• १ जेठ २०८२, बिहिबार

तिहार सकिएपछि लक्ष्मीको मूर्ति विसर्जन

blog

बाणगंगाको रामघाट नदीमा मूर्ति विर्सजन गरिदै । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, कात्तिक ३० गते । लक्ष्मीपूजामा स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गरिएको छ । जिल्लाको विभिन्न स्थानमा निकालिएको दुईसय पचास लक्ष्मीको मूर्ति विसर्जन गरिएको हो । 

लक्ष्मीपूजाका दिन विषेश पूजापाठ गरी जिल्लाका १० पालिकाका विभिन्न स्थानमा महालक्ष्मीको मूर्ति निकालिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारलाई लक्षितगरी जिल्लामा २ सय ४९ मूर्ति प्रदर्शनका लागि राखिएको थियो । ती मूर्तिहरुलाई स्थानीय नदी नाला, पोखरीमा विसर्जन गरिएको हो । 

बुधवार १ सय ७० र बिहीबार ७० मूर्ति विसर्जन गरिएका छन् । ९ मूर्ति भने शुक्रबार विसर्जन गर्ने कार्यक्रम रहेको स्थानीयले बताएका छन् । दसैका बेला दुर्गाभगवती निकाल्ने चलन पहिलेदेखि नै चलिआएको छ । तिहारमा भने बिगत केही वर्ष अघिसम्म थारै मात्र निकाल्ने चलन थियो । तर अहिले तिहारमा समेत लक्ष्मीको मूर्ति निकाल्ने चलन बढदै गएको हिन्दु धर्मगुरु रामशब्द मिश्राले बताउनुभयो ।

सुरक्षा संवेदनशील मानिएको कृष्णनगर र महाराजगञ्ज क्षेत्रमा शान्तिपूर्वक मूर्ति विसर्जन गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी कृष्णनगर र महाराजगञ्जमा ब्यापकहरुपमा सुरक्षकर्मी परिचालन गरिएको थियो । 

शान्ति सद्भाव कायम गर्न कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहको संयोजकत्वमा ९ सदस्यीय समिति समेत निर्माण गएिको थियो । मूर्ति विसर्जनलाई मध्यनजर गर्दै भारतीय समकक्षी सुरक्षाकर्मीसँग समेत समन्वय गरिएको थियो । शान्ति सुव्यवस्था कायम गर्न कातिक २८ देखि ३० गतेसम्म जिल्लाभर मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको थियो ।