• ९ मंसिर २०८१, आइतबार

कस्तो हुनु पर्छ त्रिविको कप्तान

blog

नेपालको सबैभन्दा पुरानो र विद्यार्थी सङ्ख्याको हिसाबले विश्वमा नै ठुला विश्वविद्यालयमध्येको त्रिभुवन विश्वविद्यालय अहिले नयाँ उपकुलपति चयनको प्रक्रियामा छ । उपकुलपति प्रतिष्ठित पद हो । यो पदले विशाल शैक्षिक जहाजको कप्तानका रूपमा महत्वपूर्ण भूमिका र जिम्मेवारी बहन गर्ने छ । विश्वविद्यालयको समग्र निर्णय प्रक्रियामा उपकुलपतिको महत्वपूर्ण भूमिका हुन्छ । यसले त्रिविमा मात्र नभएर नेपालभर उच्च शिक्षाको स्वरूप कस्तो बनाउने भन्ने विषयलाई प्रभाव पार्छ । अहिले उपकुलपति पदका लागि धेरै उम्मेदवार प्रतिस्पर्धामा रहेकाले सबैको मनमा प्रश्न उठेको छ– त्रिभुवन विश्वविद्यालयको अबको उपकुलपतिको जिम्मेवारी कसले प्राप्त गर्छ ?

त्रिविको नेतृत्व संरचना

त्रिविको नेतृत्व संरचना त्रिभुवन विश्वविद्यालय ऐन २०४९ द्वारा निर्देशित छ, जसले विश्वविद्यालयभित्रका विभिन्न पदको भूमिका र जिम्मेवारीलाई रूपरेखा दिन्छ । यस ऐनले उपकुलपतिको छनोटमा निष्ठा, दक्षता र नैतिक अभ्यासको महìवलाई पनि जोड दिएको पाइन्छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन नियम २०५० बमोजिम नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठुलो विश्वविद्यालयको उपकुलपति कार्यकारी तहको सबैभन्दा उच्च स्थानमा रहेको छ । विश्वविद्यालयको उच्च नेतृत्वले देशको शिक्षाको भविष्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्छ । विश्वविद्यालय र यसमा अध्ययनरत विद्यार्थीमा उपकुलपतिको ठुलो जिम्मेवारी र प्रभाव हुन्छ । अल्पकालीन र दीर्घकालीन नीति लागु गर्ने, परिमार्जन गर्ने र नयाँ नीति नियम निर्माण गर्ने तथा महत्वपूर्ण निर्णय लिने र विश्वविद्यालयको समग्र कार्यको निरीक्षण गर्ने जिम्मेवारी उपकुलपतिको रहन्छ । विश्वविद्यालयले शिक्षाको उच्च गुणस्तर कायम राख्न, प्राज्ञिक उत्कृष्टतालाई बढावा दिन र अनुकूल सिकाइ वातावरणलाई कसरी स्थापित गर्ने भन्ने विषय सुनिश्चित गर्नु उपकुलपतिको जिम्मेवारी हो । त्रिविको नेतृत्व संरचनाले नेपालको शिक्षा प्रणालीमा सकारात्मक परिवर्तन र सुधार ल्याउन सक्ने क्षमता र जिम्मेवारी छ । विश्वविद्यलायको नेतृत्वले विद्यमान प्रणालीको पुनर्संरचना र विश्वव्यापी उत्कृष्ट अभ्यास लागु गरेर विश्वविद्यालयको वृद्धि र विकासका लागि थप अवसर सिर्जना गर्न सक्छ । 

उपकुलपति छनोट गर्दा उम्मेदवारको योग्यता र अनुभव मात्र नभई नैतिक अभ्यास र विश्वविद्यालयको सर्वोत्कृष्ट हितप्रतिको प्रतिबद्धता र नेपालका ७७ जिल्लामा रहेका एक हजारभन्दा बढी क्याम्पसमा अध्ययनरत पाँच लाखभन्दा बढी विद्यार्थीको हित र उनीहरूको भविष्यलाई पनि ख्याल गर्नु पर्छ । विगतमा छनोट प्रव्रिmयामा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले छनोट प्रक्रियाको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठ्दै आएको छ । तसर्थ, यस पटक विश्वविद्यालयले यी चिन्ता सम्बोधन गर्न र छनोट प्रक्रिया निष्पक्ष र निष्पक्ष भएको सुनिश्चित गर्न कदम चाल्नु आजको चुनौती हो । तथापि यसलाई अवसरका रूपमा लिन सकिन्छ ।

