• १३ साउन २०८१, आइतबार

तिहार नसकिँदै किसानलाई धान स्याहार्न चटारो

blog

धान स्याहार्न व्यस्त स्थानीय कृषक । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक २८ गते । गुल्मीका किसान यतिबेला धान स्याहार्न व्यस्त देखिएका छन् । साउन महिनामा रोपेको धान सबै मिलेर काट्ने, धान झार्ने, धानको पराल र धानलाई व्यवस्थित गर्न यहाँका किसानहरु निकै व्यस्त भएका हुन् । 

विगतमा भन्दा यस वर्ष यहाँ धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ । यस वर्ष १० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । कार्यालय प्रमुख भण्डारीका अनुसार गत वर्षभन्दा जिल्लामा दुई हजार हेक्टर कम जग्गामा बर्खे धान लगाइएको छ । तर गत वर्षभन्दा उत्पादकत्वमा प्रतिहेक्टर वा रोपनीमा बृद्धि हुने देखिएको छ । कृषि ज्ञान केन्द्रले प्राविधिक विषय मात्रै हेर्ने भएकाले मल र बीउको सन्दर्भमा भने सरकारले नै ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

विगतका वर्षहरुमा समयमै रासायनिक मल नपाउँदा किसानलाई हैरानी भएको थियो । यस बर्ष सरकारले समयमै रासायनिक मल पठाउँदा धानको उत्पादन वृद्धि हुने बताइएको छ । यहाँ ३५० हेक्टर क्षेत्रफलमा चैते र आठ हजार ८०३ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिन्छ । २७ देखि ३० हजार मेक्ट्रिक टनसम्म धान उत्पादन हुनेगरेको बताइएको छ । 

इस्मा गाउँपाकिाको चौरासी, मालिका गाउँपालिकाको किसानटारी, चन्द्रकोट गाउँपालिकाको शान्तिपुरलगायतका विभिन्न स्थान धान उत्पादन हुने मुख्य फाँटहरु हुन् । मसिना र बास्नादार चामलको उपयोगमा बृद्धि र आयातित चामलको गुणस्तरसँग स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा चामलको आयात बढिरहेको छ । स्थानीयस्तरका रैथाने धान हंसराज, जर्नेली धान, आपजोतेलगायतका जातको धान लगाइन्छ । 

मदाने गाउँपालिका –३ सिर्सेनीका दिनेश भट्टराईले केही दिनदेखि आफू धान स्याहार्नमा निकै व्यस्त देखिनुहुन्छ । गतवर्ष १७ मुरी धान फलेको पाँच हलको मेलो खेतमा अहिले २७ मुरी धान फल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । मालिका गाउँपालिका –८ किसानटारीकी खिमकुमारी लम्साल पनि धान काट्नमै व्यस्त हुनुहुन्छ । उहाँले गतवर्ष १० मुरी धान फलेको दुई हलको मेलो रहेको खेतमा अहिले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो । 

त्यस्तै, मदाने गाउँपालिका –१ अग्लुङ्गका किसान धनबहादुर विश्वकर्मा र वैकुण्ठ विश्वकर्मा पनि खेतको काममा निकै व्यस्त देखिनुभएको छ । उहाँहरुले विगतको तुलनामा यसवर्ष धान उत्पादनमा वृद्धि आएको बताउनुभयो । खेतमा भएको धान पराललाई व्यवस्थित गरेर अब गहुँ छर्ने तयारी गरिएको उहाँहरुले बताउनुभयो ।