राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा),जेठ १ गते । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता हुनुभएको छ । ६८ वर्षीय वडाअध्यक्ष श्रेष्ठ बुधबार बिहान १० बजेबाट बेपत्ता हुनुभएको परिवारले जनाएको छ ।
शहिद चोक भरतपुरमा उहाँको अन्तिम लोकेशन देखाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा खोजी कार्य भइरहेको छ ।
उहाँ स्याङ्जा सदरमुकामको त्रिभुवन आदर्श माविमा लामो समय अध्यापन पश्चात राजनीतिमा लाग्नुभएको हो । श्रेष्ठ २०७९ को स्थानीय तहको चुनावमा पुतलीबजार नगरपालिका वडा नं. ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो ।
वडा अध्यक्ष श्रेष्ठको खोजीका लागि सहयोग गर्न पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “बौद्धिक तथा उच्च मनोबलका साथ काममा निरन्तर खट्ने श्रेष्ठको खोजि खोजी गर्न आग्रह गर्दछु ।”
नगरपालिकाको तर्फबाट खोजीका लागि नगरप्रमुख रेग्मी सहितको टोली चितवन तर्फ लागेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिनुभयो । प्रहरी, जनप्रतिनिधि तथा आफन्तको सहकार्यमा खोजी सुरु गरिएको उहाँको भनाइ छ ।