• २ जेठ २०८२, शुक्रबार

हुलाकी सडक निर्माणमा पहल गर्ने सांसदको प्रतिवद्धता

blog

हुलाकी सडकको स्थलगत अनुगमन गर्दै सांसद शर्मा । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर ३ गते । बाँकेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नु हुने नेकपा (एमाले) का सांसद दीपा शर्माले बाँकेमा निर्माणाधीन हुलाकी सडकको स्थलगत अनुगमन गर्नु भएको छ । 

सांसद शर्माले नेपालगन्जको पुष्पलाल चोकबाट पूर्व राप्ती पुल हुँदै फत्तेपुर कुण्डादेखि बैजापुरको नारायणपुरसम्म र पश्चिमतर्फ नन्दनी मिलदेखि मानखोलासम्म निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडकको स्थलगत अनुगमन गर्नुभएको हो । 

उहाँले अनुगमन गरेर सडकको निर्माण कार्यको प्रगति र निर्माणमा कुनै समस्या भए सोको बारेमा सम्बन्धित सरोकारवालासँग जानकारी लिनुभयो । हुलाकी सडकको स्थलगत अनुगमनपछि सांसद शर्माले सडक निर्माणका बारेमा देखिएका समस्या र चुनौतीहरु समाधानका लागि संसदलगायत सम्बन्धित मन्त्रालयमा पनि कुरा राखेर समाधान गर्न लगाउने बताउनुभयो । 

नेपालगन्जबाट पूर्वतर्फको हुलाकी सडकको निर्माणमा भइरहेको ढिलाइका बारेमा विशेष चासो राखिएको र कारणबारे जानकारी माग गरिएको सांसद शर्माको भनाइ छ । सो अवसरमा सडकको अवस्थाबारे जानकारी गराउँदै हुलाकी सडक आयोजना नेपालगन्जका प्रमुख लिला भण्डारीले हुलाकी सडकमा पूर्व र पश्चिम दुबैतर्फ काम तीव्र गतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको माग बमोजिम भुक्तानीमा समस्या रहेको, मुआब्जाको समस्या र विद्युत पोलको चुनौती रहेको बताउनुभयो ।  

भण्डारीले समस्या समाधान भएपछि सडक निर्माणमा धेरै समय नलाग्ने पनि बताउनुभयो । नेपालगन्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तार गर्न ज्ञानिश शारदा जेभिले १२ करोड रुपियाँमा विस्तारको काम गरिरहेको छ ।

फत्तेपुरको कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर हुलाकी सडकको कालोपत्रे काम एपिक्स कन्काई खड्का जेभिले ७६ करोडको लागतमा गरिरहेको र नेपालगन्ज गुलरिया सडकखण्डको २८ किलोमिटरमध्ये ११ दशमलव ६ किलोमिटर फोर लेन र बाँकी दुई लेनको काम २ अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले तीव्र गतिमा गरिरहेको हुलाकी सडक आयोजना नेपालगन्जका इन्जिनियर कृष्ण पाण्डेले बताउनुभयो ।