काठमाडौँ, मङ्सिर ४ गते । उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइएको थियो ।
काठमाडौं उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहना पोखरी, नाग पोखरी, शङ्खमुल, कुपण्डोल, बोजे पोखरी, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदी किनार लगायतका स्थानहरूमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।