• २२ वैशाख २०८२, सोमबार

कारागारमै भाइटीका लगाउन पाउँदा कैदीबन्दी खुसी

blog

तनहुँ कारागारको बैदी र बन्दी बस्ने भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक २९ गते । तिहारको भाइटीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन् । विभिन्न अपराधको अभियोग लागेर तथा दोषी ठहर भएर सजाय पाएर कारागारमा रहेका महिला तथा पुरुष दुबै कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएपछि खुसी हुनुभयो । यसअघि दसैंको समयमा समेत कैदीबन्दीले विजयादशमीको टीका ग्रहण गर्न पाएका थिए । 

तिहार निधार खाली हुन्छ कि भन्ने चिन्ता थियो, कारागार प्रशासनले टीका लगाउने व्यवस्था गरेपछि खुशी लागेको कारागारमा जेल सजाय भोगिरहनुभएका एक कैदीबन्दीले खुसी हुँदै बताउनुभयो । 

उहाँले भन्नुभयो “कारागारभित्र टीका लगाउन पाउँदा घरमै बसेर  तिहार  मनाएजस्तो भयो ।’’ कारागार प्रशासनले कैदीबन्दीलाई दिदीबहिनीको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएको थियो ।

कैदीबन्दीको निधार खाली नहोस् र खुशीका साथ चाडपर्व मनाउन पाउन् भनेर भाइटीका लगाउने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका आज पौने चार बजेसम्म ६१ कैदीबन्दीलाई दिदीबहिनीले टीका लगाइदिएका छन् । आज साँझ पाँच बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको करागार प्रशासनले जनाएको छ ।

समय व्यवस्थापन मिलाएर कैदीबन्दीलाई दिदीबहिनीको  हातबाट टीका लगाउने व्यवस्था मिलाइएको निमित्त प्रमुख अधिकारीले जानकारी दिनुभयो । महिला बन्दीगृह रहनुभएका एक जनाले भाइटीका लगाउनुभएको छ । कारागारमा महिला र पुरुष बन्दीगृहमा गरी दुई सय ८१ जना कैदीबन्दी छन् । टीका लगाउन पाउँदा कैदीबन्दीहरुमा खुसियाली छाएको अधिकारीले बताउनुभयो ।