• २८ पुस २०८१, आइतबार

मौलिक मेला पर्वबाट लोकतन्त्र बलियो बनाउन सहयोग पुग्छ : सञ्चारमन्त्री शर्मा

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री रेखा शर्मा । तस्विर : मन्त्रीको सचिवालय

प्युठान, कात्तिक ३० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्य र न्यायलाई नेपाली समाजको मानकको रुपमा मनाइने मौलिक मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने बताउनुभएको छ ।

प्युठान जिल्लाको प्युठान नगरपालिका ७ पुण्यखोलामा भएको ऐतिहासिक तथा सांस्कृतिक डल्ले सराय मेला २०८० को उद्घाटन गर्दै उहाँले समाजमा देखिने दानवीकरण र अहंकारलाई अन्त्य गरी सत्यको विजयको पक्षमा मनाइने मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभएको हो ।

मौलिक मेला पर्वहरु नेपालमा एकता र वीरताको बिम्बको रुपमा मनाइने भएकाले पनि सामाजिक सद्भाव कायम गर्दै जनतालाई एकताबद्व गर्ने र सामाजिक काममा स्वस्फूर्तरुपमा जनपरिचालन हुने यो महत्त्वपूर्ण प्रणाली भएको मन्त्री शर्माले बताउनुभयो ।

उहाँले मेला पर्वहरुले कुनै न कुनै बेला समाजले प्रयोग गरेका चालचलनमा आधारित भएकाले समयानुकूल परिमार्जन गर्दै प्रचलनमा राखिरहनुपर्ने बताउनुभयो । सबै चाडपर्व र मेलाहरु तत्कालीन समाजले सत्यको पक्षमा गरेका प्रगतिशील अभ्यासमा आधारित रहने गरेका मौलिक मेला पर्वहरुलाई समाज विकासको मानकको रुपमा हेर्न सकिने पनि उहाँले बताउनुभयो । 

मौलिक मेला पर्वहरुको निरन्तरता र संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले पछिल्लो समय स्थानीय तहहरुले कार्यक्रम बनाउनु अझ महत्त्वपूर्ण भएको बताउनुभयो । धेरै पुराना मौलिक संस्कृति लोप हुने खतरा देखिएकाले नयाँ पुस्तालाई सस्कृति हस्तान्तरणमा सबैको ध्यान जानु आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

परम्परागत रुपमा मनाइने मेलाहरुको मर्ममा असर नपर्ने गरी स्वरुप परिवर्तन गरेर प्रतिस्पर्धा त्मक बनाउदै लैजानु महत्त्वपूर्ण परिवर्तन भएको पनि उहाँले बताउनुभयो । प्युठानको सराय नाच नेपालकै प्रसिद्व रहेको उल्लेख गर्दै उहाँले तरवारसहित नाचिने युद्धकलामा आधारित यो नाचमा महिला पुरुषको समान सहभागिता हुनु समावेशीकरणको उच्च नमुना भएको बताउनुभयो ।


नेपालमा लैङ्गिक विभेद तोडिनुमा जनयुद्धको महत्त्वपूर्ण योगदान रहेको औंल्याउदै मन्त्री शर्माले राजनीतिक परिवर्तनको अभ्यास घर घर र समुदायस्तरदेखि गर्नुपर्ने बताउनुभयो । तेह्रौं शताब्दीमा जनतामाथि क्रूर शासन गरिरहेका भित्रीकोट राज्यका जाड राजालाई जनताको सहयोगमा चन्द राजाले लखेटेर मारेको किवदन्तीका आधारमा जनताको जीतको बिम्बको रुपमा तरवारसहित लडाइँको अभिनय गरेर नाचिने सराय नाचको प्रतिष्पर्धासहित यो मेला सन्चालन गर्ने गरिएको बताइएको छ । 

पश्चिम क्षेत्रमा र खासगरी मगरात क्षेत्रमा तत्कालीन सेनाले प्रयोग गरेका हतियारको रुपमा प्रयोग गरेका ढाल, तरवार र खड्गको प्रदर्शन गरेर यो मेलामा स्थानीय साहस देखाउने गरिन्छ । यो वर्ष विभिन्न मौजाका नौ समूहले प्रतियोगितामा भाग लिएका छन् ।

मौलिक सस्कृतिको संरक्षणका साथै विकृति विसङ्गति हटाउदै लैजानु पनि सरकारको दायित्व भएको स्पष्ट गर्दै उहाँले टिकटकमा रोक लगाउनु विकृति रोक्ने सरकारको पछिल्लो प्रयास भएको बताउनुभयो । मन्त्री शर्माले अन्य सामाजिक सन्जालको व्यवस्थापनका लागि पनि सामाजिक सन्जालसमबन्धी निर्देशिका जारी गरिएको र ऐन निर्माणको पनि तयारी थालिएको जानकारी दिनुभयो ।

अर्को सन्दर्भमा मन्त्री शर्माले भूकम्प प्रभावितहरुको पुनर्स्थापना सरकारको प्रमुख कार्यभार भएको बताउनुभयो । त्यसका लागि सरकारले निर्वाचन क्षेत्र विकास कोषका लागि छुट्याइएको बजेटमा थप गरेर दश अर्वको पुनर्निर्माण कोष बनाएको जानकारी दिनुभयो ।