सिराज खान
नेपालगन्ज, कात्तिक २६ गते। नेपालगन्जको सबैभन्दा पुरानो बजार एकलैनीमा तिहारको सामान किन्नेको भीड लागेको छ। तिहारको लागि किनमेल गर्नेको घुइँचो लागेपछि स्थानीय व्यवसायी खुसी देखिएका छन्। लक्ष्मी पूजा र भाइटीकाको लागि आवश्यक हरेक सामान एकै ठाउँमा पाइने भएकोले पनि एकलैनी बजारमा खरिद गर्नेको भीड लागेको हो।
विशेष गरेर भाइ मसला किन्ने उपभोक्ताहरू एकलैनी बजारमा ठुलो सङ्ख्यामा पुगेको व्यवसायीले जनाएका छन्। एकलैनीका व्यवसायी फारुक हलवाईले एकलैनीमा हरेक प्रकारको भाइ मसला र पूजाको सामग्री पाइने हुँदा धेरैजसो नेपालगन्जवासी यहाँ आउने गरेको बताउनुभयो।
उहाँले दुई दिनदेखि यहाँका व्यवसायीलाई भाइ मसला बेच्न भ्याइनभ्याई रहेको जनाउँदै यहाँ भाइ मसला विभिन्न साइज र तौलमा प्याकिङ्ग गरेको र छुट्टाछुट्टै खुद्रामा पनि बिक्री भइरहेको बताउनुभयो।
नेपालगन्ज ११ का उपभोक्ता नरेश श्रेष्ठले एकलैनी बजारमा हरेक प्रकारको भाइ मसलालगायत पूजाको पनि सामान पाइने भएकोले अधिकांश स्थानीय त्यहाँ पुग्ने गरेको बताउनुभयो।
तिहारको बेला दिइने भाइ मसला सकेसम्म प्राकृतिक खानेकुराले भरिपूर्ण भएको हुनुपर्छ। यसमा खासगरी ओखर, बदाम, नरिवल, किसमिस, काजु आदि समावेश गरिन्छ। दाजुभाइका लागि दिइने मसला स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छन्।