• २ जेठ २०८२, शुक्रबार

बुटवलको आम्दा अस्पताल तीन सय शय्याको हुँदै

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर १ गते । विसं २०५५ मा ५० शय्याबाट सुरु भएको बुटवलस्थित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल स्थापनाको २५ वर्षमै तीन सय शय्याको हुने भएको छ । आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य सङ्घबिच त्रिपक्षीय समझदारी भई ५० शय्याबाट सुरु भएको अस्पताल अहिले एक सय शय्यामा सञ्चालन भइरहेको छ । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पतालको स्तरवृद्धि गरी महिला र बालबालिकाका लागि सुविधासम्पन्न विशिष्टीकृत अस्पताल बनाउने योजना अनुसार अस्पताल छिटै तीन सय शय्यामा सञ्चालन हुने बताउनुभयो । 

अस्पताल तीन सय शय्यामा सञ्चालन गर्दा आवश्यक पर्ने थप भवनको दुई साताअघि शिलान्यास भएको हो । अस्पतालका अध्यक्ष पाण्डेयले आम्दालाई एक सय शय्यामा थप दुई सय शय्या थप गरी तीन सय शय्या पु¥याउँदै यस क्षेत्रमै महिला तथा बालबालिकाको स्वास्थ्य उपचारमा विशिष्टीकृत अस्पतालका रूपमा स्थापित गर्ने बताउनुभयो । उहाँले आम्दामा यसै शैक्षिक सत्रदेखि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा शैक्षिक कार्यव्रmमसमेत सञ्चालन गरेको बताउनुभयो । 

आम्दा अस्पतालले नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट २०५५ साल असोज २१ गते च्यारिटी अस्पतालका रूपमा मान्यता पाएको थियो । अस्पतालबाट रूपन्देही जिल्लालगायत लुम्बिनी प्रदेशका १६ वटा जिल्ला र भारतका सीमावर्ती क्षेत्रका जनताले उपचार सेवा लिइरहेका छन् । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र बस्यालका अनुसार गत आव २०७९/८० मा ७० हजार ४८६ जना बिरामीले उपचार सेवा पाएका छन् । बितेको एक दशकमा ६ लाख २१ लाख ९४२ जना बिरामीले अस्पतालबाट सेवा प्राप्त गरेका छन् । अस्पतालबाट आकस्मिक सेवा अन्तर्गत चौबिसै घण्टा बालरोग र स्त्री तथा प्रसूति आकस्मिक सेवा उपलब्ध रहेको छ । बहिरङ्ग सेवा र अन्तरङ्ग सेवा अन्तर्गत बालरोग अन्तरङ्ग, बाल शल्यचिकित्सा, स्त्री तथा प्रसूति, मेडिकल, स्त्री तथा प्रसूति शल्यचिकित्सा, नवजात शिशु सघन उपचार कक्ष र आइसियु सेवा उपलब्ध छन् । प्रयोगशाला सेवा, अल्ट्रासाउन्ड सेवा, इसिजी सेवा, एक्स–रे सेवा र इकोकार्डियोग्राफी सेवासमेत उपलब्ध रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. बस्यालले जानकारी दिनुभयो । अस्पतालमा विशेष ओपिडी सेवामार्फत बाल मधुमेह, बाल मुटुरोग, उच्च जोखिम नवजात शिशु सेवा र हाडजोर्नी उपचार सेवा उपलब्ध छन् ।