खलङ्गा समाचारदाता
खलङ्गा (दार्चुला), जेठ १ गते । दार्चुलास्थित नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–कोठेधार–तिङ्कर सडक योजनामा सरकारले न्यून बजेट विनियोजन गर्न लागेको विषय बाहिर आएपछि यहाँका स्थानीय चिन्तित भएका छन् ।
दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले सडक निर्माणका लागि न्यून बजेट विनियोजन गर्न लागेको विषय सञ्चार माध्यममार्फत बाहिर ल्याएपछि स्थानीय निराश भएको व्यास गाउँपालिका–२, मालका स्थानीय जनकसिंह धामीले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य ठगुन्नाले सडक निर्माणका लागि तीन करोड ३० लाख रुपियाँ मात्रै विनियोजन गर्ने सरकारको तयारी रहेकोबारे सञ्चार माध्यममा बोल्नुभएको थियो । स्थानीय जनकसिंह धामीले सरकारले विनियोजन गर्न लागेको बजेटले ट्र्याक खोलिएको सडक सफा गर्नमै सकिने बताउनुभयो ।
उहाँले सीमाका नागरिकलाई सडक सञ्जालसँग जोड्नु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले छाङरु र तिङ्करका नागरिकले भारतीय बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता छ । कालापानी हाम्रो हो भनेर मात्र राष्ट्रियता बलियो हुँदैन । सडक पु¥याउन आवश्यक छ ।’’
व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोराले पनि सडक निर्माणका लागि पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने माग राख्नुभयो । सडक नहुँदा सदरमुकामलगायत ठाउँ जान महाकालीमाथिको तुइनमा जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको व्यास–२, मल्लो दुम्लिङका स्थानीय द्रोपती जोहारीले बताउनुभयो ।
सडक सञ्जालको पहुँचबाट टाढा रहेका सीमावासीले त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको दार्चुला–तिङ्कर सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन् । खास गरेर सीमावर्ती व्यास गाउँपालिकाका नागरिकले सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर निर्माणलाई पूर्णता दिनुपर्ने माग गरेका हुन् ।
सडक निर्माण सुरु गरिएको १८ वर्ष बितिसक्दा पनि बजेट अभावकै कारण निर्माणले गति लिन सकेको छैन । सडक निर्माण गरिरहेको नेपाली सेनाले अहिले सडक शून्यविन्दु तुसारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडकमा गाडी गुडाएको छ ।
सेनाले व्यास गाउँपालिका–३, तुसारपानीदेखि तिङ्करसम्मको ७९ किलोमिटर सडक आव २०७७/७८ देखि निर्माण गरिरहेको छ । नेपालबाट तिङ्कर नाकासम्म गाडी पु¥याउन अझै ६७ किलोमिटर सडक निर्माण गर्न बाँकी छ । नेपाली सेनाले हालसम्म २२.१५ किलोमिटर सडकको ट्र्याक खोलेको छ । दार्चुलाका प्रतिनिधि सभा सदस्य ठगुन्नाले नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दालाई स्पष्ट रूपमा समेट्न माग गर्नुभएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा उहाँले जारी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भारतले अतिक्रमण गरेको नेपाली भूमिमा नेपालको स्वामित्व स्थापना गर्न ठोस कूटनीतिक पहलको आवश्यकता रहेको बताउनुभयो । साथै उहाँले नेपाली सेनाले निर्माण गरिरहेको सडकमा पर्याप्त बजेट विनियोजन गर्न सभामा जोडदार माग गर्नुभएको छ ।
यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका सभापति राजेशसिंह सामन्तले तुसारपानी–कोठेधार–तिङ्कर सडक योजनामा पर्याप्त बजेट विनियोजनका लागि राष्ट्रिय योजना आयोग र सडक विभागमा ज्ञापन दिएको बताउनुभयो ।
त्रिदेशीय नाकालाई जोड्ने सडकका रूपमा रहेको यो सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पार्टीले दार्चुलाका लागि खटाएका प्रतिनिधि सभा सदस्य करिश्मा कठरियालाई समेत बेला बेला ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।