त्रिविमा उपकुलपतिको भूमिका र प्रभाव

त्रिविमा उपकुलपतिको भूमिका महत्वपूर्ण छ, किनकि उसले विश्वविद्यालयको मात्र नभई नेपालको शिक्षाको भविष्यलाई आकार दिन र विद्यार्थीको सिकाइमा समेत प्रभाव पार्ने गरी भूमिका निर्वाह गर्नु पर्छ । नीति कार्यान्वयन गर्ने, महत्वपूर्ण निर्णय लिने र विश्वविद्यालयको समग्र कार्यको निरीक्षण गर्ने जिम्मेवारी उपकुलपतिको हुन्छ । यसले शिक्षाको उच्च गुणस्तर कायम राख्न, शैक्षिक उत्कृष्टता प्रवर्धन गर्न, र विद्यार्थीका लागि अनुकूल सिकाइ वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका उपकुलपतिको काँधमा आएको हुन्छ । उपकुलपतिको निर्णयको प्रभाव दूरगामी हुन सक्छ । शिक्षाको गुणस्तर र समग्र विद्यार्थी सिकाइमा सकारात्मक प्रभाव पार्ने नयाँ रणनीति लागु गर्ने र एवं समयानुकूल सुधार लागु गर्ने शक्ति उपकुलपतिमा निहित हुन्छ । 

उपकुलपति छनोटका आधार

धेरै उम्मेदवार प्रतिस्पर्धाले गर्ने भएकाले निःसन्देह त्रिविको उपकुलपति जस्तो प्रतिष्ठित पदमा रहने व्यक्तिको छनोट आफैँमा एउटा जटिल कार्य हो । अहिलेसम्म सम्भावित उम्मेदवारको नाम खुल्न नसकेको भए पनि आगामी उपकुलपतिको नेतृत्व कसले गर्ने भन्नेमा धेरै अड्कलबाजी र जिज्ञासा भने व्याप्त छ । उपकुलपति चयन त्रिवि र र यसका पाँच लाख विद्यार्थीको भविष्यलाई आकार दिने महत्वपूर्ण निर्णय हो । यो भूमिकाका लागि सम्भावित उम्मेदवारको मूल्याङ्कन गर्दा तिनीहरूको योग्यता, क्षमता, अनुभव, विगतको कार्यशैली र विश्वविद्यालयप्रतिको समग्र बुझाई र विहङ्गम दृष्टि, अल्पकालीन तथा दीर्घकालीन रणनीतिक योजना आदि सबै आधारलाई विचार गर्नु पर्छ । यसबाहेक विगतका छनोटका अभ्यास र चयनका सिद्धान्त एवं त्यसमा भएका कमीकमजोरीबाट पनि छनोटलाई व्यवस्थित र पारदर्शी बनाउन सकिन्छ । विश्वविद्यालयको नेतृत्वमा विश्वव्यापी अभ्यास हेर्दा उपकुलपति पदलाई निकै महत्व दिएर कसरी उपयुक्त व्यक्ति छनोट गर्न सकिन्छ भनेर उपकुलपतिको पद खाली हुनुअगावै प्रक्रिया सुरु गरेको पाइन्छ । नेपालमा कहिलेकाहीँ पद खाली भएको महिनौँसम्म पनि काम चलाउको व्यवस्था गरिएको पाइन्छ । अर्कातिर स्वयम् प्रधानमन्त्री त्रिविको कुलपति हुने भएको हुनाले राजनीतिक शक्ति सन्तुलनको दबाबले गर्दा उपकुलपति छनोट प्रक्रियामा थप जटिलता थपिनु स्वाभाविक हो ।

