बाबुराम कार्की
वराहक्षेत्र, कात्तिक २७ गते । तराईवासीका बस्ती र घर आँगनमा छठका गीतहरु गुञ्जिन सुरु भइसकेका छन् । बस्तीका घर आँगनसमेत सजिसजाउ भएका छन् । कात्तिक कृष्ण षष्ठीका दिन अस्ताचलमा पुगेको सूर्य र उदायमान सूर्यको पूजा गरी सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वले यति बेला तराईवासीका बस्ती र घर आँगनमा छपक्कै ढाकिसकेको छ ।
तराईका बस्तीहरुमा छठ पर्वले छोपिसकेको छ । तराईवासीका बस्ती र घर आँगनमा सजिसजाउ गर्ने काम सुरु भइसकेको छ । हरिनगर गाउँपालिका १ का भुलुर मण्डल पनि छठ पूजा गर्ने तयारीमा लाग्नुभएको छ । सुनसरीको दक्षिणवर्ती हरिनगर गाउँपालिका वडा नम्वर १ मा रहेको पोखरी घाटमा सधैँ वर्ष झैँ यस वर्ष पनि छठपर्व मनाउन पोखरी घाटलाई सजिसजाउ गर्न थालेको भुलुर मण्डलले जनकारी दिनुभयो ।
१६ वर्षदेखि छठपर्व मनाउँदै आएका सुनसरी प्रकाशपुरका ३७ वर्षका दिनेश रौनियार भन्नु हुन्छ, “छठपर्वसँग आफ्नो विश्वास र आस्था भएकाले पन्ध्र दिनदेखि माछा, मासु नखाई, पूजा गर्ने तयारीमा छु ।’’ प्रकाशपुरकै ३२ वर्षीय उमेश पोदारले पनि अस्ताचलमा पुगेको सूर्य र उदीयमान सूर्यको पूजा गरी सूर्य लाई अर्घ दिन थालेको दशकाैं भइसकेको छ । उहाँ यस वर्ष पनि पूजा गर्ने तयारीमा हुनुहुन्छ ।
छठ पर्वको महत्त्व दिनानुदिन बढ्दो छ । विशेष गरी तराई जिल्लाका मिथिला संस्कृतिमा मनाइँदै आइएको छठपूजा आजकल सबैले मनाउन थालेको छन् । आफ्नो परिवारको स्वास्थ्य र सुखको कामना गर्दै लिइने छठको व्रत मिथिलाबाहेक अन्यले पनि व्रत बसेर पूजा गर्न थालेका छन् । सबै धर्मलाई जोड्ने सेतुका रुपमा छठ पूजा स्थापित भइसकेको छ ।
परापूर्वकालमा कुन्तीले आफ्ना गुरु दुर्वासाले दिएको मन्त्रको परिचय गर्न इष्टदेव सूर्यको उपसाना गर्दा प्रसन्न भएका सूर्य स्वयम् उपस्थित भई आफूजस्तै तेजस्वी पुत्र कर्ण दिएर उनको मनोकामना पूर्ण गरिदिएका थिए भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । यही विश्वासअनुसार आजकाल पनि नारीहरु कात्तिक कृष्ण षष्ठीका दिन अस्ताचलमा पुगेको सूर्य र उदायमान सूर्यको पूजा गरी सूर्य लाई अर्घ दिएर आफ्ना सन्तानको सुख, सुस्वास्थ्यको कामना गर्दै सूर्यको पूजा गर्दै छठपर्व मनाउने गर्दछन् ।
पुत्रवती नारीहरु पनि आफ्ना सन्तानको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै यो पर्व मनाउने गर्दछन् । तराईका जिल्लाहरुमा धुमधामका साथ मनाउने पर्व आजकाल सबै समुदायहरुले पनि विशेष हर्ष र उल्लासपूर्ण तरिकाले मनाउदै आएको पाइन्छ ।
छठपर्वकै अवसरमा सुनसरीको सप्तकोशी, सुनसरी खोला र विभिन्न नदी तलाउहरुमा गएर जग्गे बनाएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाउने छठ पर्वभन्दा एक दिन अगाडि मनाउने खर्ना पर्वलाई छठ पर्वको सुरुवातका रुपमा लिइन्छ । यो दिन व्रतालु महिलाहरुको मनोकामना पूरा हुन्छ भन्ने जनविश्वासमा पानी सम्म नखाई निराहार व्रत बसी गँहुको पीठाको ठेकुवा, लड्डु, उखु, नरिवल, केरा, भोगटे लगायतका फलफुलहरु र चामल, गुँदको खीर र पुवा बनाएर देवीलाई चढाई घरपरिवार र इष्टमित्रहरु लाई खुवाउने चलन छ ।
विशेष गरी छठपर्वभन्दा एकहप्ता अगाडि नै तराईवासी महिलाहरु छठको सामग्रीहरु जुटाउन थाल्छन् । यो पर्व तराईमा बडो धुमधामसँग मनाइन्छ । हाल यो पर्व सबै समुदायको साझा बन्दै गएको छ ।