• २१ असार २०८१, शुक्रबार

व्रतालुद्वारा अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

blog

ब्रतालुले सूर्य देवतालाई अर्घ दिइ छठ मनाउनुहुँदै । तस्विर : दिपकप्रसाद गौतम

दिपकप्रसाद गौतम 

वीरगञ्ज, मंसिर ३ गते । श्रद्धा, भक्ति र शुद्धताको प्रतीकको रुममा मानिने तराई मधेसको महत्त्वपूर्ण पर्व आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठी माताको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइएको छ ।

छठ पर्वको मुख्य दिन आइतबार षष्ठी तिथिको दिन सँझिया घाटे भनिन्छ यस दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठी माताको पूजा आराधना गरी आइतबार छठपर्व मनाइएको हो । 

आइतबार व्रतालुहरू दिउँसोको समय नुहाइ धुवाइ गरी नयाँ चोखो वस्त्र पहिरिएर छठ पूजाका लागि नदी, पोखरी, तलाउ इत्यादि जलाशयमा तयार पारिएका छठ घाटमा गई श्रद्धापूर्वक पूजा आराधना गरी साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

वीरगञ्जको घडिअर्वा पोखरी, नगवा पोखरी, मूर्ली पोखरी, स्वीमिङ पुल परिसर, सिर्सिया खोलाको राधेमाई, रानीघाट, छपकैया क्षेत्रमा बनाइएका छठघाटहरु पण्डाल, बिजुली बत्ती, टेन्ट एवम् झिलिमिली बत्तीले निकै राम्ररी दुलहीजस्तै सजाइएका छन् ।  

व्रतालुले जलाशयमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अक्षता, पातसहितको मूलालगायतका फलफूल र प्रसाद राखेर अर्घ दिने परम्परा छ । 

अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालुहरू छठी माताको पारम्परिक गीत गाउँदै आफ्नो घर फर्किन्छन् । षष्ठीको भोलि पल्ट सप्तमी तिथिका दिन अर्थात् सोमबार बिहान झिसमिसेमै व्रतालुहरू फेरि नुहाइ धुवाइ गरी चोखो भई पूजन सामग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठघाटमा पुगी उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ । 

कात्तिक शुक्ल पक्षको चौँथी तीथिदेखि विधिवत् रूपमा सुरु हुने छठपूजा सप्तमी तिथिसम्म चार दिन मनाइने गरिन्छ । यस वर्ष शुक्रवारदेखि विधिवत् रूपमा सुरु भएको छठपूजाको दोस्रो दिन पञ्चमी तिथि अर्थात् शनिबारका दिनदेखि व्रतालुले निर्जला व्रत सुरु गरेका थिए । 

पर्सामा यस वर्ष वीरगन्ज महानगरपालिका भित्रका ७२ सहित २५७ वटा छठघाट रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्लामा रहेका छठघाट क्षेत्रको सुरक्षाका लागि ७०० भन्दा बढी नेपाल प्रहरी र ५०० सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।