• ८ मंसिर २०८१, शनिबार

महिला टी–२० सिरिजः नेपालले आज हङकङसित खेल्ने

blog

काठमाडौँ, कात्तिक ३० गते । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्नेछ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्नेछ । समूह चरणको अर्को खेल अहिले ७ः१५ बजे जापान र तान्जानियाबीच हुँदै छ । 

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सबै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । नेपालका लागि सीता रानामगरले मात्र सम्झिनलायक खेल प्रदर्शन गरिन् । उनले ४३ रन बनाइन् । 

हङकङमा जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी वरीयतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै वरीयतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । 

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुबिना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल  छन् ।