• ४ जेठ २०८२, आइतबार

चर्काे आवाज निकाल्ने दर्जनबढी मोटरसाइकल प्रहरी नियन्त्रणमा

blog

इलाका प्रहरी कार्यालय कोहलपुर । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, कात्तिक २८ गते ।
इलाका प्रहरी कार्यालय कोहलपुरले चर्काे आवाजमा मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गर्ने एक दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

कोहलपुर क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेर अरुलाई अवरोध उत्पन्न हुनेगरी चलाइएका एक दर्जन बढी मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रातको समयमा चर्को आवाज निकाल्ने, हेलमेट नलगाएर चलाउने, मदिरा सेवन गरेर तीन जना बसालेर चलाइएका दर्जन बढी मोटरसाइकल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘एक दर्जन बढी ट्राफिक नियम उल्लङ्घन गरेर चलाएका मोटरसाइकललाई नियन्त्रणमा लिएका छौं, सबैभन्दा बढी मोडिफाई गरेर चर्को आवाज निकालेर चलाएका मोटरसाइकल छन् ।’’

डिएसपी तिवारीका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई इलाका प्रहरी कार्यालय र मातहतका कार्यालयहरूमा राखिएको छ । मोडिफाई गरेको हकमा भने पुरानै स्वरूपमा बनाएर मात्रै कानुन अनुसार कारबाही गरेर छोडिने उहाँले बताउनुभयो ।

कोहलपुर इलाका प्रहरी कार्यालयले मोडिफाई गरेर चलाईएका थप मोटरसाइकललाई पनि  नियन्त्रणमा लिएर कारबाही गरिने जनाएको छ ।

नियन्त्रणमा लिइएका अधिकाशं मोडिफाई गरिएका मोटरसाइकलहरु नेपालगन्ज क्षेत्र तथा चाडपर्व मनाउन कोहलपुर आएका बाहिरी जिल्लाका रहेको प्रहरीले जनाएको छ ।