तम्घास समाचारदाता
तम्घास, मङ्सिर १ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीमा आठ हजार ७४ वटा राष्ट्रिय परिचयपत्र बनेर आए पनि एक हजार २८ जनाले मात्रै परिचयपत्र लिएका छन् । घुम्ती टोलीमार्फत र प्रशासन कार्यालय गुल्मीमा परिचयपत्रका लागि हालसम्म विवरण दर्ता गराएकाको सङ्ख्या एक लाख ८३ हजार ८७७ जना रहेको प्रशासनले जनाएको छ । घुम्ती टोलीमार्फत एक लाख २९ हजार ३५९ जना र प्रशासनबाट ५४ हजार ५१८ जनाको विवरण दर्ता भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले घुम्ती टोलीमार्फत विवरण दर्ता गराएकाको परिचयपत्र बनेर नआएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएकामध्ये आठ हजार ७४ परिचयपत्र बनेर आएको गैरेले बताउनुभयो ।
परिचयपत्र बनेर आएको र लिन आउनुहोस् भन्ने म्यासेज सम्बन्धित व्यक्तिको मोबाइल नम्बरमा गए पनि लिन आउनेको सङ्ख्या भने न्यून रहेको उहाँको भनाइ छ । विवरण दर्ता गर्दा राखिएको मोबाइल नम्बरमा म्यासेज गएको भए पनि यसको महत्व नबुझेर लिन नआएको हुन सक्ने गैरेले बताउनुभयो ।
कतिपयको तत्कालीन समयमा दिइएको मोबाइल नम्बर नभएको, सम्बन्धित व्यक्तिको मृत्यु भएको, देशबाहिर रहेको र म्यासेज नहेरेका कारणले पनि समस्या भएको हुन सक्ने गैरेको भनाइ छ । परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति नै आउनुपर्ने र फिङ्गर प्रिन्ट दिनुपर्ने भएकाले एकै घरका भए पनि अरू कसैलाई दिन नमिल्ने प्रशासनले जनाएको छ । विसं २०७६ असार ३२ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यव्रmम शुभारम्भ गर्नुभएको थियो । ज्ञवालीले विवरण दर्ता गरेर शुभारम्भ भएपश्चात् जिल्लाका १२ वटै स्थानीय तहमा अभियानमार्फत विवरण दर्ता भएको थियो ।