उपकुलपति चयन प्रक्रिया 

त्रिविको आगामी उपकुलपति चयन गर्नु चानेचुने काम चाहिँ होइन । विश्वविद्यालय जस्तो संस्थालाई अगाडि बढाउन सबैभन्दा योग्य उम्मेदवार छनोट गरिएको छ भनी सुनिश्चित गर्न पारदर्शी तथा विश्वसनीय विधि अवलम्बन गर्नु अपरिहार्य हुन्छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन नियम २०५० बमोजिम परिच्छेद ४५ दफा १५१–१ मा उपकुलपति छनोट प्रक्रिया उल्लेख गरिएको छ । सोबमोजिम उपकुलपति नियुक्तिका लागि कुलपतिले सहकुलपति एवं शिक्षामन्त्रीको अध्यक्षतामा त्रिवि सभाका दुई जना सदस्य रहने छनोट समिति गठन गर्ने उल्लेख छ । यस छनोट प्रक्रियाको एउटा अनौठो पक्ष भनेको त्रिवि कुलपतिका रूपमा काम गर्ने प्रधानमन्त्रीको संलग्नता हो । जसले छनोट प्रक्रियामा जटिलताको तह थप्छ भन्ने गरिन्छ । यो समितिले उनीहरूको योग्यता र अनुभवको आधारमा सम्भावित उम्मेदवारको सर्ट लिस्ट गर्छ । भावी उपकुलपति चयनका लागि सोहीबमोजिम छनोट समिति गठन भइसकेको अवस्थामा सो समितिले पक्कै पनि त्रिविका लागि योग्य, सक्षम एवं चार वर्षको कार्यकाल र दीर्घकालीन रणनीतिक योजनाका आधारमा निर्दिष्ट लक्ष्य प्राप्त गर्न सकिने सङ्केतका आधारमा उक्त पदका लागि उम्मेदवारको उपयुक्तता मूल्याङ्कन गर्नु पर्छ । अन्तर्वार्ता र मूल्याङ्कन पनि गर्नु पर्छ । समितिले उनीहरूको नेतृत्व कौशल, शैक्षिक उपलब्धि र नैतिक अभ्यासहरूप्रति प्रतिबद्धता जस्ता विभिन्न पक्षको मूल्याङ्कन गर्नु पर्छ । मूल्याङ्कनपछि, समितिले कुलपतिलाई आफ्नो सिफारिस प्रस्तुत गर्दछ, जसले अन्ततः भावी उपकुलपति चयन गर्नेबारे अन्तिम निर्णय गर्दछ । त्रिवि र यसका विद्यार्थीको सर्वोत्कृष्ट हितलाई ध्यानमा राखेर यो प्रक्रिया सावधानी र लगनशीलताका साथ सञ्चालन गर्नु महìवपूर्ण छ । उपकुलपतिको सही छनोटले त्रिविको भविष्य निर्धारण गर्ने छ । 

उपकुलपति चयनमा सम्भावित चुनौती

त्रिविको आगामी उपकुलपति छनोट गर्नु कुनै सजिलो काम होइन, र यसमा यथेष्ठ सम्भावित चुनौती आइपर्ने सम्भावनालाई नकार्न सकिँदैन । विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्रीको संलग्नता यसमा रहने भएकोले छनोट कार्य झन् चुनौतीपूर्ण देखिन्छ । हाल देशमा गठबन्धन सरकार भएको हुनाले प्रधानमन्त्रीलाई भिन्न–भिन्न राजनीतिक पार्टीबाट दबाब आउने त छँदै छ, आफ्नै पार्टीमा पनि विभिन्न दबाब नआउलान भन्न सकिन्न । यसरी छनोट प्रक्रिया राजनीतिक कारक र विचारद्वारा प्रभावित हुन सक्छ, जसले निर्णय प्रक्रियाको निष्पक्षता र निष्पक्षतालाई असर गर्न सक्छ ।

अर्कातिर सम्भावित उम्मेदवारलाई सर्टलिस्ट गर्ने र मूल्याङ्कन गर्ने जिम्मा दिइएको छनोट समितिले पारदर्शिता र वस्तुनिष्ठता सुनिश्चित गर्न चुनौती सामना गर्नुपर्ने हुन्छ । त्यहाँ पक्षपात, नातावाद, वा पूर्वाग्रहका अन्य रूप प्रकट हुन सक्छन्, जसले चयन प्रक्रियाको अखण्डतालाई कमजोर पार्न सक्छ । यसबाहेक, विश्वविद्यालयमा प्रभावकारी रूपमा नेतृत्व र सकारात्मक परिवर्तन ल्याउन सक्ने उपकुलपति छनोट गर्नु चुनौतीपूर्ण छ । आदर्श उम्मेदवारसँग आवश्यक योग्यता र अनुभव मात्र नभएर संस्थालाई अगाडि बढाउनको लागि दूरदृष्टि र नेतृत्व क्षमता पनि हुनु पर्छ । त्रिविको सन्दर्भमा त समस्यालाई पहिचान गर्न तेस्रो नेत्र प्रयोग गर्न सक्ने अक्कल र क्षमता भएको ट्याक्टफूल नेतृत्वको खाँचो छ । यी सबै मापदण्ड पूरा गर्ने र सबै सरोकारवालाको समर्थन भएको व्यक्ति पत्ता लगाउन सावधानीपूर्वक विचार विमर्श र सहमति निर्माणमा यथेष्ठ बहस हुन जरुरी छ ।

  

Author

प्राडा ताराप्रसाद भुसाल