व्रतलाई ज्युङने मौन व्रत र सांस्कृतिक कार्यक्रमलाई फुर्डुप छ्याम भनिन्छ ।

जिल्लाको फालेलुङ गाउँपालिकामा पर्ने यो गुम्बामा २०५८ सम्म बौद्ध धर्म दर्शन र त्रिपिटक पढाइ हुन्थ्यो । द्वन्द्वकालपछि भने पठनपाठन प्रभावित भएको गुम्बाका अध्यक्ष लामा तेन्जिङ शेर्पाले बताउनुभयो ।