• १ जेठ २०८२, बिहिबार

सहमतिमा गणेश–लक्ष्मी मूर्ति विसर्जन रुट निर्धारण

blog

मूर्ति विसर्जन शान्तिपूर्ण सम्पन्न गर्न आयोजना गरिएको छलफलमा सहभागीहरु । तस्विर : सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक ३० गते । तिहारपछि नेपालगन्जमा राखिने गणेश र लक्ष्मीको मूर्ति विसर्जन कार्यलाई सदभाव र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न धार्मिक सद्भाव समिति बाँकेले वडा प्रहरी कार्यालय नेपालगन्जसँग छलफल गरेर विसर्जनको बाटो निर्धारण गरेको छ । 

नेपालगन्जको धार्मिक सदभावलाई कायम राख्दै मूर्ति विसर्जन कार्यलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा निकायसँग छलफल गरेर विसर्जनको रुट निर्धारण गरिएको धार्मिक सद्भाव समिति बाँकेका अध्यक्ष दीपक लोधले बताउनुभयो ।

उहाँले मूर्ति विसर्जन कार्यलाई भव्य र सभ्य कसरी बनाउने तथा कुन कुन बाटो भएर जाने बारेमा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीसँग छलफल भई रुट निर्धारण गरिएको बताउनुभयो । 

वडा प्रहरी कार्यालय नेपालगन्जमा सम्पन्न भएको छलफलपछि गरिएको सहमतिअनुसार रानीतलाउ, त्रिभुवन चौक, त्रिवेणीमोड़, घरवारीटोल, धम्बोझी, सेतु बिक चोक, न्यूरोड, त्रिवेणीमोड़, वडा प्रहरी कार्यालय, फूल्टेक्रा हुँदै राप्तीघाटमा पुगेर मूर्ति विसर्जन गरिने छ । 

निर्धारित गरिएको रुटबाटै मूर्ति विसर्जनका लागि जान सम्बन्धित सबै समितिलाई पत्राचार गरेर जानकारी गराइएको पनि सदभाव समितिका अध्यक्ष लोधले बताउनुभयो । मूर्ति विसर्जन कार्यलाई शान्तिपूर्ण तरिकाले भव्य र सभ्य रूपमा सम्पन्न गर्न भएको बैठक र छलफलमा वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज एवं प्रहरी निरीक्षक हरिबहादुर बिसी, धार्मिक सद्भाव समितिका अध्यक्ष दीपक लोध, सदस्यहरू राहुल कनौजिया, शिव मन्दिर रानीतलाउ नेपालगन्ज–८ का रामप्यारे वर्मा, रामजानकी मन्दिर नेपालगन्ज ७ का रिसबसिंह बाडियाको उपस्थिति रहेको थियो । 

यसअघि दसैँको बेला पनि दुर्गा माताको मूर्ति विसर्जनका लागि सदभाव समिति र स्थानीय प्रहरी प्रशासनको सहयोगले विसर्जन कार्य भव्य रूपमा शान्तिपूर्वक सम्पन्न भएको थियो ।